आफ्नो औचित्य समाप्त गर्दै राजनीतिक दलहरू !

आफ्नो औचित्य समाप्त गर्दै राजनीतिक दलहरू !


■ दामोदर पौडेल

राजनीतिक दलको औपचारिक अन्त्य कि प्रतिबन्धबाट हुन्छ कि त दल नै जनताबाट टाढा भएर हुन्छ । यस्तै, नयाँ विचार आएर पनि दलको अन्त्य हन सक्छ या त नेताहरू अत्यन्त भ्रष्ट तथा जनविरोधी भएर पनि यस्तो हुन्छ । त्यो दलले अवलम्बन गरेको विचारको औचित्य समाप्त भएर पनि हुन्छ वा नयाँ विचारमा समाहित हुन नसकेर दलको बिसर्जन हुन्छ त्यस्तै विचार भएको अर्को दलको राम्रो प्रभावको कारणले पनि हुन्छ, अर्को दलमा मिलेर हुन्छ, स्वार्थको लागि वा विवेक नपुगेर गलत संगत भएर पनि हुन्छ, कि तिनै उल्लिखित अवस्थामा विघटन गरेको कारणले हुन्छ । जनतामा कुनै विचारको राम्रो प्रभाव हुने आधार छ र त्यो आधार कायम छ भने कुनै विचार लिएको राजनीतिक दलको अन्त्य भएछ भने पनि त्यो विचार जनतामा बाँचिरहन्छ । विचार लिएका मानिस कुनै पनि समयमा दलको नाममा वा कुनै नाममा गोलबन्द हुन्छन् । मानसिक रूपमा विचारले निकास खोजिरहेको हुन्छ ।

लोकतन्त्र र समाजवादको मुख्य आधारको औचित्य समाप्त हुने अवस्था छैन त्यसैले नेपाली भूमिमा वा विश्वमा नै यो विचारको अन्त्यको सम्भावना छैन । बीपीले भनेका नै थिए कि साम्यवादमा लोकतन्त्र थपिदिए समाजवाद हुन्छ ! लाग्दो हो– साम्यवाद नै आएपछि कता समाजवादमा फर्कने ? तर, त्यसो होइन । साम्यवाद लक्ष्य हुन सक्दैन, रणनीति हुन सक्छ र लक्ष्य नै त समानता, विकास र शान्ति, लोकतन्त्र तथा बहुलवाद हुन सक्छ । बहुलवाद र लोकतन्त्रलाई पनि लक्ष्यको ऐना मात्र भन्न पनि सकिएला । कसैको लक्ष्य पुँजीवादको आधारमा विकास र समानता हुन सक्छ । कसैले कुनै विचार र धर्मको लागि मात्र स्थान दिने लक्ष्य लिएको हुन सक्छ । अर्थ–राजनीतिक कुरा नै गर्दा पनि साम्यवादबाट भन्दा बढि समानता गैरसाम्यवादी विचारको आधारमा हुने भएमा के गर्ने ? बीपी त्यसैले समानताको विषयमा निरपेक्ष थिए ।

शान्तिमा आधारित भएर आए कुनै नामले पनि जनतालाई समानता र विकास आए हुन्छ तर त्यसलाई देखाउने निष्पक्ष ऐना भने चाहिन्छ । समानता, विकास तथा शान्तिको लागि लोकतन्त्र र बहुलवाद रणनीति, विचारधारा र लक्ष्य तिनै विषय हो । बहुलवाद र लोकतन्त्रको माध्यमबाट लक्ष्यतिर गए–नगएको र जनताको पक्षमा काम भए नभएको जानकारी हुन्छ । जति राम्रोसँग लोकतन्त्र र बहुलवाद विकसित हुन्छ त्यति नै समाजसापेक्ष विचार आउन सक्ने वातावरण बन्दछन् । समाजसापेक्ष विचारलाई लोकतन्त्रको माध्यमबाट ठिक किसिमले लागु गर्न सकिन्छ । सधैं आर्थिक लक्ष्यलाई प्रष्ट पार्ने हुँदा यो लक्ष्य पनि हो र सबै लक्ष्यमा पुगे–नपुगेको थाहा दिने र पुग्नको लागि सहयोग गर्ने हुुँदा यो रणनीति पनि हो ।

गणेशमान सिंहले असल मानिस कम्युनिष्ट हुन सक्ने तर कम्युनिष्ट भएपछि असल नरहने उल्लेख गरेका थिए । उनको भनाइको आशय प्रष्ट छ । कम्युनिष्ट विचारको विजय भएपछि सबैले सुख पाउँछन्, उचनिच हुँदैन, सबैको हैसियत समान मानवको जस्तो हुन्छ, अझ राम्रा विचारहरूलाई सजिलैसँग जनताको हितको लागि आत्मसात गर्न सकिन्छ भनेर नै त मानिसहरू पहिला कम्युनिष्ट पार्टीमा लाग्ने गरेका थिए ।

