सबैले खोजेकाले सुख टाढा !

सबैले खोजेकाले सुख टाढा !


■ देवप्रकाश त्रिपाठी

मानव सृष्टिले निरन्तरता प्राप्त गर्ने आशा अभ्यस्तले मारिसकेको छ । पूर्वमान्यताहरूबाट प्रभावित आमा निराकारको धारणामा कुनै परिवर्तन नआएकोले मात्र होइन, माछासँगको दुःखद् घटनाका कारण ऊ आफैलाई पनि पीडाबोध भइरहेछ ।

हरेक बढ्ने वस्तुले आकाश ताक्छ र खस्नेले खाडल । त्यो बिरूवा होस् या मानिस, पानी या पत्थर एउटै विशेषता हुन्छ सबैको । उमेर आकाशै ताक्ने हो अभ्यस्तको, तर परिस्थितिको दास बनेको छ ऊ, विद्रोह गर्न असमर्थ छ ।

हुन त उसले विद्रोह पनि कोसँग गर्ने ? एउटी निरीह आमासँग यति तुच्छ विद्रोह गर्न ऊ चाहँदैन ।

प्रलयपूर्वको बाल्यकालका कैयन याद ऊसँग छन् । ऊ थाहा पाउने हुँदा उसका पिताजी छिमेकमा मरेकाहरूको शवदहन गर्न बाहिर जान्थे, दिनहुँ छरछिमेकमा मानिस मरिरहेकै हुन्थे । हरेक दिनजस्तै अभ्यस्त आफ्नी आमालाई सोध्थ्यो– ‘बाबा खोइ ?’ र, हरेक दिन उसले आमाबाट जवाफ पाउँथ्यो– ‘मरेका मान्छेको अन्त्येष्टिमा जानुभएको छ ।’

त्यसबेला प्रलयको पृष्ठभूमि तयार हुँदै थियो । दिनहुँ कुनै न कुनै निहुँले मानिस मरिरहेका हुन्थे, बाँच्नेहरूमध्येका सबैजसोको मुख्य काम नै शवदहन गर्नु हुन्थ्यो । यसरी बाबाको बारेमा जहिल्यै सोध्दा पनि मरेका मानिस जलाउन जानुभएको भन्ने जवाफ पाइरहेपछि अभ्यस्तले एक दिन आमासँग जिज्ञासा राखेको थियो– ‘अनि आमा, हामीचाहिँ कहिले मर्ने त ?’

अभ्यस्तको मृत्युप्रतिको निर्दोष जिज्ञासा सुनेर पहिले निराकार खब हाँसिन्, तर पछि निकै गम्भीर हुँदै उनले भनेकी थिइन्, ‘परमेश्वरले जहिले चाहन्छन् ।’

अहिले निराकारको त्यही परमेश्वरले उनीहरू दुई जनालाई बचाइदिएको छ । अभ्यस्त सोच्छ– ‘साँच्चै हामीलाई परमेश्वरले बचाइदिएका होलान् त ? कि संयोग मात्र हो हाम्रो जीवन ?’

निराकार खाना बनाउँदै छिन् घरभित्र । अभ्यस्त आँगनको डिलमा उम्रिएको कदमको छहारीमा सुतेर आफ्नो बाल्यकाल स्मरण गर्दै छ । बालसुलभ मस्तिष्कमा परमेश्वरबारे परेको प्रभावले आज उसलाई झकझक्याउँदै छ । यदि परमेश्वरले हामीलाई बचाएका हुन् भने यी परमेश्वरबारे आमालाई थाहा पनि होला, मैले एकपटक परमेश्वरका बारेमा कुरा गर्नैपर्छ, उसले अठोट गऱ्यो । त्यति नै बेला निराकार घरबाट बाहिर निस्किन् र अभ्यस्तलाई खानाका लागि भित्र आउन भनिन् ।

ऊ घरभित्र प्रवेश गऱ्यो । उनीहरूले सदाझैँ सँगै खाना खाए । भोजनपश्चात् अभ्यस्तले प्रश्न गऱ्यो, ‘आमा, कुनै दिन तपाईंले मलाई परमेश्वरका बारेमा केही भन्नुभएको थियो, याद छ ?’

‘के भनेकी थिएँ छोरा ?’

