नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र एकै दिन थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ पीसीआर परीक्षण भएको छ भने सक्रिय संक्रमित १६ हजार १९ रहेको छ । यस्तै हाल देशभर क्वारेन्टिनमा ८ हजार ९ सय ३९ जना रहेका छन् ।
शुक्रबार १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ।
यस्तै, उपत्यका थपिएका ४१५ जनामध्ये काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
यसैबीच कोरोना भाइरस सङ्क्रमणका कारण आज (१२ भदौ) पोखरामा एक जनाको मृत्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा आएका पोखरा महानगरपालिका वडा नं १६ निवासी ५२ वर्षीय पुरुषको उपचारका क्रममा आज १२ः१५ बजे मृत्यु भएको हो ।
पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक सह प्राडा अर्जुन आचार्यले जानकारी दिएअनुसार कोभिड–१९ को सङ्क्रमण भइ उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु हुने निज छैटौँ सङ्क्रमित हुन् ।
प्रतिक्रिया