तनहुँका कांग्रेसजनलाई चिठ्ठी !

तनहुँका कांग्रेसजनलाई चिठ्ठी !


■ हरि ढुंगाना

नेपाली कांग्रेसले पूर्व शिक्षामन्त्री, गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई पार्टीबाट निष्कासन गरेको खबर पढेँ । विभिन्न नाम चलेका मिडियामा आएका खबरहरू, यस सँगसँगै आएका विज्ञप्तिसहितका खण्डनका समाचारहरू पनि हेरेँ ।

यी सम्पूर्ण समाचार पढेपश्चात् केही लेख्न मन लाग्यो । एउटा सचेत नागरिक र नेपाली कांग्रेसको राजनीतिसँग नजिक रहेर बीपी मार्गमा हिँडेर जीवनको आधाआधि समय कटाइसकेका म जस्ता कार्यकर्ताहरूले चुप लागेर बस्नु पनि उचित नहोला जस्तो लाग्यो । त्यसैले म र म जस्ता सच्चा कांग्रेसहरूको लागि यो चिठी लेख्दै छु ।

तनहुँ कांग्रेसमा रहेको वैचारिक दुई धारको राजनीति र रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीचको राजनैतिक खिचातानी तनहुँवसी माझ सर्वविदितै छ। यसबीच पनि कसले कति विकासको नारा लिएर गाउँ पसेको छ भन्ने कुरा पनि सम्पूर्ण जनतामा छर्लङ्गै छ।

कुरा सुरु गरौँ गएको प्रतिनिधिसभाको चुनावको सन्दर्भबाट । गएको चुनावमा गोविन्दराज जोशीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउन गएका थिए । तर उनको उम्मेदवारी रद्द भएको थियो । त्यो बेला उम्मेदवारी रद्दको लागि एजेन्डा लिएर अगाडि आउने अनि अहिले आएर रद्द भइसकेको उम्मेदवारीको बखेडा झिकेर उनीको पार्टी सदस्यता खारेज गर्नु कतिको जायज हुन्छ ? के थिए त तथ्यहरू सरसर्ती हेरौँ ।

नेपाली कांग्रेसको विधानको धारा ४९ को (११) (ख) मा बागी उम्मेदवार भई चुनाव लडेमा पार्टी सदस्यता नरहने भन्ने प्रावधान रहेको छ । त्यसमा पनि चुनाव लड्ने स्थिति आएको खण्डमा र चुनाव लडेको खण्डमा मात्रै ।

तर यहाँ त्यस्तो छैन । रामचन्द्र पौडेलले आफूसँगै गोविन्दराज जोशीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको दाबी रामचन्द्र पौडेलको उजुरीअनुसार गोविन्दराज जोशीको उम्मेदवारी रद्द भई चुनाव लड्न नपाएको कुरा हामी सम्पूर्णमाझ छर्लङ्ग छ।

मतपत्रमा उमेदवारीको नामनै नभएको, चुनाव चिन्ह रोज्न नपाएको, उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदा गोविन्दराज जोशीको नाम नरहेको, अवस्थामा चुनावमा उनको बागी उम्मेदवारी थियो भनेर कसरी भन्न सकिन्छ ?

गोविन्दराज जोशीलाई भ्रष्टाचारको मुद्दामा मुछेर जिन्दगीभर कांग्रेसको बाटो सफा गर्नेहरूलाई यो चेतना हुनु जरुरी छ कि गोविन्दराज जोशीको जीवनस्तर बहुदल आउनुभन्दा अगाडि नै धेरै राम्रो थियो । दमौली बजारको बीचमा घर थियो । तनहुँ, लमजुङ, कास्की र गोर्खामा उनको वकालतले आफ्नै वर्चस्व बनाएको थियो । धेरैजसो मुद्दामा बहस गर्न उनलाई बोलाइन्थ्यो । उनी नेपाली राजनीतिमा चप्पल लगाएर छिरेर जुत्ता लगाएर निस्केका मान्छे पनि होइनन् ।नेपाली राजनीतिमा आउनुभन्दा पहिलादेखि नै उनले आफ्नो छवि बनाइसकेका थिए । बहुदल आउनुअगाडि तनहुँका नेपाली कांग्रेसका कार्यकर्ताको रेखदेख गर्ने को थियो त्यो जिल्लावासीलाई प्रस्ट जानकारी छँदैछ ।

