अभ्यस्तको प्रायश्चित

अभ्यस्तको प्रायश्चित


■ देवप्रकाश त्रिपाठी

अभ्यस्त ग्लानिपिण्डमा रूपान्तरित भएको छ । ऊ आफूबाट भएको अक्ष्यम्य धोकाधडीका लागि प्रायश्चित महसुस गर्दै छ । तर, प्रयश्चित गर्ने या माफी माग्ने कोसँग ? केही छैनन्, कोही छैनन् रित्तिएको पृथ्वीमा ।

ऊ धेरैबेर टोलायो ।

तालको मौनतासँग उसले आफूलाई टाँसिरह्यो । उसले सोच्यो– ‘मैले आमासँग भेट्नुपर्छ र प्रायश्चित गर्नुपर्छ ।’

अभ्यस्तको कदम बढ्यो, जहाँबाट ऊ आएको थियो उतैतिर अर्थात् जहाँ उसको एक्लो घर थियो ।

बाटाभरि उसको दिमागमा अनेकौँ तरङ्गहरू चलिरहे, सृष्टि, जीव, ईश्वर, मानव समाज, समय र आफैबारे सोच्दासोच्दै उसलाई घन्टौँको यात्रा पूरा हुन लागेको हेक्का भएन ।

घन्टौँको यात्रापछि पूर्णचन्द्रले छरेको धमिलो प्रकाशमा उसले आफ्नो घर देख्यो । आमालाई भेट्नेबित्तिकै के भन्ने ? ऊ सोच्दै अघि बढ्यो ।

आमासँग मैले वास्तविकता राखिदिनुपर्छ, त्यसबाट मात्र मलाई प्रायश्चितको अवसर प्राप्त हुन्छ– उसलाई लाग्यो । ‘तर आमाको दृष्टिमा म त्यतिसम्म घट्नु हुन्न’, ऊ यो पनि सोच्दै थियो । यस्तै सोचहरूका बीच रूमल्लिएको मानसिकतामै कतिबेला घरको आँगन टेक्न पुग्यो उसलाई थाहा नै भएन ।

‘फर्कियौ ?’ आमाको आवाजले अभ्यस्त झस्कियो ।

आँगनकै अर्को छेउमा उभिएकी आमा भएतिर ऊ गयो । आमाको गोडा समातेर भुइँमा लम्पसार पऱ्यो र भन्यो, ‘मलाई माफ गर्नुहोस् आमा ।’

‘तिमीले के गल्ती गरेका छौ र माफी माग्नुपर्ने ? गल्ती मेरै हो, मैले तिमीलाई दुःखाएँ, मैले तिम्रो भावनालाई बुझ्न खोजिनँ’, निराकारले वातावरण सहज बनाउँदै भनिन् ।

‘होइन आमा मबाट अक्षम्य अपराध भएको छ’, उसले भन्यो ।

‘यो कुनै अपराध होइन, थाकेका होलाऊ हिँड भित्र, र केही खाउ ।’

दुवै भित्र प्रवेश गरे ।

निराकार चिन्तामुक्त देखिन्थिन्, तर अभ्यस्त हतास देखिन्थ्यो ।

ऊ वास्तविकता आमालाई बताउन चाहन्थ्यो, तर घाँटीमै अड्किन्थे उसका शब्दहरू । केही सागपात, केही माछाका टुक्राहरू राखिदिँदै निराकारले उसलाई खानका लागि कर गरिन् ।

‘तपाईं पनि खानुहोस् न आमा’, अभ्यस्तले सामान्य हुन खोज्दै भन्यो ।

‘मैले खाइसकेँ, तिमी खाऊ’, उनले फेरि भनिन्, ‘मलाई अब कहिल्यै आमा नभन ।’

‘किन, रिसाउनुभएको ?’

‘होइन, रिसाएको होइन । आमा शब्द होइन, भावना हो । भावनामा अर्को कुरा राखेर आमा सम्बोधन गर्नु बेकार हो ।’

‘मैले ठूलो भूल गरेँ, म प्रायश्चित गर्न चाहन्छु आमा । कृपया मलाई प्रायश्चितको अवसर दिनुहोस् ।’

‘पहिले खाऊ त्यसपछि कुरा गरौँला ।’

भोकले व्याकुल अभ्यस्तले थपी–थपी खायो ।

त्यसपछि दुवैजना घरबाहिर निस्किए ।

चन्द्रप्रकाशमा बाहिर टाढा समुद्र टल्किरहेको, पृथ्वीको धमिलो आकृति, खुला आकाश, कीरा–फट्याङ्ग्राहरू कराइरहेको आवाज ! यस्तै थियो बाहिरको वातावरण ।

दुवैजना समुद्रतिर फर्किएर आँगनको डिलमा बसे । आफ्नो पलायनको बारेमा आमाले जिज्ञासा राख्ने हो कि भन्ने डर अभ्यस्तको मनमा थियो । सबै घटनाक्रम बताएर आमाका अगाडि नघट्ने अठोट गरिसकेको थियो उसले । त्यसैले आमाबाट प्रश्न अघिसर्नुअगावै आफैले कुरा सुरू गर्नु उचित ठान्यो अभ्यस्तले ।

‘आमा !’

