स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमितमा लक्षण नभएका बिरामीलाई घर पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड–१९ अस्पताललाई पत्र लेख्दै कोभिड–१९ का लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितलाई पीसीआर परीक्षण गरी बढीमा १४ दिनभित्र घर पठाउन निर्देशन दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले कोभिड–१९ को लक्षण नभएको र सामान्य अवस्थाका बिरामीलाई १० दिनमा पीसीआर गरी डिस्चार्ज गरेर घर पठाउन निर्देशन दिएको छ । पछिल्लो १० दिनमा सङ्क्रमण पुनः देखिएकालाई १४ दिनभित्र पीसीआर परीक्षण नगरिकन डिस्चार्ज गर्न प्रदेश मन्त्रालयलाई र सबै कोभिड–१९ अस्पतालाई निर्देशन पुनः दिइएको प्रवक्ता गौतमले बुधबार (१० भदौ) मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले १४ दिनभन्दा बढी लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितका बिरामीलाई अस्पतालमा नराख्न निर्देशन दिइएको उल्लेख गर्दै प्रवक्ता गौतमले १४ दिनभन्दा बढी राखेमा सरकारले सोध भर्ना नगर्नेसमेत प्रष्ट पारे ।
ज्ञातव्य छ, नेपालमा अहिलेसम्म ३४ हजार ४१८ जना सङ्क्रमित फेला परेकोमा १४ हजार ७३९ जना सक्रिय सङ्क्रमित रहेका छन् भने १९ हजार ५०४ जना निको भएर घर फर्किसकेका र १७५ जनाको सङ्क्रमणको कारणले निधन भइसकेको जनाइएको छ ।
प्रतिक्रिया