■ संजय भट्टराई, नवलपुर
कोरोना संक्रमित भएपछि मान्छे आइसोलेसनमा हुन्छ, कोरोना संक्रमणबाट मुक्त हुन उसले हरसम्भव प्रयास गर्छ, उसको दिमागमा अरु केही हुँदैन कसरी छिटो स्वस्थ हुने भन्ने सोचसिवाय ।
तर, पूर्वी नवलपरासीको रजहरस्थित प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालमा भने फरक दृष्य देख्न सकिन्छ । नेपालकै उत्कृष्ट आइसोलेसनको रुपमा ख्याति पाएको यस सेन्टरमा कोरोना संक्रमितहरु बिहान उठेदेखि नै योग ध्यान प्राणायाम लगायतका नित्यकर्ममा व्यस्त देखिन्छन् । उनीहरु सन्तुलित भोजन गर्छन् र मनोबल उच्च राख्न एकले अर्कोलाई प्रेरित गर्छन् ।
रजहरको आइसोलेसनमा रहेका संक्रमितमध्ये पत्रकार रमेश बस्ताकोटी भने योभन्दा फरक दैनिकीमा छन् । उनी आफ्नो नियमित उपचार र अभ्यास गरेपछि भने प्रविधिको प्रयोग गर्दै आफ्नै पेशामा ब्यस्त हुन्छ्न् । उनी साविक झैँ दिनहुँ समाचार एवम् लेखहरु लेख्छन् र अन्तर्वार्ताहरु गर्छन् ।
सञ्चारक्षेत्रको झण्डै १८ वर्ष लामो अनुभव सँगालेका बस्ताकोटी यतिबेला कोरोना महामारीको समयमा अग्रमोर्चामा रहेर आफ्नो समाचारकर्ममा जुटिरहँदा आफै कोरोना संक्रमित भएपछि पुर्वी नवलपरासीको रजहरको प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत छ्न् । तर उनको दौनिक क्रियाकलाप देख्दा लाग्छ उनमा कुनै संक्रमण नै छैन ।

बिहान उठेपछि आइसोलेसनको नियमित कर्म सक्दै कोरोना संक्रमितहरु, संक्रमणको जोखिममा रहेकाहरु, होम आइसोलेसन र क्वारेन्टिनमा बसेकाहरुको आत्मबल बढाउने समाचारमुलक सामाग्रीहरु सामाजिक संजालमार्फत उत्पादन तथा प्रसारण गर्नु पत्रकार बस्ताकोटीको दिनचर्या हो । यही दौरान उनले आफैंलाई उपचार गर्ने डा. विनोद पौडेलको अन्तरवार्ता लिए, कोरोना संक्रमितलाई मनोबल बढाउने चार वटा लेख लेखे, दैनिक समाचारमा अपडेट हुने र समाचार लेख्ने काम उनले कुनै दिन पनि छाडेका छैनन् ।
‘कोरोना संक्रमित भएर आइसोलेसनमा नै रहँदा पनि आफ्नो पेशाबाट अलग हुन सकिएन, मनले मानेन, आफ्नो दायित्वबाट विमुख हुन पटक्कै सकिएन । अरु देशभरका संक्रमितहरु, संक्रमणको जोखिममा रहेकाहरु, होम आइसोलेशन र क्वारेन्टाइनमा बसेकाहरुलाई उपयोगी होस् भनेर मैले यो कर्म आइसोलेसनमा बसेर पनि गरेको छु’ – बस्ताकोटीले बताए । उनले आफुमा मनोबल उच्च रहेको भन्दै आफ्नो नियमित कुनै पनि काम नछाडेको जानकारी दिए । ‘काममा हुँदा ब्यस्त भइन्छ, अनेक तर्कना मनमा आउँदैन, समाजको लागि लेखिन्छ पनि, अरुलाई पनि मनोबल बढोस् भनेर मैले आफ्नो काम छाडेको छैन’- उनले प्रष्ट्याए ।
आइसोलेसनमै रहेर बस्ताकोटी दैनिकजसो फेसबुक लाइभमा आउँछ्न् । कोरोना संक्रमणका विषयमा आफ्ना अनुभव, संक्रमणबाट जोगिने उपाय र संक्रमित व्यक्ति तथा उसको परिवारलाई समाजले गर्ने व्यवहार उनको विषय रहन्छ । प्रविधिको प्रयोग गर्दै अस्पतालका चिकित्सक र विज्ञसँग अन्तरवार्ता गर्ने र धारणा लिने काम गर्दै जनतालाई सुसूचित गराउने काममा उनी लागिरहेका छन् ।