त्यो बेला चप्पल लगाएर नेपाली राजनीतिमा आएका रामचन्द्र पौडेल जस्ता नेताहरु जसले जिन्दगीभर काम नगरी अहिले अकुत सम्पत्ति कमाएका छन्, उनीहरूको सम्पत्ति शुद्धीकरण हुनुपर्छ कि पर्दैन ? सय रुपियाँ सापटी लिएर काठमाडौं आउने पौडेलको येत्रो हैसियत कसरि भयो ? पौडेलको सालो (श्रीमतीका भाइ) सागर अधिकारीको नाममा भक्तपुरको कटुञ्चेदेखि विभिन्न स्थानमा सम्पती सुरक्षित छ भने चितवनमा छोरीको नाममा समेत सम्पती जोडिएको छ । बोहोराटारकै जग्गामा तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रटचारमा मुद्दा चलाएका राजश्व विभागका उपसचिव भरत सुवेदीको साथ र सहयोगमा खरिद गरिएको पौडलनिकट स्रोतलेको दाबी छ । पौडेलले संविधान निर्वाचनमा सभासद उम्मेदबार बनाउदा पनि नेताहरुसँग पैसा लिएका थिए । त्यसो त पछिल्लोपटकको स्थानीय निर्वाचनदेखि मन्त्री छनोटमा समेत लाखौँ रुपियाँ असुलेको स्रोतको दाबी छ । काठमाडौंको बोहोराटारमा रहेको २ रोपनीको कम्पाउन्डसहितको घर कहाँबाट आयो ? त्यति मात्र नभएर छोरीज्वाइँको नाममा सम्पति, भारतमा रहेका अपार्टमेन्ट, लण्डनमा अवस्थित घर, भक्तपुरको कटुञ्जेमा रहेको जग्गा, चितवन , पोखरामा रहेका जग्गा र काठमाडौंका ठूला ठूलाअपार्टमेन्टमा गरिएको लगानी । कहाँबाट आयो ? भ्रष्टाचारसम्बन्धी खोजी अनि अनुसन्धान के मौसमी खेती हो र ? पौडेलका छोरीज्वाइँको सम्पतिको बारेमा कुरा गर्ने हो भने विवाहअघिको सम्पति र विवाहपछाडिको सम्पति हेर्नुहोस् आकाश पाताल को फरक देखिन्छ। पौडेलको छोरीसँग बिहे गर्दैमा सम्पति बढेको परिस्थितिलाई लक्षिणकी रैछ त्यसैले धनि भयो भन्न त मिल्दैन होला ?

उता, मुलुकलाई धर्मनिरपेक्ष बनाउनका लागि रामचन्द्र पौडेलले १७ करोड लिएको खुलासा बाइबल र माओवाद नामक पुस्तकमा लेखक अर्जुन ज्ञवाली र पेशलकुमार निरौलाले खुलासा गरेका छन् ।

गोविन्दराज जोशीको जीवनस्तरमा त्यस्तो केही भिन्नता देखिँदैन जस्तो अरु नेताहरूको जीवनस्तरमा देखिन्छ । जोशीका छोराछोरी र नातागोताले आफ्नै बलबुतामा जीवन चलाउँदै गए । तर पौडेलका सबै नातागोता पदमा आसिन रहिरहे । तर पनि किन गोविन्दराज जोशीको मात्र खेदो खन्ने प्रयत्न गरिन्छ ? गोविन्दराज जोशीका छोराछोरी वा नातागोताले शक्तिको गलत प्रयोग गरेर कुन–कुन पदमा पदासिन छन् जवाफ दिने हिम्मत कुन माइकालालसँग छ ?

चुनावमा म कहाँबाट चुनाव लड्छु भन्ने कुरा पनि स्पष्ट रुपमा निर्णय गर्न नसक्ने रामचन्द्र पौडेलले पहिला तनहुँ क्षेत्र नं १ मा पछि तनहुँ क्षेत्र नं २ मा फेरि १ मा उठ्ने काम गर्नुबाट नै स्पष्ट हुन्छ कि आफ्नो कामप्रति जनता सन्तुष्ट छैनन् भन्ने कुरामा उनी निश्चित छन्। विकासका काम नगर्ने, आफूलाई जहाँ सहज लाग्छ त्यही चुनाव लड्ने, अनि जनताले भोट दिइरहनु पर्ने ? यो कस्तो किसिमको प्रजातान्त्रिक अभ्यास हो ? जोशीको पालामा तनहुँ मात्र नभएर वरिपरिका जिल्लामा पनि कांग्रेसको जीत हुन्थ्यो तर पौडेलले आफ्नै जिल्लामा ६ सिट गुमाउँदा पनि दम्भ गएको छैन, किन ?