‘परमेश्वरले चाहुन्जेल हामी बाँच्छौँ भन्नुभएको थियो ।’

‘हो, भनेकी थिएँ ।’

द्दकहाँ छन् ती परमेश्वर ?’

‘कहाँ छन् कहाँ, उतिबेला पृथ्वीका अर्बौं मानिसले खोज्दा पनि नभेटेका, कहिल्यै नभेटिएका, त्यस्ता परमेश्वरको ठेगाना म कसरी बताउन सक्छु र बाबु ! त्यो त एउटा विश्वास हो । एउटा विश्वासबाहेक थप अरू केही हो भने मलाईचाहिँ थाहा भएन ।’

‘कसैले देखेका थिएनन् परमेश्वरलाई ?’– अझै जिज्ञासु बन्यो अभ्यस्त ।

‘थिएनन् । एउटा विश्वास मात्र हो परमेश्वर ।’

‘कसैले कहिल्यै नदेखेको कुरामा यति ठूलो विश्वास ?’

‘हो बाबु, धेरैले देखेको भन्दा नदेखेको कुरामा बढी विश्वास गर्थे । धेरैलाई परमेश्वरमाथि विश्वास थियो ।’

‘तर सङ्कटका बेलामा ती नदेखिएका परमेश्वरको कुनै काम आएन कसैलाई ?’

‘त्यो त आएन ।’

‘त्यसो भए के हो त यो परमेश्वर ?’

‘यत्रो सृष्टि चलिरहेको छ, विनाश पनि एउटा स्वाभाविक प्रक्रिया हो सिर्जनाजस्तै । सृष्टिको सत्ता होला, सृष्टिलाई नियन्त्रण र निर्देशन गर्ने पनि केही वा कोही होलान् भन्ने आशा, अनुमान र विश्वासको आधारमा ईश्वर, परमेश्वरको परिकल्पना गरिएको हो ।’

‘त्यसो भए नदेखिएको, नचिनिएको, अमूर्त तत्त्व हो ईश्वर ?’

‘हो, एकदम ठीक हो । यही कारणले मानिसहरू विभाजित थिए पृथ्वीमा । सबभन्दा ठूलो मत विभाजन नै यही ईश्वर र भगवानका नाममा भएको थियो । कति मानिस एउटा निश्चित आकारका ईश्वरमा विश्वास गर्दथे भने कतिपयचाहिँ आकारविहीन ईश्वरलाई मान्दथे । ईश्वर र भगवानका आधारमा मानिस विभिन्न समुदायमा नै मानिसबीच कोरिएको सबभन्दा ठूलो र स्थायी प्रकृतिको विभाजन थियो । ईश्वरको अस्तित्व अस्वीकार गर्नेहरू प्नि थिए । नित्सेजस्ता दार्शनिक, उनले चाहिँ ईश्वर मरिसकेको घोषणा गरेका थिए । नित्सेको कालपछि पनि ईश्वरको अस्तित्व स्वीकारमा कुनै कमी आएन । चार्वाकभन्दा धेरै पछि मार्क्स नामका विचारकले पदार्थवादी विचार अघिसारेर सिङ्गै पृथ्वीलाई भौतिकवादी बनाउने प्रयास गरेका थिए । उनको द्वन्द्वात्मक भौतिकवादी वैचारिक आधारमा धेरै मुलुकमा राजनीतिक सत्ता स्थापना पनि गरिएको थियो । कालान्तरमा ती कहीँ टिकेनन् । बहत्तर वर्षसम्म सोभियत सङ्घ नामक मुलुकमा मार्क्सवादमा आधारित शासन चल्यो, तर त्यो शासन ढलेका दिन लाखौँ मानिस गिर्जाघर र मस्जिदमा ईश्वरको प्रार्थना गर्न पुगे । जुन मुलुकका जनतालाई ईश्वरबारे कहिल्यै सकारात्मक कुरा बताइएको थिएन । बहत्तर वर्षसम्म जसले भौतिकवादमा आधारित सिद्धान्त, विचार, दर्शन मात्र पढेका थिए, मौका मिल्नेबित्तिकै ती गिर्जाघर र मस्जिद किन पुगे– यो जहिले पनि प्रश्नका रूपमा रहिरहेको छ । कतै मानिसभित्रै ईश्वरको एउटा प्रत्येय भएर पो यस्तो भएको हो कि जस्तो पनि लाग्छ मलाई ।’ निराकारले ईश्वरप्रतिको आफ्नो धारणा स्पष्ट पारिन् ।

