जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा तत्काल ‘होम डेलीभरी’ सेवा जरुरी नभएको जिकिर गरेको छ । हरेक विहान ९ः१५ सम्म खाद्य सामग्री खरिद–बिक्रीको समय पर्याप्त भएको उल्लेख गर्दै प्रशासनले कोभिड–१९ सङ्क्रमण जोखिमको विषम परिस्थितिमा अनावश्यक भिडभाड गर्न नहुनेतर्फ ध्यानाकर्षण गराएको छ ।
खाद्य परिकारलगायत घरायसी वस्तु घरघरमा पुऱ्याउँदा सङ्क्रमण फैलिन सक्ने जोखिम रहेको तर्क गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले तत्कालका लागि त्यस्तो सेवा सञ्चालन गर्न नहुनेमा जोड दिएका छन् ।
‘होटलबाट खाना पोको पारेर लैजाने सेवासमेत बन्द छ, प्रशासनले जारी गरेको आदेशमा होमडेलिभरी सेवाबारे उल्लेख छैन’, प्रजिअ दाहालले भनेका छन्, ‘वाणिज्य विभागले एउटा मापदण्ड बनाउनु पर्छ र डेलिभरी गर्ने व्यक्तिको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ छ भन्ने प्रमाणित गराएर मात्रै उक्त सेवा सञ्चालन गर्नुपर्छ ।’
प्रहरीले डेलिभरी सेवा रोक्न थालेपछि ति संस्थाका प्रतिनिधिले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउँदै सेवा सञ्चालन गर्न दिन माग गरेका थिए । त्यसको जवाफमा प्रजिअ दाहालले तत्काल सेवा सञ्चालन गर्न नसकिने जवाफ दिएका हुन् ।
‘हाम्रो ध्यानाकर्षण भएको छ, त्यस विषयमा छलफल हुने नै छ, निषेधको आदेश लम्बिन गयो भने एउटा निचोडमा पुग्न सकिन्छ तर अहिलेकै अवस्थामा सेवा सम्भव छैन’, प्रजिअ दाहालले प्रष्ट्याए । उनले यसरी सेवा दिने हजारौँ मोटरसाइकल सडकमा निस्किने र घरघरमा पुग्ने भएकाले जनस्वास्थ्यको ख्याल गर्नुपर्नेमा जोड दिएका राससले जनाएको छ ।
प्रतिक्रिया