तनहुँको विकासमा जोशीको योगदान कति छ भनेर जिल्लामा गएर सोध्नुभयो भने सबै ले प्रस्ट रूपमा भनीदिन्छन् । विकासको काममा हातै नहाल्ने पौडेललाई तनहुँका जनता किन पछि लाग्छन् यो बुझ्न गाह्रो लागेको छ । रामचन्द्र पौडेलले केवल आफ्नो फाइदाको लागि बुद्धिकुमारदेखि यमबहादुर आलेसम्मलाई प्रयोग गर्दै मिल्काउँदै गरे । अब शंकर भन्डारी, प्रदीप पौडेल, ध्रुव वाग्लेलाई पनि प्रयोग गरिरहेका छन् । अहिलेको परिस्थितिले उनीहरूको राजनैतिक भविष्य अन्धकार छ।

जोशीलाई भ्रष्टचारको मुद्दा लगाउने, चुनाव लड्न नदिने, महासमितिको बैठकमा भाग लिन नदिने र अहिले पार्टीको साधारण सदस्यबाट नै निकाल्नेहरुले कतै आफैले आफैलाई अप्रजातान्त्रिक बाटोमा त लैजाँदै छैन ? मैदानमा उत्रिएपछि नतिजा स्वीकार गर्न नसक्ने हरुवा मानसिकताले तनहुँ कांग्रेस नराम्रोसँग जकडिएको छ । जसका विभिन्न कारण होलान् तर सबैभन्दा ठूलो कारण हो जोशीलाई निस्कासन गर्ने मनसायले गरिएको घृणित राजनीति।

पार्टीको केन्द्रीय कार्यालयदेखि तनहुँ र अन्य थुप्रै जिल्लाको पार्टी कार्यालय बनाउन पुऱ्याएको जोशीको योगदान यति छिटै कसरी बिर्सेको होला ? इतिहासलाई फर्केर हेर्नुहोस् । जोशीको यो योगदान नभएको भए कांग्रेसको राजनीति आज कहाँ हुन्थ्यो ? अर्बौं लुट्ने पार्टीभित्र र बाहिरका नेताको विरोधमा केही बोल्न नसक्ने कांग्रेसले के खाली खुमबहादुर खड्का र गोविन्दराज जोशीलाई मात्र भ्रष्टचारी देख्ने ? हेर्ने नै हो भने पार्टीको संगठन विस्तारमा उनीहरूको अतुलनीय योगदान छ ।

जिल्लामा राम्रो पकड़ भएका नेता र नेतृत्वलाई चुनावमा टिकट नदिने, टिकट दिएको खण्डमा जोशी मात्रै नभएर ६ वटै सिट जित्न सकिनेमा जोशीलाई बागी उम्मेदवार हुन पनि नदिने, निर्वाचन आयोगमा सोर्सफोर्स लगाएर उम्मेदवारी खारेज गराउने, अनि केही सिप नलागेपछि बागी लड्यो पनि भन्ने ? यो भन्दा लज्जास्पद कुटनिति के हुन्छ ? उम्मेदवार बनेर चुनाव चिन्ह पाएपछि मात्र पार्टीबाट निस्कासन हुने विधानविपरीत आफ्नो फाइदाको लागि विधान मिच्ने कस्तो प्रजातान्त्रिक संस्कार हो यो ?

पौडेलले गोविन्द भट्टराई र शंकर भण्डारीलाई हराउन तालमेल गरेको तनहुँका जनतालाई थाहा छ । क्षेत्र नम्बर १ मा चुनाव लडे्का रामचन्द्रले केपी ओली र प्रचण्डसँग सहमति गर्न खोजेर आफू मात्रै जित्ने रणनीतिको कारण तनहुँ मा ६ सिटमा नै पराजय भोग्न पऱ्यो । आफैभित्रको बदमासी र असक्षम नेतृत्व अनि २६ वर्षदेखि कांग्रेसका जनताले कांग्रेसकै नेतृत्वबाट दमन महसुस गरे पराजयको कारण पनि यही हो । एक नम्बरमा रामबहादुर गुरुङ र हरि चुमानसँग सम्झौता गर्नुभयो । दमौलीको भोट र क्यामिनको भोट हेर्नुभयो भने रामचन्द्र पौडेललाई गएको ६, अरु भोट गोविन्द भट्टराईलाई नगएर रामबहादुर गुरुङलाई गएको छ । व्यास १ भादगाउँको भोट हेर्नुभयो भने त्यहाँ रामचन्द्रलाई गएको भोट रघुनाथ पौडेललाई नगएर हरि चुमानलाई गएको छ । १ नम्बरमा रामचन्द्र ले रामबहादुर र हरि चुमानसँग सम्झौता गरेपछि जित्ने कुरै भएन । रामचन्द्र बाबुराम भट्टराईलाई जिताउन गोरखा जानुभयो । लमजुङमा तीनवटा सभा गर्नुभयो । तर २ नंबर मा एउटा ठूलो सभा गर्नु भएन । २ नम्बरमा यदि रामचन्द्र ऋषिङ गैदिएको भए ध्रुव वाग्लेले पनि जित्थे, शंकर भण्डारीले पनि जित्थे । त्यहाँ ८० प्रतिशत कांग्रेस भएको ठाउँमा २० प्रतिशत मात्र भोट आएको छ । र, श्याम्घामा रामचन्द्रका सबै नातेदार छन् । त्यहाँ रामचन्द्र किन जानुभएन ? रामचन्द्रले गएर भनेको भए त्यहाँ प्रदीप पौडेलले चुनाव जित्थे । तैपनि यिनीहरु पौडेलको पछाडि किन लागि रहन्छन् ? बुझ्न नसकेको कुरा । जोशीलाई बहिष्कार गरी तनहुँ जिल्लामा राजनीति गर्छु भनेर सोच्दै नसोचे हुन्छ ।