‘ईश्वरको अस्तित्वबारे विशेष अध्ययन, अनुसन्धान या चिन्तन–मनन भएनन् आमा ?’– अभ्यस्तको भोक अझै मेटिएको छैन, फेरि प्रश्न अघिसाऱ्यो उसले ।

निराकारले भनिन्, ‘सायद सबैभन्दा गहिरो चिन्तन मानिसहरूले यही विषयमा गरे । ईश्वर, सृष्टि, जीवन आदिलाई विषय बनाएर अनेकौँ दार्शनिकले गम्भीर चिन्तन गरेका थिए, खासगरी पूर्वीगोलार्द्धका दार्शनिकहरूले । साङ्ख्य, चार्वाक, मिमांसा, वेदान्त, न्याय, वैशेषिक आदि दर्शन यही चिन्तनका उपज थिए । कृष्ण, गौतमबुद्ध, महावीर मोहम्मद, कन्फ्युसिएस आदिको नवीन विचार–दर्शन विद्रोह मात्र थिएन एउटा गम्भीर चिन्तनकै उपज थियो । मानव सृष्टिको आदिकालदेखि नै सबैभन्दा खोजी भएको तर कहिल्यै नभेटिएको कुनै तत्त्व छ भने त्यो ईश्वर हो ।’

‘अरू के छ त्यस्तो खोजिएको तर कहिल्यै नभेटिएको वस्तु आमा ?’

‘त्यस्तै धेरै कुराहरू छन् । प्रलयपूर्व पृथ्वीमा मानिसको सङ्ख्या दस अर्बभन्दा बढी पुगेको थियो । तर खोजेर कहिल्यै नभेटिएको एउटा सन्तुष्ट मानिस पनि हो । जो जहाँ थिए, ती त्यहाँ असन्तुष्ट थिए । मैले यसबारेमा तिमीलाई अलि विस्तृत रूपमै बताउनुपऱ्यो, तिमीलाई दिक्क लागेको त छैन ?’

‘छैन आमा, कृपया बताइदिनुहोस् न ।’

छोराको उत्साहपूर्ण जिज्ञासाले निराकारलाई थप बोल्न प्रेरित गऱ्यो । उनी धाराप्रवाह बोल्न थालिन् ।

‘मानिसमा व्याप्त एउटै समान गुण के हो भने सबै मानिसहरू ‘उचाइ’ प्राप्त गर्न चाहन्छन् । पद–प्रतिष्ठाको उचाइ, धनको उचाइ, नामको उचाइ र आनन्दको उचाइ प्राप्त गर्ने लालसा हरेक मानिसमा हुन्छ । मानिसमा मानसिक स्तरको सर्वाधिक महत्व रहन्छ । एउटा श्रमिक मानसिकताको मान्छे संसारको जुनसुकै शहर या गाउँमा पुगे पनि कामको खोजी गर्छ, एउटा मगन्तेलाई जहाँसुकै जाने अवसर मिले पनि उसले माग्न छोड्दैन, एउटा शासक मानसिकताको मानिस जुनसुकै ठाउँमा पुगे पनि नेतृत्व लिने प्रयास गरिहाल्छ । मान्छेको मानसिकताले नै उसको आफ्नो छवि र हैसियत निर्धारण गर्दछ । प्रलयपूर्व पृथ्वीको आवरण मानिसहरूद्वारा लटरम्म ढाकिएको थियो । सबैको चाहना उचाइ प्राप्त गर्नु मात्र थियो । सबै एक्लाएक्लै थिए, आफू एक्लैलाई सर्वाधिक पूर्ण र महत्वपूर्ण ठान्थे तर कुरा अरूको महत्त्वको गर्थे । अरूहरूको महत्वको कुरा गरिरहँदा पनि मानिस आफ्नै महत्त्व बढेको या बढाइएको ठान्थे । किताब लेख्नेहरू लेखकीय क्षमताका कारण आफूलाई अन्यभन्दा अब्बल दर्जाका ठान्थे भने पढ्नेहरू चाहिँ कसैको किताब पढेका कारण आफ्नो उपादेयता या महत्त्व बढेको भन्ने सोच्थे । तथापि पृथ्वीको जुनसुकै भू–क्षेत्रमा पनि मानिसलाई आर्थिक सम्पन्नताका आधारमा मूल्याङ्कन गरिन्थ्यो । आर्थिक रूपमा मानिसलाई वर्गीकृत गरेर बुझिन्थ्यो उच्च, मध्यम र निम्न । यी तीन वर्गलाई पनि अति उच्च र उच्च, उच्चमध्यम, मध्यम र निम्नमध्यम तथा निम्न र अतिनिम्न आदि रूपमा मानिसको सामाजिक पहिचान बन्ने गर्दथ्यो । यसमा सबभन्दा रोचक पक्ष के देखिन्थ्यो भने अति उच्च भनिने र सबभन्दा निम्न तहका मानिसमा सोचको तह एकै स्तरको देखिन्थ्यो । धर्म, संस्कृति, परम्परा, राज्यको सीमा, सामाजिक निर्देशन या नियन्त्रणजस्ता प्रश्नमा उच्च तहका मानिस निष्पृह थिए । धनको उचाइका कारण उनीहरू सर्वाधिक आनन्द भोग गर्न पाइने सुरक्षित स्थानलाई आफ्नो ठान्थे या आफ्नो बनाउने इच्छा राख्थे । जहाँ आनन्द हुन्छ, जहाँ मस्ती हुन्छ, जहाँ सुरक्षा हुन्छ त्यसैलाई घर ठान्ने हुँदा उनीहरूको निम्ति देशको सीमा आफ्नो आकाङ्क्षाका अघिल्तिर गौण हुन्थ्यो । निजी खुसी प्राप्तिका निम्ति धर्म, संस्कृति, परम्परा, राज्य हरेक चिज सजिलै त्याग्न सक्ने प्रवृत्ति उनीहरूमा हुन्थ्यो ।’

