गौहत्यामा संलग्न अभियुक्तलाई कानुनी कारवाही हुन नदिन भेला भएका स्थानीयले प्रहरीमाथि हातपात गर्दा झापामा अप्रिय घटना निम्तिएको छ ।
झापाको झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्याका आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा एक व्यक्तिको मृत्यु भएको छ ।
बताइएअनुसार बुधबार (१० भदौ) अपराह्न गाई–गोरु काटेको अभियोगका दुई जना स्थानीय अभियुक्तलाई प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय कुमरखोदमा राखेको थियो । साँझ ती व्यक्तिलाई जिल्लामा लैजाँदै गर्दा इप्रकाभन्दा तीन किलोमिटर उत्तर बाटामा पर्ने कामाटोली बजारमा स्थानीयवासीको उत्तेजित समूहले ढुङ्गामुढासहित प्रहरीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाको भनाइ छ ।
प्रहरीको गाडीको चाबीसमेत खोसेर स्थानीयवासीको एउटा समूहले प्रहरीमाथि हातपात गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । सम्झाउँदा नमानेपछि प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेको तर झन् उत्तेजित भएर प्रहरीमाथि नै हातपात हुन थालेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।
सो क्रममा गोली लागेर घाइते भएका ३८ वर्षीय सरिकुल आलमलाई उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटलमा भर्ना गरिएकामा बुधबार बेलुकी ९ बजेतिर मृत्यु भएको हो । आलमको पेटमा गोली लागेको थियो ।
घटनाका कारण कामाटोली बजार तनावग्रस्त रहेको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराएका छन् ।
प्रतिक्रिया