विशेष प्रतिनिधि, टोकियो
जापानका प्रधानमन्त्री सिन्जो आबेले पत्रकार सम्मेलनको आयोजना गर्दै औपचारिक रुपमा राजीनामा दिएका छन् । स्वास्थ्य अवस्था खराब बन्दै गएकाले राजीनामा दिनुपरेको उनले बताएका छन् ।
नियमित औषधी खाने र अस्पताल गइराख्नु पर्ने भएकाले एक वर्ष कार्यकाल बाँकी छँदै राजीनामा दिनु परेको प्रधानमन्त्री आबेले प्रष्ट परेका छन् । उनको कार्यकाल आगामी सन् २०२१ को सेप्टेम्बरसम्म बाँकी थियो ।
‘मैले गरेका केही प्रतिबद्धताहरु बाँकी थिए तर स्वास्थ्यका कारणले राजीनामा दिनुपर्यो’, पत्रकार सम्मेलनमा आबेले भनेका छन् ‘यसका लागि मेरा जनतासँग माफी माग्न चाहन्छु ।’
आबेले आफू प्रतिनिधिसभाको सदस्यका हैसियतले आफ्नो जिम्मेवारी निभाउने बताएका छन् । आबेले राजीनामा दिए पनि उत्तराधिकारीका विषयमा भने केही खुलाएका छैनन् । तपाईंको जिम्मवारी कस्ले लिन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा आबेले भने, ‘यो मैले भन्ने र मैले निर्णय गर्ने कुरा होइन ।’ उत्तराधिकारीको विषय पार्टीले टुङ्ग्याउने उनले बताएका छन् ।
पत्रकार सम्मेलनमा उपस्थित संचारकर्मीहरुले संविधान संशोधनको विषयबारे चिन्ता ब्यक्त गरेका थिए तर आबेले भने यस विषयमा मैले नतिजा दिन नसकेकोमा माफी चाहन्छु भनेर जवाफ फर्काएका थिए । जापानको संविधान संशोधनका लागि अहिले संसदमा बहस भइरहेको छ । प्रधानमन्त्री आबेको राजीनामाप्रति प्रतिकृया जनाउने अधिकांश नेताहरुले राजीनामा हतार भएको बताएका छन् ।
आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने र देश विकासको गतिमा बाधक बन्न नहुने आबेको भनाई छ । पार्टीले प्रधानमन्त्रीको अर्को उम्मेदवार नछान्दासम्म मात्र आफू पदमा बस्ने आबेले प्रष्ट पारेका छन् । नयाँ प्रधानमन्त्री छान्ने विषयमा उनको डेमोक्र्याटिक पार्टीले अर्को हप्ता आवश्यक छलफल गरी निर्णय लिने बताइएको छ ।
सन् २०१२ देखि लगातार शक्तिमा रहेका आवे जापानमा सवैभन्दा लामो समय प्रधानमन्त्री भएका नेता हुन् । उनले यसअघि सन् २००७ मा पनि स्वास्थ्य समस्याकै कारणले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए, तर पछि सुधार भएपछि पुनः निर्वाचित भएका थिए ।
पछिल्लो दुई हप्तामा उनी दुई पटक अस्पताल पुगिसकेका छन् । अर्को महिनादेखि आवे ६६ वर्ष लाग्दैछन् । उनलाई आन्द्रामा समस्या रहेको र पछिल्लो समयमा समस्या झन-झन बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न राम्रोसँग नसकेको भन्दै जापानमा सरकारको लोकप्रियता अहिले केही खस्किएको छ । लोकप्रियता खस्किएको र काम गर्न नसकेको कारणले भने राजीनामा दिन लागेको भनिएको छैन ।
जापानमा प्रधानमन्त्रीले राजीनामा दिएपछि कार्यवाहक प्रधानमन्त्री बनाइने कानुनी व्यवस्था रहेको छ । मन्त्रीपरिषदमा उनीपछिको दोस्रो बरियता क्रममा उपप्रधान तथा अर्थमन्त्री रहेका छन् ।
प्रतिक्रिया