‘ठीक यस्तै मानसिक तह अति विपन्न समूहका मानिसको पनि हुन्थ्यो । धर्म, परम्परा, संस्कृति, सामाजिक मूल्यमान्यता र राज्यको सीमाभन्दा आफ्नै जीवन गुजारा महत्त्वपर्ण भएको हुँदा उनीहरू त्यस्ता कुनै पनि बन्धन या नियन्त्रणबाट पूर्ण मुक्त थिए । जहाँ खुसी भेटिन्छ त्यहाँ पुग्ने र पुग्दै जाँदा देश छुटे पनि कुनै सरोकार या चिन्ता नराख्ने प्रवृत्ति हुने हुँदा उनीहरूमा कुनै प्रकारको ग्लानिभाव कहिल्यै देखिँदैनथ्यो । जसरी धनाढ्य मानिस पृथ्वीको कुनै पनि भागलाई आफ्नो बनाउन सक्छु भन्ने ठान्थे त्यसैगरी एउटा धनहीन मानिसमा पनि पृथ्वीमा जहाँ आफूलाई राम्रो हुन्छ त्यही आफ्नो ठाउँ भन्ने धारणा हुन्थ्यो । जन्मेको ठाउँ छुट्यो, धर्म छुट्यो, समाज छुट्यो, परम्परा र संस्कृति छुट्यो या हुर्के–बढेको ठाउँ छुटेकोमा कुनै प्रकारको पीडा उनीहरूमा हुँदैनथ्यो । खुसी र आनन्दको प्राप्ति जहाँ हुन्छ त्यसैलाई आफ्नो ठान्ने हुँदा समाजविशेष, देशविशेष या धर्म–संस्कृतिविशेषमा अल्झिएर बाँच्ने प्रवृत्ति धनाड्यहरूमा देखिँदैनथ्यो । त्यसैले मध्यमवर्गीय भनिने मानिसको मात्र देश, समाज, पद–प्रतिष्ठा, धर्म संस्कृति आदि कुराहरूसँग निरन्तर लगाव रहन्थ्यो । सबैभन्दा माथि पुगेका र सबभन्दा तल रहेका मानिसबीचको सोचको समानता यस्तो लाग्दथ्यो– दुई अवस्था भनेको मानौँ एकै हो । ग्रिनल्यान्ड वा नर्वेको उत्तरीखण्डमा उभिनेको टाउको पनि माथि आकाशमै र चरम दक्षिणी ध्रुव अन्टार्कटिकामा उभिनेको पनि टाउको आकाशतिर नै परेको हुन्छ भनेझैँ एउटा महाधनी र एउटा योगी–फकिर या सर्वहाराबीच सोचको समानता देखिन्थ्यो । तर, मध्यमवर्गीय भनिने मानिसको जीवन भने यति जटिल थियो कि उनीहरूका निम्ति हिँड्नु, बोल्नु, कर्म गर्नु–नगर्नु हरेक कुरा निश्चित मूल्य र मान्यताबाट निर्देशित हुन्थे । जीवन आफैमा रहस्यमयी र जटिल त छँदैछ, मध्यमवर्गीय मानिसले जीवनलाई यति जटिल बनाएका हुन्थे कि ब्रह्माण्डको जटिलता गौण बनेको भान हुन्थ्यो ।’