कुनै बेला ‘एकेजीबी’को नामले चिनिने अर्जुन नरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी, विजय कुमार गच्छदारहरु जसले पार्टी भन्दा अरु केही सोचेनन् उनीहरुलाई छानी–छानी कांग्रेसले नै पाखा लगायो ।

सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि नेता खुमबहादुर खड्काको बचाउमा नेपाली कांग्रेस खुलेर उत्रेको थियो । तर गोविन्दराज जोशीलाई यस्तै प्रकृतिको मुद्दामा भने कांग्रेस मौन नै बसीरह्यो । अझ नेपाली कांग्रेसभित्र नै जोशीलाई भ्रष्टाचारी भन्दै आफ्नो राजनीति गर्नेको जमात ठुलै छ जसलाई जोशीले कुनैबेला चुनाव जित्न सहयोग गरेका थिए । नेपाली कांग्रेसका आजका नेताहरुको आर्थिक स्थितिमा कसरी यत्रो परिवर्तन आएको छ त्यो कसैको सरोकारको विषय बनेन तर गोविन्दराज जोशीको साधरण जीवनशैलीमाथि वास्तविकता थाहा पाउन नखोज्ने तर भ्रष्टाचारी भनीरहने क्रम अन्त भएन । नेपाली कांग्रेसभित्र पनि एउटालाई काखा अर्कोलाई पाखा किन गरिन्छ त्यो इतिहासले बताउला । अख्तियारले पटकपटक ‘मिसिल नभेटिएको’ जवाफ लेखेर पठाउँदा पनि गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको फैसला हुन सकेको छैन ।

कुनैबेला माओवादीले दुनै आक्रमण गर्दा गोविन्दराज जोशी गृहमन्त्री थिए र उनले आपतकालीन रूपमा सेना परिचालन गर्न खोज्दा सेना जान मानेन । जोशीले सार्वजनिक रूपमा मिडियामा आएर सेनाले साथ दिएन भनेर प्रेस मिट गर्दा गिरिजाप्रसाद कोइरालाले गोविन्दराज जोशीलाई तुरुन्तै बोलाएर हामी दुईमध्ये एकजनाले राजीनामा दिनुपर्ने अवस्था आयो नत्र दक्षिण–पश्चिमका मालिकले हाम्रै टाउको उडाउने छन् लौ भन म के गरूँ ? भन्दा गोविन्दराज जोशीले राजीनामा दिएका थिए । किन गिरिजा, देउवा, रामचन्द्र, बाबुराम, प्रचण्ड सबै जोशीको पछि हात धोएर लागे त्यो भविष्यको कुनै पुस्तकमा लेखिएला । त्यो बेला सेना परिचालन गरेको भए आज कांग्रेसको र देशको यो हालत हुने थिएन होला ।

गोविन्दराज जोशी पार्टीबाट निस्कासन गर्दा पनि चुप्प लागेर बस्ने तनहुका कांग्रेसलाई इतिहासले माफ गर्ने छैन । यति हुदाहुँदै पनि तनहुँका कांग्रेसहरु के हेरेर बसेका हुन् त्यो देखेर अचम्म लाग्छ । तनहुँवासीलाई केही पनि गर्न नसक्ने पौडेल जस्तो नेता चाहिएको हो कि, जिल्लाको विकासका साथै पार्टीको भलो चिताउने जोशी जस्तो नेता चाहिएको हो ? बेलैमा सचेत हुन जरुरी छ । अझै ढिलो भएको छैन। आजै अवाज उठाउनु नत्र भने तनहुँ जिल्ला कांग्रेसमुक्त हुनेछ । बेलैमा ध्यान पुगोस् ।

(प्रस्तुत सामग्री चितवन कांग्रेस सदस्य ढुंगानाका निजी अभिव्यक्ति हो । –सं.)