देउवा र पौडेलले अब विश्राम लिनैपर्छ !

देउवा र पौडेलले अब विश्राम लिनैपर्छ !


■ सुन्दर शर्मा

यो पङ्क्तिकार अहिले पार्टी–राजनितिमा कुनै सरोकार राख्दैन, तर काङ्ग्रेसको शुभचिन्तकचाहिँ पक्कै हो । यही शुभचिन्तक हुनुको नाताले आफूमा खट्किएका केही कुरालाई लिएर कलम चलाउँदै छु ।

यतिबेला काङ्ग्रेस सभापतिले गर्नुभएको विभिन्न विभागको गठन पार्टीको आवश्यकता हुँदै होइन । अचानक यो बेमौसमी बाजा बजाएर जग हँसाउनुभा’को छ देउवाजीले । मर्ने बेला हरियो काँक्रो भनेझैँ महाधिवेशनको मिति टुङ्गो लागिसकेको अवस्थामा एकाएक विभाग गठनको खाँचो कसलाई र किन भएको हो छर्लङ्ग बुझेका छन् कार्यकर्ताले ।

हाल काङ्ग्रेस नेतृत्वले क्रियाशील सदस्यता वितरणलाई संगठन विस्तारको अभियानको रूपमा हेर्नुको साटो आ–आफ्नो गुटको भलाई र विस्तारको रूपमा हेर्नु विडम्बना नै मान्नुपर्छ । क्रियाशील सदस्यता कस्ता ब्यक्तिलाइ दिने भन्ने कुनै ठोस कार्यविधि देखिँदैन । भरसक आफ्नो प्यानलको संख्या वृद्धि गर्नुलाई नै ठुलो उपलब्धि ठानेका छन् केही काङ्ग्रेसी नेताले ।

वर्षेनी पाँच लाख हाराहारी नेपाली युवाहरू १८ वर्ष पुगी मतदान गर्न योग्य हुन्छन् भन्ने कुरा विभिन्न तथ्याङ्कले देखाउँछ । प्रतेक ५–५ वर्षमा हुने काङ्ग्रेस महाधिवेशनमा यी २५ लाख (५×५) युवालाई काङ्ग्रेसमा सम्मीलित गराउन वा आकर्षित गर्न के–कस्ता एजेन्डा छन् र हुनुपर्छ भन्ने जानकारी गराउन काङ्ग्रेस चुकिरहेको छ ।

के काङ्ग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलमार्फत नगइकन सदस्यता लिनै नपाउने हो त ? यदि यस्तो हो भने यी लाखौँ युवाहरू काङ्ग्रेसमा आउन चाहँदाचाहँदै पनि बहिर बस्न बाध्य हुनेछन् । यी होनहार युवाहरूलाई अस्तित्वविहीन बन्न नदिन बेलैमा कुन नेताले सोच्ने ? अहिले पदासीन बुढाखाडा असफल नेताहरूले मात्र चलाएर काङ्ग्रेस चल्छ वा काङ्ग्रेसको स्तरउन्नति हुन्छ त ? सोच्न अब ढिला भइसकेको छ ।

आफूलाई हदैसम्मको लोकतान्त्रिक पार्टी सम्झने काङ्ग्रेसले विश्वब्यापीकरण र सूचना प्रविधिमा अभ्यस्त नयाँ पुस्तालाई समेट्न के–कस्ता कार्यक्रम ल्याउला हेर्न बाँकी छ । युवालक्षित कुनै ठोस कार्यक्रमबिना यी २५ लाख युवाहरुलाई काङ्ग्रेसले छुन पनि पाउने छैन ।

यतिबेला नेपाली काङ्ग्रेसमा स्व. नेता खुमबहादुर खड्काजस्ता जुझारु नेताको आवश्यकता टड्कारो रूपमा सबैले महसुस गरेका छन् । खुमबहादुरजस्ता पार्टी–सङ्गठन र कार्यकर्ता भनेपछि हुरुक्कै हुने उर्जावान् नेताको उपस्थितिले मात्र अहिलेको लथालिङ्ग र भताभुङ्ग भएको काङ्ग्रेसले नयाँ मोड समाउन सक्ने थियो सायद । आफूलाई हदैसम्मको लोकतान्त्रिक पार्टी सम्झने काङ्ग्रेसले विश्वब्यापीकरण र सूचना प्रविधिमा अभ्यस्त नयाँ पुस्तालाई समेट्न के–कस्ता कार्यक्रम ल्याउला हेर्न बाँकी छ । युवालक्षित कुनै ठोस कार्यक्रमबिना यी २५ लाख युवाहरुलाई काङ्ग्रेसले छुन पनि पाउने छैन ।

