आरके श्रीवास्तव, रौतहट
रौतहटको गरुडा नगरपालिका ८ बसबिटि जिंगडियाका २० वर्षीय निरन्जन राम चमारको हत्यामा संलग्न रहेका आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका सात जनामध्ये एक युवकको मृत्यु भएको छ ।
हिरासतमा रहेका गरुडा नगरपालिका–८ जिंगडिया टोलका १९ वर्षीय विजयराम चमारको बुधबार राति १ बजे मृत्यु भएको बताइएको छ ।
सोही ठाउँका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेका भनिएका विजयरामको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा बुधबारर राति मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।
तर, मृतक विजयरामका बुबा पनिलाल चमारले हत्या आरोपमा पक्राउ परेका छोरालाई प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेकाले सहन नसकी उनको उपचारका क्रममा मृत्यु भएको आरोप लगाएका छन् । निर्दोष छोरालाई हत्यामा फसाउने नियतले प्रहरीले जबर्जस्ती पक्राउ गरेको चमारको दाबी छ ।
प्रहरीको जिकिर भने फरक छ । पक्राउ परेका विजयरामको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको समय उनको पिसाब तथा मिर्गौलामा समस्या आएपछि अनामिका अस्पतालबाट थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताए ।
उपचारका क्रममा पिसिआर टेष्टसहित दुई पटक डायलाइसिस गरिएको तथा दुवै मिर्गौलाले काम गर्न छाडेपछि विजयको मृत्यु भएको प्रहरी नायव उपरीक्षक महतोको दाबी छ ।
गत साउन ३१ गते निरञ्जन रामले गाउँकै एक महिलासँग अवैध सम्बन्ध राखेको अभियोगमा उनकै साथीहरुले धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँनजिकै फालेका थिए ।
यसरी आफ्नै साथीबाट हत्या गरिएको अनुसन्धानमा खुलेपछि सोही ठाउँका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, अर्जुन राम, सिकेन्द्र राम र विजयराम तथा अन्दाजी २२ वर्षीय शेख आजादसहित ७ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको थियो ।

आजादकै परिवारका एक महिलासँग अनैतिक सम्बन्ध राखेका कारण उनको योजनानुसार साथी मिलेर निरञ्जनको हत्या गरिएको प्रहरी नायब उपरीक्षक महतोले बताए ।
पक्राउ परेका सातै जनामाथि ज्यान मुद्दाअन्तर्गत जिल्ला अदालत रौतहट गौरबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।
यसै क्रममा घटनाको छानबिन गरी दोषीलाई कार्यवाही र क्षतिपूर्तिको माग सहित मृतक विजयका आफन्त र दलित समुदायले बिहीबार ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।
हिरास्तमा प्रहरीको निर्घात कुटपिटबाट विजय रामको मृत्यु भएको भन्दै उनका आफन्तहरुले गरुडामा बिहीबार कडा प्रदर्शन गरेका छन् । प्रहरीले कुटपिट गरी विजयको ज्यान लिएको भन्दै हजारौँ हजारको संख्यामा आएका उनका आफन्त तथा गाउँवासीले इलाका प्रहरी कार्यालय गरुडा घेराउ गरी प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले प्रहरी प्रशासन मुर्दावाद, कुटपिट गरी ज्यान लिने प्रहरीलाई निलम्बन गर जस्ता नारा लगाएका थिए ।
प्रतिक्रिया