बीपीले साम्यवाद लोकतन्त्रको माध्यमबाट आउँछ र लोकतन्त्रकै आधारमा बाँच्छ भने जनताबाट बारबार अनुमोदित भइरहने हुँदा आत्मसात गर्न सकिने बताएका हुन् । उनको साम्यवादप्रतिको शर्तयुक्त आस्था आर्थिक साम्यवाद हो र राजनीतिक साम्यवाद लोकतन्त्रवादीको लागि स्वीकार्य हुँदैन । गणेशमान सिंहले असल मानिस कम्युनिष्ट हुन सक्ने तर कम्युनिष्ट भएपछि असल नरहने उल्लेख गरेका थिए । उनको भनाइको आशय प्रष्ट छ । कम्युनिष्ट विचारको विजय भएपछि सबैले सुख पाउँछन्, उचनिच हुँदैन, सबैको हैसियत समान मानवको जस्तो हुन्छ, अझ राम्रा विचारहरूलाई सजिलैसँग जनताको हितको लागि आत्मसात गर्न सकिन्छ भनेर नै त मानिसहरू पहिला कम्युनिष्ट पार्टीमा लाग्ने गरेका थिए । जब पार्टीमा लागिन्छ त्यसपछि पार्टीमा पार्टीका लक्ष्यहरू, तिनलाई पूरा गर्न गरिनुपर्ने कार्यहरूको बारेमा दीक्षा दिन थालिन्छ र ती दीक्षाहरूमा पहिला नै मार्क्स, लेनिन, स्टालिन, माओ आदिले उनीहरूका समयमा भनेका विचारलाई नै मुख्य आधार मानिन्छ ।

विचारमा लागेपछि त्यो विचारको पक्षमा तर्क दिँदै आँखा चिम्लेर लाग्ने हरेक विवाद र निर्णयमा उनीहरूका प्राधिकारहरूले दिएका भनाइहरूबाट पुष्टि गर्ने प्रचलनले क्रमशः उनीहरूको ब्रेनवास हुन जान्छ । कम्युनिष्ट बने पछि यो विचारमा नलाग्नेहरू शत्रु हुन् भन्नेजस्तो पनि लाग्न थाल्छ । लक्ष्य पूरा गर्न मानिस मार्ने, विकासलाई तहसनहस पार्ने, नराम्रो नै गरे पनि त्यो राम्रो लक्ष्यको लागि हो भनेर या त जनतालाई नै भ्रम दिने वा आश र त्रासको आधारमा गोलबन्द गर्ने काम हुन्छ । पहिला चोरी गर्न हुँदैन भनेर संगठित हुने र लक्ष्य पूरा गर्न चोरी पनि गर्नुपर्ने भयो भनेर चोरी गर्न लगाउने, चोरी गरेपछि वा मानिस मारेपछि वा यस्तै अरु गरेपछि अपराध लुकाउन त्यसैमा रहेर जनतालाई भ्रम दिने कार्य हुन्छ । कहाँसम्म भने, ‘मेरा नेताले सम्पत्ति कमाएर के भयो त ? उनले चाहिँ आफ्नो परिवारलाई हेर्नु परेन ? पूरा समय देश र जनताको लागि उहाँले दिन पाउनुभयो । उहाँले प्रयोग गरेको सम्पत्ति पनि त भोलि हामीहरूको लक्ष्य पूरा भएपछि देशकै हो नि ! नाम मात्र त उहाँको हो नि । उहाँले त जनताको हितको लागि काम गर्ने क्रममा उपभोग मात्र गर्नुभएको हो’ भन्ने तर्क दिएको पनि पाइयो । कहाँ गयो दि क्लासिफिकेसन, कहाँ गयो जनताबाट सियो पनि नलिनु भनेका आदर्शहरू ? ती आदर्श रटान गर्नेहरूले गरेका ब्यवहार र प्रविधि तथा समयको परिवर्तनको नियमलाई बुझ्न नसक्दा साम्यवादी लक्ष्यको नाममा भएका आन्दोलनहरू जनताका दुःखका मात्र कारण बने ।

उत्तर कोरियाका नेता किम इल सुङका नाति राजा जस्तै भए र उनलाई खाना बढि खाएर हुने रोग लागेको छ भने उनका जनतालाई सुकेनासले गाँजेको छ । भारतले हालै १० लाख डलर बराबरको औषधि पठाएको छ । साम्यवादको यात्रा कहाँ पुग्यो त ?

