■ देवप्रकाश त्रिपाठी
अघिल्लो साँझ आमाको ध्यान अन्यत्र खिच्ने सफलता अभ्यस्तलाई प्राप्त भयो । भोलिपल्ट कसरी आमाको ध्यान अन्यत्र लैजाने यो उसको चिन्ताको विषय बनिरहेको थियो ।
बिहानको नित्यकर्म सक्नेबित्तिकै उसले भन्यो, ‘आमा वन विहार गर्न जाऊँ, कतै नयाँ केही प्राप्त पो भइहाल्छ कि ?
निराकार बोलिन्, ‘तिमी वन विहार गरेर फर्किएका होइनौ र, केही पाएनौ ?
‘म केही खोज्न गएको थिइनँ आमा, नखोज्न गएको थिएँ तर केही पाएँ, त्यसैको पश्चात्तापबोध भइरहेछ मलाई । म माफी चाहन्छु आमा, मलाई माफ गर्नुहोस् ।’
‘तिमीलाई ज्ञान प्राप्त भएको विश्वास म कसरी गरौँ । अहिले कुनै कुराले तिमीलाई संवेदनशील बनाएकै हो भने पनि कुन बेला तिमी आफ्नो शरीरको वशमा पर्छौ र के गर्छौ अहिले नै म विश्वास गर्न सक्दिनँ ।’
‘तर, म तिमीलाई शरीरको वशबाट मुक्त होऊ पनि भन्न सक्दिनँ । तिमीले मानव सृष्टिको निरन्तरता दिनुपर्छ भन्ने मलाई पनि लाग्छ, तर त्यसको उपाय देख्न सकिरहेकी छैन मैले । म अघिल्लो सृष्टिकालको अवशेष हुँ । म समाज, संस्कार, पूर्व मूल्य र मान्यता केहीबाट पनि मुक्त छैन । समाज अस्तित्वमा छैन अहिले, तर मभित्र समाजको अवशेष छ, पूर्वमान्यताहरूको पकड छ, म त्यसैले मानव सृष्टिको साधन बन्न सक्ने मानसिकतामा अहिलेसम्म छैन ।’
‘मैले तपाईं मानवसृष्टिको कारण बन्नुपर्छ भनेर कहाँ भनेको छु र ?’
‘भनेका छैनौ ?’
‘छैन ।’ ’
‘आफैसँग झुट बोल्दैछौ ?’
‘सत्य बोल्नुपर्दा… कुनै बेला त्यस्तो भाव मनमा पैदा हुन्थ्यो भने पनि अब छैन ।’
‘भाव हो, निकै तरल हुन्छ । एकपटक कुनै रङ्ग मिसिनेबित्तिकै पहिलेझैँ निर्मल रहन्न, त्यो केही न केही धमिलै रहन्छ ।’
‘तर म धमिलिन चाहन्न ।’
‘किन ?’
‘म आमाको चित्त दुखाएर कुनै प्रकारको खुसी आर्जन गर्न चाहन्न ।’
‘वश ! मेरो चित्त नदुखाउनका लागि मात्र ? तिम्रो आफ्नो चित्तमा केही फरक पर्दैन ? त्यसैले त म भन्दै छु, तिमी पूर्ण परिवर्तन हुन बाँकी नै छ ।’
’त्यसो भए गराउनुहोस् मलाई पूरै परिवर्तन ।’
’तिमी आवेगमा बोलिरहेछौ । संवेदनाहरू सक्रिय रहेका बेला लिइने निर्णय वा व्यक्त हुने विचार आफैमा सही र दिगो हुँदैन । खुसी, दुःखी, निराश, क्रोधित या आक्रोशित भएका बेला कुनै पनि निर्णय लिनु उचित होइन । पहिले तिमी आफूलाई सम्हाल, त्यसपछि तिम्रो दृढ अठोट सुनाऊ मलाई ।’
‘म अज्ञानी, मूर्ख जे भए पनि, मैले जुन अवस्थामा लिएको निर्णय भए पनि मेरो दृढ अठोट के हो भने तपाईंलाई दुखाएर मलाई कुनै निर्णय लिनु छैन’, अभ्यस्त भन्दै गयो, ‘तपाईं मेरी आमा हुनुहुन्छ, म आदर गर्छु । म तपाईंको सन्तान हुँ, तपाईं मलाई असाध्यै माया गर्नुहुन्छ ।’
‘हो छोरा, मैले जतिसुकै बेग्लै कुरा गरे पनि म अल्झिएको चाहिँ तिम्रै मायामा हुँ । म बाँचिरहनुको एक मात्र कारण तिमी मात्र हौ ।’
‘थाहा छ आमा, तपाईं मलाई असाध्यै माया गर्नुहुन्छ । तपाईंको शेषपछि मैले यस्तो माया कसको पाउँला, मलाई एउटै चिन्ता यही छ ।’
‘म आमा हुँ, म मेरो सन्तानको पीडा सहन सक्दिनँ । मैले हरण गर्नैपर्छ तिम्रो पीडा । म तिमीलाई एक्लै रहन दिने छैन अभ्यस्त ।’
‘एक्लो हुन नदिने ! तपाईंको आसय सँगै मर्ने भन्ने हो आमा ?’