‘आमा भन्नुअघि सोध आफूलाई’, निराकारले जवाफ फर्काइन् ।

‘म स्पष्ट छु आमा, मैले जे भनिरहेको छु ठीक भनिरहेको छु । म केही कुराहरू जान्न चाहन्छु’– उसले भन्यो ।

‘भन के हो ?’

‘समय भनेको के हो आमा ?’

‘एउटा रिक्तता, जीवहरूका लागि एउटा आभास र अन्तराल ।’

‘यो आइरहेको हुन्छ कि गइरहेको ?’

‘न आइरहेको हुन्छ, न गइरहेको, समय त स्थिर हुन्छ । सृष्टिमा केही अपरिवर्तनीय र स्थिर छ भने यही एउटा समय हो । बिउ परिवर्तन भएर बिरूवा बन्छ, बिरूवा परिवर्तन भएर वृक्ष । फूल फुल्छ, फल्छ, वृक्ष बूढो हुन्छ र मर्छ, फेरि नयाँ बिउ र बिरूवाहरू पैदा भइरहेका हुन्छन् । यसरी एउटा बिउमा आएको परिवर्तनलाई हामी समयमा आएको परिवर्तन भन्ने ठान्छौँ । वस्तु परिवर्तनशील छ हामी परिवर्तनशील छौँ, धर्ती र सिङ्गै सृष्टि परिवर्तनशील छ, तर समय स्थिर छ । हामीमा आएको परिवर्तन र हामीले देखेको परिवर्तनलाई समयको परिवर्तन ठान्ने भ्रम हामीले आदिकालदेखि नै राख्दै आएका छौँ । सृष्टि चलायमान छ, समय स्थिर छ । पहिले यहाँ मानिसहरूको आवागमनका लागि मोटर, जहाज, हवाइजहाज र रेलजस्ता साधनहरू बनेका थिए । तिमीले पनि त्यो देखेका थियौ । मोटरमा चढेर यात्रा गर्दा जब हामी बाहिर हेर्थ्यौँ, सारा रूख र घरहरू हिँडिरहेको भान हुन्थ्यो । त्यस्तै भ्रम हामीले राख्दै आयौँ । स्थिर समयलाई हामीले सधैं चलायमान ठान्यौँ’– एउटा भिन्न जवाफ दिइन् निराकारले ।

अभ्यस्तले अर्को जिज्ञासा राख्यो– ‘अनि यो सत्ताचाहिँ के हो नि ?’

‘नियन्त्रण र निर्देशनको सम्पूर्ण क्षमता राख्ने अदृश्य तर अन्तिम शक्ति ।’

‘कहाँ र कसमा निहित छ त आमा यो ?’

‘त्यो खुल्न सक्यो भने त सृष्टिको सबै रहस्य खुलिहाल्थ्यो नि । पहिले मानवसमाजले यसको रहस्य बुझ्न कम्ती प्रयास गरेका थिएन ।’

‘समाज भनेको के हो नि ?’

‘मानिसहरूको एउटा झुण्ड भन्दा पनि हुन्छ, मानिसहरू समूहमा बस्छन्, समूहका रूपमा जहाँ बसोबास गर्छन् त्यसलाई समाज भनिन्छ । तर, यो एउटा विश्वास मात्र हो, यो निकै जटिल हुन्छ । विश्वास किनभने समाजले मेरो रक्षा र हित गर्छ भन्ने विश्वास व्यक्तिलाई भइरहेको हुन्छ, तर व्यक्तिको उन्नति–प्रगतिको बाधक सधैं त्यही समाज नै बनिरहेको हुन्छ । व्यक्तिहरूले समूह या समाजमा सुरक्षित महसुस गर्न सक्छन् तर वैयक्तिक उन्नति–प्रगतिको साधन समाजलाई बनाउनचाहिँ सकिँदैन ।’