पछिल्लो समय संक्रमणको दर बढेसँगै संक्रमित व्यक्ति र उनीहरुको परिवार, चिकित्सकहरुलाई दुर्व्यवहार गर्नेहरुप्रति आइसोलेसनबाट नै उनी खबरदारी गर्न र संक्रमित एवम् उनीहरुको परिवारको हौसला बढाउन पनि नियमित रुपमा लागिपरेका छ्न् । ‘संक्रमित र उनका परिवरलाई गर्ने व्यवहार बडो दुःखलाग्दो छ, यो कोरोनाभन्दा ठूलो महामारी हुने भो, समाजमा खनिएको यो खाडल पुर्न धेरै समय लाग्छ’, रमेश गुनासो गर्छन् ।

बस्ताकोटीले आइसोलेसनमा बसेर सञ्चारमाध्यममार्फत कोरोनासंक्रमित र संक्रमणको जोखिममा रहेकाहरुको आत्मबल बढाउन गरेको कामले आइसोलेसनका चिकित्सकहरु पनि दङ्ग छन् ।
‘कोरोना संक्रमित हुनु आफैमा दुःखद पक्ष पनि हो, आफू संक्रमित भएर पनि बस्ताकोटीले एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो, आफुलाई एक्सपोज गरेर म कोरोनासंक्रमित भएँ तर मलाई कुनै लक्षण छैन, कोरोनासँग लड्न आत्मबल आवश्यक हुँदोहेछ भन्ने खालका कुराहरु र प्राकृतिक चिकित्सालयले गरेका प्रयत्नहरुलाई बाहिर ल्याएर कोरोनासँग लड्न र कोरोना संक्रमितलाई समुदायमा भएको नकारात्मक भावना हटाउन बस्ताकोटीले उदाहरणीय कार्य गर्नुभएको छ’– प्राकृतिक चिकित्सालयका निर्देशक डाक्टर विनोद पौडेलले बताए । उनले भने, ‘रमेशजी को सक्रियता बडो अचम्मको छ, उहाँमा उच्च मनोबल पनि छ । उहाँबाट धेरै कुरा अरुले पनि सिक्न सक्छ्न् ।’
बस्ताकोटी भदौ २ गते बाट आइसोलेशनमा छन् । तर उनको सकृयतामा कुनै कमी छैन । नेपाल पत्रकार महसंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले बस्ताकोटीले कठिन परिस्थितिमा पनि आफ्नो पेशा नभुल्नु र नियमित त्यसैमा लाग्नु सबैको लागि प्रेरणाको विषय भएको बताए । उनले बस्ताकोटीले देशभरका अन्य संक्रमित पत्रकारहरुको पनि मनोबल बढाउने काम गरेको भन्दै प्रशंसा गरे । उनले भने, ‘बस्ताकोटीले चिकित्सालयको आइसोलेशन अन्य संक्रमितको मनोभावना, त्यहाँका चिकित्सालयको उपचार विधि र अन्य गतिविधिका बारेमा सुक्ष्म निगरानी गर्दै सुचना प्रवाह गरेर सुसूचित गराएका छ्न् । सबैको चासो र चिन्ता हटाउन प्रयासरत छ्न् । यसबाट अन्यमा सकारात्मक उर्जाको सञ्चार हुन पुगेको छ ।’
सत्यकलम अनलाइन र साप्ताहिक पत्रिका संचालन गरिरहेका बस्तकोटीको अनुपस्थितिले कुनै अप्ठ्यारो नभएको सत्यकलमका सम्पादक सालिकराम कोइरालाले बताए । उनले भने– ‘रमेशजी प्रकाशक हो, सम्पादकीय टिममा पनि हुनुहुन्छ, आइसोलेशनबाट नै उहाँले नियमित काम गरिरहनुभएको छ । हामी नियमित सम्पर्कमा रहेर काम गरेका छौँ, कुनै काम रोकिएको छैन ।’ उनले संक्रमित हुँदा पनि उहाँको पेशाप्रतिको लगाव र सक्रियता लोभलाग्दो भएको बताए ।
रजहरको आइसोलेशनमा पत्रकार बस्ताकोटीसहित पत्रकार सागर पोख्रेल, अर्जुन अविरल र संचारउद्यमी भरत पोखरेल पनि छन् । पत्रकार पोखरेलले नियमित संक्रमितको डायरी लेखेर जनमानसमा पुऱ्याइरहेका छन् ।
प्रतिक्रिया