‘धेरै धनराशि विदेशिन्छ, पिसीआर परीक्षणका लागि भनसुन नगरौँ’ : स्वास्थ्य मन्त्रालय

‘धेरै धनराशि विदेशिन्छ, पिसीआर परीक्षणका लागि भनसुन नगरौँ’ : स्वास्थ्य मन्त्रालय


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ । जोखिम र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै सङ्क्रमित पत्ता लगाई रोकथाम गर्नका लागि पिसीआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गरेका हुन् ।

‘भएका स्रोत साधनको समुचित प्रयोग गर्नु हामी सबैको कर्तव्य हो, कोभिड–१९ को परीक्षण गर्ने उपकरण र रिएजेन्ट नेपालमा बन्दैन, त्यसैले धेरै नै धनराशि विदेशिने गर्दछ भन्नेले सबैले बुझ्नुपर्ने र आवश्यकताका आधारमा मात्र परीक्षण गर्नुपर्दछ’– नियमित प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

कोभिड–१९ का सामग्री विश्वभरि नै माग भइरहेको अवस्थामा अभाव हुन सक्ने भएकाले शङ्कास्पद र जोखिमका मानिसले मात्र परीक्षण गर्न उनले आग्रह गरे ।

शङ्कास्पद बिरामी, कन्याट्याक्ट ट्रेसिङमा परेका मानिस, निश्चित समुदायमा नमूना परीक्षणका लागि तोकिएका व्यक्तिलाई निःशुल्क परीक्षण सरकारले गर्दै आइरहेको उनको भनाइ छ ।

पिसीआर परीक्षण आफूखुशी गर्न चाहनेले सःशुल्क गर्ने व्यवस्था सरकारले मिलाएको छ । पिसीआर परीक्षणका लागि मन्त्रालयले तोकेका प्रयोगशाला र अस्तपालले रु पाँच हजार ५०० शुल्क लिएर गर्ने गर्दछन् । मन्त्रालयले पिसीआर परीक्षणका लागि आवश्यक सामग्री महँगो र अभाव भएकाले अनावश्यक रूपमा धेरै परीक्षण नगर्न/नगराउन उनले सबैसँग अनुरोध गरे ।

ज्ञातव्य छ, नेपालमा हालसम्म ६ लाख ६९ हजार ६२६ जनाको पिसीआर परीक्षण गर्दा ३७ हजार ३४० जनामा सङ्क्रमण देखिएको छ ।