काठमार्डौं उपत्यकामा एकीकृत क्वारेन्टिन सञ्चालन गरिने तयारी

काठमार्डौं उपत्यकामा एकीकृत क्वारेन्टिन सञ्चालन गरिने तयारी


काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा ६ हजार बेडको एकिकृत क्वारेन्टाइन सञ्चालन गरिने भएको छ । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक ईश्वर पोखरेलसहित उपत्यका नगरपालिका फोरमबीच भएको छलफलमा उपत्यकामा ६ हजार बेडको एकीकृत क्वारेन्टिन सञ्चालन गर्ने सहमति भएको हो ।

यसबारेमा आज उपप्रधान एवं रक्षामन्त्री पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य र गृहमन्त्रालयका सचिव र उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य, उपाध्यक्ष चिरिबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठको टोलीबीच छलफल भएको फोरमका सचिव श्रेष्ठले जानकारी दिए । फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठका अनुसार छलफलमा उपत्यकामा तीन हजार बेड पुगिसकेको र अब तीन हजार थप्ने बारेमा छलफल गरी सहमति भएको छ । शहरी विकास मन्त्रालयले व्यवस्थापन गर्ने क्वारेन्टिनस्थलको स्थानीय तहसँगको समन्वयमा खोजी गरी पहिचान गरिने भएको उनले जनाए ।

बताइएअनुसार उपत्यकामा दुई हजार बेडको आइसोलेसन तयार भएको र स्थानीय तहसँगको समन्वयमा केही निजी अस्पतालको सहमतिमा थप एक हजार बेडको आइसोलेसन तयार गर्ने सहमति भएको छ । त्यसैगरी, यसअघि क्वारेन्टिन तथा आइसोलेसनमा बस्ने सङ्क्रमितको दैनिक खाना खाजाका लागि सरकारले रु. १७५ निर्धारण गरेकोमा यो रकम बढाउनुपर्ने नगरपालिका फोरमले छलफलमा माग गरेको छ ।

pict:rss

श्रेष्ठ भन्छन्, ‘दैनिक रु. १७५ मा ब्रेकफास्ट, खाजा, दुईछाक खाना खुवाउन सक्ने अवस्था छैन, थप रकम खर्च गर्दा पनि बेरुजु निस्कन्छ, यो रकमलाई बढाएर दैनिक रु. ५०० बनाउने बारे छलफल भयो, यसमा सीसीएमसीसंग मौखिक सहमति भएको छ, मन्त्रीपरिषद्ले यो निर्णय गर्ने आशा लिएका छौँ ।’ उपत्यकामा बढ्दो सङ्क्रमण रोक्न नगरपालिकाले क्वारेन्टिनदेखि आइसोलेसनसम्मको व्यवस्थापनमा सरकारसँग हातेमालो गर्दै जाने भएको छ । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढेपछि क्वारेन्टिन र आइसोलेसन बढाउने भएको हो ।

आज (११ फागुन) मात्रै उपत्यकामा ३७७ जनामा थप सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १२ हजार ६२९ को पिसीआर परीक्षण गर्दा थप १ हजार १११ मा सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा अहिलेसम्म ३५ हजार ५२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसममध्ये १५ हजार ७३ जना आइसोलेसनमा छन् भने अहिलेसम्म २० हजार ७३ जना निको भएर फर्किएका छन् । देशभर हाल ९ हजार ४८८ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना सङ्क्रमणबाट १८३ को ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।