अभ्यस्तले सुनिरह्यो, निराकार अझ अगाडि बोल्दै गइन्– ‘पहिले पृथ्वीमा बुद्ध, कन्फ्युसिएस, मोहम्मद, ग्यालिलियो, महावीर, सोक्रेटस, अरिस्टोटल, जिसस क्राइस्ट, रजनीशजस्ता अनेकौँ मानिस पैदा भएका थिए । ती सबै आफैमा विशेष थिए, तिनीहरू जन्मेको समाजभन्दा ती व्यक्ति नै सही थिए । तर, तिनलाई तिनकै समकालिन समाजले व्यवधान र कष्ट पैदा गराइरह्यो । त्यसैले समाजलाई एउटा कुवा पनि भन्न सकिन्छ । कुवाको गुण पानी संरक्षित भएर एकै ठाउँमा बस्नु हो गति पैदा गर्नु होइन । गतिवान् पानी कुवा हुन सक्दैन । गतिवान् पानी र कुवाको पानीबीच जे–जति अन्तर हुन्छ व्यक्ति र समाजबीचको अन्तर पनि त्यति नै हो । समाज स्थिरता चाहन्छ, कुनै नयाँ विचार, सन्देश या सन्दर्भलाई आत्मसात् गर्ने क्षमता सामान्यतया त्यसले राख्दैन, यो अत्यन्त रूढिवादी र जडसूत्रवादी हुन्छ । त्यसैले समाजको अनुमति लिएर अघि बढ्न खोज्नु खासमा अघि बढ्नै नखोज्नु हो भन्न सकिन्छ ।’ निराकारले समाजप्रतिको आफ्नो धारणा जुन नकारात्मक छ, स्पष्ट पारिन् ।

अभ्यस्तले प्रश्नको सिलसिला जारी राख्न चाह्यो ।

‘सबभन्दा उकालो बाटो कुन हो आमा ?’

‘सत्मार्ग’, निराकारले फ्याट्टै भनिदिइन् ।

‘सबभन्दा ठूलो भिन्नता ?’

‘जीवन र मृत्यु । जीवन र मृत्युबीचको जति भिन्नता कुनै पनि बस्तुबीच हुन सक्दैन ।’

‘सबभन्दा ठूलो त्याग ?’

‘मोहरहित हुनु ।’

‘सबभन्दा ठूलो ज्ञान ?’

‘सबै प्राणी आफूजस्तै हुन् भनेर थाहा पाउनु ।’

‘सबभन्दा विश्वासयोग्य मित्र ?’

‘दुःख, जसले कहिल्यै धोखा दिँदैन । दुःख, जसले कहिल्यै हाम्रो इच्छापूर्तिमा साथ दिँदैन, तर उसले छोड्दैन पनि कहिल्यै !’

‘सबैभन्दा कठिन काम ?’

‘सबैको प्रिय हुनु । सबैको भलो सोच्ने व्यक्ति पनि सबैको प्रिय हुन सक्दैनन्, बुद्धले पनि सकेनन् ।’

‘सबभन्दा ठूलो भोक ?’

‘असन्तुष्टि ।’

‘सबभन्दा ठूलो रहस्य ?’

‘सृष्टि आफै ।’

‘सबभन्दा सजिलो कर्म ?’

‘मूल्य र मान्यता तोड्नु ।’

‘सधै अधुरो के हो नि आमा ?’

‘जिन्दगी । जो जति वर्षको उमेरमा मरे पनि उसको काम बाँकी नै रहेको हुन्छ ।’

‘कहिल्यै भेट हुन नसक्ने कुराहरू के हुन् आमा ?’

‘उज्यालो र अँध्यारो या जीवन र मृत्यु ।’

‘सबभन्दा ठूलो बदलाको भावना ?’

‘कसैको गाँस खोसेपछि या पेटमा धक्का पु¥याउने काम भएपछि उत्पन्न हुने भावना, जसले कहिल्यै बिर्सन सक्दैन ।’

‘कुनै औषधिले काम नगर्ने सबभन्दा ठूलो रोग ?’

‘लोभ ।’

‘सबभन्दा ठूलो पाप ?’

‘अर्काको मन दुखाएर गरिने कर्म ।’

‘आनन्द भनेको के हो आमा ?’

‘आफूलाई बिर्सनु । आफूलाई बिर्स, त्योभन्दा आनन्द अरू केही हुन सक्दैन ।’

‘बिनालगानी प्राप्त हुने कुरा ?’

शत्रु ! एक निमेष समय, एक पैसा र बुद्धिको कुनै अंश खर्च नगरीकन नै शत्रु पैदा भइरहेका हुन्छन् ।’

यस्तै सवाल–जवाफका बीच उनीहरूले घन्टौँ बिताए । छोराको पलायनपश्चात् प्रायः अनिदो नै बस्ने गरेकी निराकारलाई निद्राले च्याप्दै ल्यायो । बिनालगानी पैदा हने वस्तुको परिभाषा सक्दानसक्दै उनले भनिन्, ‘बाबु अब सुतौँ, बाँकी कुरा भोलि गरौँला ।’

अभ्यस्तलाई पनि यही चाहिएको थियो । ऊ प्रायश्चित गर्न चाहन्थ्यो, तर जुन मनोदशाबाट ऊ गुज्रिरहेको थियो सबै कुराहरू खोलेर आमाको सामु ‘एक्स्पोज’ हुनु पनि थिएन उसलाई । त्यसैले आमाको प्रस्तावमा उसले तत्काल सहमति जनायो । त्यसपछि उनीहरू आ–आफ्ना ओछ्यानतिर लागे । (क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस्–
उन्मत्त अभ्यस्तबाट माछा बलात्कृत !