कम्युनिष्टहरूका पुराना ब्यवहारले गणेशमान सिंहको निष्कर्षलाई बल नै पुग्ने कार्य गरेको हो । हुन पनि उत्तर कोरियाका नेता किम इल सुङका नाति राजा जस्तै भए र उनलाई खाना बढि खाएर हुने रोग लागेको छ भने उनका जनतालाई सुकेनासले गाँजेको छ । भारतले हालै १० लाख डलर बराबरको औषधि पठाएको छ । साम्यवादको यात्रा कहाँ पुग्यो त ? यो अवस्थाबाट नेपाल अछुतो छ कि छैन ? कसैले पनि लोभले वा रिसले सत्यको विपक्षमा जान हुँदैन र यसले तपाइँलाई नभए तपाइँका सन्तान–दरसन्तानलाई दुःख दिन्छ । भनिन्छ कि सुगाहरू पाँसोमा पर्दा पनि आँखा तेज भएकोले पाँसो देख्छन् तर मिठो आहारको लोभमा र भोगमा खान पुग्छन् अनि समातिन्छन् । राजनीतिमा गलतबाट फर्किए झनै अँध्यारो छ (मारिने समेत), बरु पिँजडामा नै बस्ने अवस्था आउँछ र उनीहरूका सन्तान पनि पुर्खाको गल्ती र लोभले पिँजडाका भागी बन्दछन् ।

अमेरिका समेतमा दासप्रथाको अन्त्य भयो । दासहरू काला जाति नै थिए । केही दासताबाट मुक्ति पाएकाहरूलाई लाइबेरियामा बसाइयो । उनीहरूले त्यहाँका स्थानीय कालाहरूलाई पनि आफूप्रति अमेरिकीहरूले जस्तो ब्यवहार गर्थे त्यस्तै ब्यवहार गर्न थाले । नेपालमा राणा शासन, पञ्चायत तथा राजाको शासन हट्यो तर ब्यवहार भने यथावत आयो । रुस, चीन, उत्तर कोरियाका मात्र होइन नेपालका समेत हिंसात्मक गतिविधिमा लागेकाहरूलाई मात्र किन दोष दिने ? के रुस, चीन, कोरिया र नेपालमा पनि गैरकम्युनिष्ट नेताहरू र हिंसाविरोधी कम्युनिष्टहरूले समेत सत्तामा रहँदा उदाहरण बनेर जनताको मन जित्ने अवसर पाएका थिएनन् र ? किन जनता उनीहरूबाट वाक्क भए ? हिंसाको दोष माओवादीलाई जाला तर त्यसको लागि कांग्रेस–एमाले समेतका गलत कार्य र जनतालाई दास सम्झने राम्रो गर्न सकिनेमा समेत नगरेका ब्यवहारहरू पनि कम छैनन् ।

नेता र दलका परिवर्तनका एजेण्डा पूरा हुनै नसक्ने हुन् भने अझै दुःखको लागि किन उनीहरूको गलत बाटोको पछि लाग्ने ?

दलहरूले जुन विचार लागु गर्दछौँ भनेका छन् त्यो विचार लागु गरेनन् । आफू असल लक्ष्यको उदाहरण पनि बन्न सकेनन् । जनता र नेताको सम्बन्ध पानी र माछाको जस्तो हुनु पर्दछ भनियो तर माछा र माछाको जस्तो भयो, ठूलो माछाले सानो माछालाई खाने ! नेताले कार्यकर्तालाई केही दिने तर धेरै आशामा बाँच्न सिकाउने, कार्यकर्ताले जनतालाई भाषण दिने र जनतालाई केही नदिएर पनि आपसमा दुश्मन बनाउने जस्तो बनाए । बिचरा जनता टोल–टोलमा दलको नाममा लड्छन् तर झगडा भएपछि प्रहरी कार्यालयमा गएर थुनाबाट छुटाउने कामसमेत नेताहरूले मुस्किलले गर्दछन् । के लोकतन्त्र आएको यसैको लागि हो ?

विचार, ब्यवहार र उदाहरणको आधारमा राजनीतिक दलहरूले आफ्नो हैसियत गुमाएका छन् । नेताहरू न उदाहरण बन्न सके न समाजको उन्नतिका लागि केही गर्न सके । यस अर्थमा वैचारिक र ब्यवहारिक रुपमा उनीहरूले लिएको लक्ष्य पूरा नभएपछि उनीहरूको पछि कति लाग्ने हो ? उनीहरूको वास्तवमा औचित्य समाप्त भएको महसुस गर्ने होइन ?

त्यसैले उत्तम मानिसहरूले सोच्नु पर्दछ कि जुन परिवर्तन गर्न सकिँदैन त्यसलाई केही सुधार गरेर आत्मसात गरौँ, जुन परिवर्तन हुन सक्दछ त्यसलाई परिवर्तन गरौँ र ती पक्षलाई विवेकपुर्ण किसिमले परख गर्न सकौँ । नेता र दलका परिवर्तनका एजेण्डा पूरा हुनै नसक्ने हुन् भने अझै दुःखको लागि किन उनीहरूको गलत बाटोको पछि लाग्ने ? अर्थात्, धेरै विकल्पमध्ये एउटा अलग विकल्प चुनावमा असल मानिस छानौँ भन्ने पनि हुन सक्ला ।