हामीलाई ज्यादै गौरव लाग्ने, राष्ट्रप्रेमले भरिएको लोकतान्त्रिक पार्टी काङ्ग्रेस केही गुटगत स्वार्थीहरूको आपसी स्वार्थ र अहम्ले गर्दा हेर्दाहेर्दै निरीह अवस्थामा आइपुग्यो । यो निरीह अवस्थाबाट काङ्ग्रेसलाई नयाँ जीवन प्रदान गर्ने काममा पनि खुमबहादुर खड्काको उपस्थितिको आवश्यकता महसुस भैरहेको छ ।

संविधानमा धर्मनिरपेक्षता राख्ने बारेमा जनमतसंग्रहमा जान आवश्यक ठान्दथे खुमबहादुर । तर पार्टी (काङ्ग्रेस) ले नै यो कुरालाई वास्ता गरेन । यदि खड्काले भनेझैँ जनमतसंग्रह गरिएको हुन्थ्यो भने हिन्दुधर्मले पुर्ण बहुमतका साथ बाजी मार्न सक्थ्यो । आजको काङ्ग्रेस अधोगमनको विकल्प पनि यही मुद्धा बन्न सक्थ्यो ।

धर्मनिरपेक्षता कुनै पनि लोकतन्त्रको आधारभुत खम्बा भए पनि नेपाल जस्तो ८२५ भन्दा बढी सनातन हिन्दु धर्म मान्ने देशमा जबर्जस्त लादिएको धर्मनिरपेक्षताले विकृति मात्र मौलाउन पुग्यो । हाम्रो देशमा लादिएको धर्मनिरपेक्षताले छाडातन्त्र मौलायो, कला र संस्कृतिको निर्मम हत्या गर्न तँछाडमछाड नै देखियो । यस्तो अवस्थाको विकास हुनुमा कतै न कतै काङ्ग्रेस पार्टी पनि जिम्मेवार देखिन्छ ।

यही धर्मनिरपेक्षताको आडमा बहकिएर विभिन्न अब्यवहारिक गतिविधि बढिरहेको छ । यस्तो गतिविधिले हाम्रो सामाजिक सद्भाव नै बिथोलिएको छ । बसुधैव कुटुम्बकमको भावना मर्दै गएको छ । धर्मप्रति समयमै उचित निर्णय लिन नसक्नु र अरुको बुई चढेर धर्मनिरपेक्षतासहितको संविधानमा ल्याप्छे लगाउने काङ्ग्रेस पनि धेरै हदसम्म दोषी देखिन्छ ।

काङ्ग्रेसलाई सक्षम पार्टी बनाइ उँभो लैजाने हो भने शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई बिदा गर्नैपर्छ । अब उहाँहरू दुवैले पार्टीको जिम्मेवारीबाट विश्राम लिनैपर्छ । नयाँ उर्जावान सक्षम ब्यक्तिले काङ्ग्रेसको बागडोर सम्हाल्नु पर्छ ।

राज्यसत्ताको चरित्रमा परिवर्तन आउन सकेन भने त्यो देशमा प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र नामधारी जुनसुकै तन्त्र आए पनि केही हुनेवाला छैन । त्यसैले उच्च ओहदामा बस्नेले त्यहाँ पुग्नेवित्तिकै ईश्वरीय शक्तिको दम्भ देखाउन थाल्यो भने पार्टी होस वा सरकार त्यो असफल हुन्छ, हुन्छ ।

काङ्ग्रेस जन्मदै राजासहितको प्रजातान्त्रिक शासन ब्यवस्थाको एजेण्डा बोकेर जन्मेको प्रजातान्त्रिक पार्टी हो । काङ्ग्रेसको मान्यता स्वेच्छाचारी होइन कि जनउत्तरदायी राजा भन्ने थियो । नयाँ संविधानमा ल्याप्चे लाउँदा काङ्ग्रेसले आफ्ना यी बहुमुल्य तथा जन्मसिद्ध मान्यतालाई तिलान्जली दिनपुग्यो । त्यसैले वर्तमानको यो भुमरीबाट काङ्ग्रेसलाई सकुशल उद्धार गर्न युवावर्गको आवश्यकता अपरिहार्य देखिन्छ । काङ्ग्रेसको बिथोलिएको संकटग्रस्त अवस्थालाइ पुनर्ताजगी गराउने जिम्मा पनि युवाको काँधमा आइपरेको छ ।

अन्तमा, काङ्ग्रेसलाई सक्षम पार्टी बनाइ उँभो लैजाने हो भने शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई बिदा गर्नैपर्छ काङ्ग्रेसजनले । अब उहाँहरू दुवैले पार्टीको जिम्मेवारीबाट विश्राम लिनैपर्छ । नयाँ उर्जावान सक्षम ब्यक्तिले काङ्ग्रेसको बागडोर सम्हाल्नु पर्छ । यो आम शुभचिन्तकको चाहना पनि हो, जसले काङ्ग्रेस फेरि हराभरा भएको देख्न चाहन्छन् ।