‘होइन, आत्महत्या पागलपन हो, कायरता हो, पराजित मानसिकताको पराकाष्ठा हो । त्यस्तो सोच्नु मात्र पनि अपराध हो ।’
‘त्यसो भए म कसरी एक्लो रहन्न त ?’
‘पर्खौं, हेरौँ, केही उपाय अवश्य निस्कनेछ । मलाई अझै पनि एउटा झिनो आशा के छ भने हामीजस्तै कहीँ कतै कोही बाँचिरहेका छन् । धेरै टाढा–टाढा गएर हामीले खोजबिन पनि त गरेका छैनौँ ।’
‘तपाईं नै भन्नुहुन्छ कहिले अरू कोही बाँचेका होलान् जस्तो लाग्दैन भनेर, म करिब डेढ दिनको यात्रा गरेर फर्किएको हुँ, कतै कुनै सङ्केत पाउन सकिएन । अरू कोही भेटिनेछन्, त्यसपछि मानव सृष्टिको जग बसाउँला भन्नेचाहिँ नसोच्नु नै राम्रो हो कि आमा ?’
‘प्रलयपूर्वको डेढ दशक धर्ती अत्यन्त असामान्य, सङ्कटग्रस्त असुरक्षित थियो । त्यो समयभरि मृत्युको खबर मात्र सुन्ने गर्थ्यौँ हामी । दुई सय करोडभन्दा माथि जनसङ्ख्या भएको हिमालपारिको मुलुक चाइनामा तीन करोड मानिस बाँकी थिए प्रलयको केही दिनअघिसम्ममा । दुई अर्ब सत्तरी करोड जनसङ्ख्या भएको भारतमा डेढ करोडभन्दा बढी मानिस नरहेको अनुमान गरिँदै थियो । यही अनुपातमा विश्वका अन्य देशको जनसङ्ख्या पनि घटेको थियो । पचास करोड जनसङ्ख्या भएको इन्डोनेसिया सिङ्गै समुद्रको गर्भमा समेटिएको थियो । पृथ्वीको तापमान बढेर सम्पूर्ण वैज्ञानिक उपकरणहरूले काम गर्न छोड्नुअघिको तथ्याङ्क हो त्यो, जतिबेलासम्म सञ्चारमाध्यमहरू जसोतसो चल्दै थिए । त्यसपछिका दिनमा प्राणीहरूको झनै ठूलो क्षति भयो होला । त्यसैले मानिस बाँकी नरहेको अनुमान मैले गरेकी हुँ । तर यो मेरो अनुमान मात्र हो । जसरी हामी धर्तीको अरू कुनाबारे अनभिज्ञ छौँ, त्यस्तै कोही बाँचेकै भए ती पनि बाँकी संसारबारे अनभिज्ञ छन् । हामीले कदाचित मानव सृष्टि रचना गरेछौँ भने पनि सम्भावित बाँचेका मानिस र हाम्राबीच मिलाप हुन हजारौँ वर्ष प्रयास गर्नुपर्ने हुन्छ । त्यसरी बाँचेको कोही महिला या पुरूषसँग हाम्रो सम्पर्क हुने थियो भने त मानव सृष्टिको जग बसाउन कुनै सोचविचार गर्नैपर्ने थिएन’, निराकारले खुलस्त गरिन् ।
अभ्यस्तले लामो सुस्केरा छोड्दै भन्यो– ‘त्यसो भए हामीले अझै आशा राख्नुपऱ्यो, अझै पर्खनुपऱ्यो धैर्य गर्नुपऱ्यो, होइन त आमा ?’
‘हो, पऱ्यो । धैर्य त गर्नैपर्छ बाबु । कुनै पनि कुराको प्राप्ति गर्न धैर्य राख्नैपर्ने हुन्छ ।’
‘ठिकै छ, धैर्य गरौँला, तर आज हामी जङ्गल घुम्न जाने कि नजाने आमा ?’
‘जङ्गल आज नजाऊँ । खानेकुराको प्रबन्ध म यहाँ कुनै तरिकाले गर्नेछु, हुँदैन ?’
‘हुन्छ आमा, वास्तवमा मलाई पनि हिजोको थकाइ बाँकी नै छ ।’
निराकार खानाको प्रबन्ध गर्न जुटिन्, अभ्यस्त आँगनको छेउमा निदाउने प्रयास गर्दै सुत्यो । (क्रमशः)
यसअघिको खण्ड हेर्नुहोस्–
अभ्यस्तको प्रायश्चित

प्रतिक्रिया