‘मानिसहरू राजा बन्थे, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री आदि बन्थे । अर्बपति, करोडपति, भूमिपति, उद्योगपति पनि बन्थे । कति. कलाकार, पत्रकार, वकिल, डाक्टर र प्राध्यापक आदि बन्थे, तर जो जे बने पनि स्थायी सन्तुष्टिको भावनाचाहिँ कहिल्यै कसैमा प्रकट भएको पाइन्नथ्यो ।’

‘प्राणीमध्येमा बुद्धि र विवेकको मात्रा बढी हुन्छ भन्ने ठानिएकोले हो या मानिसले मानिसको सराहना गर्नुपर्छ भन्ने मानवीय भावनाका कारणले हो मान्छेको जीवनलाई तुलनात्मक रूपमा उत्तम मानिन्छ । तर, शारीरिक अवयवहरूले सज्जित एउटा सग्लो मान्छे आकारप्रकारले मान्छे भए पनि विवेक र बुद्धिको अभाव छ भने उसलाई पूरा मानव स्वीकार्न कठिन हुन्छ । स्वभाव र गुणका आधारमा मानिस अनेकौँ कोटिका हुन्छन् । ज्यादा हिंश्रक र अहंकारी स्वभावको मानिसलाई दानव या दैत्यका रूपमा चित्रण गरिन्छ भने स्वभावकै आधारमा विभाजित गरेर हेर्दा कोही स्यालजस्ता कोही मत्ता हात्तीजस्ता, कोही गधाजस्ता, कोही कुकुरजस्ता, कोही साँढेजस्ता मानिस हुन्थे यहाँ । मानिसबाहेकका अन्य जति पनि चेतनायुक्त प्राणी छन्, स्वभावले ती सबैजस्ता प्राणी हामी पाउन सक्दारहेछौँ । यति मात्र होइन, भगवानजस्ता मानिस पनि पाइन्थे खोज्दै जाँदा, तर यहाँ एउटा यस्तो मानिस भेट्न मुस्किल भयो जसको खोजी जारी छ, सायद धरामा मानिसको अस्तित्व जीवित रहेसम्म त्यस्तो एउटा मान्छेको खोजी जारी रहनेछ, जो पूरै सन्तुष्ट र खुसी होस् ।’

‘त्यसबेला धर्तीमा जो भेटिन्थे दुःखी र असन्तुष्ट नै भेटिन्थे । उचाइ प्राप्त गरेपछि अर्थात् उचाइमा पुगेपछि पनि दुःखी नै रहनुपर्छ, असन्तुष्ट नै रहनुपर्छ र समस्याग्रस्त एवम् तनावग्रस्त नै होइरहनुपर्छ भने त्यो अवस्थामा पुग्न मरिमेट्ने किन ? विवेक पाखा लगाएर मानिसलाई नै कुल्चँदै र लछार्दै अघि बढ्ने किन भन्नेजस्ता प्रश्नहरू मानसपटलमा उत्पन्न हुन्थे । भन्नलाई असन्तुष्टि नै गतिशीलताको स्रोत हो, प्रेरणा हो भनिन्थ्यो, तर जुन अवस्थामा पुगे पनि तनाव समस्या, दुःख र असन्तुष्टिको चाप उत्ति नै रहिरहन्छ भने खुसी र सन्तुष्टि आफ्नै परिवेशमा किन नखोज्ने भन्ने प्रश्न उत्पन्न हुनु स्वाभाविक थियो । ग्रहण गर्न सकियो भने सन्तुष्टि या खुसी आफ्नै वरिपरिबाट गुज्रिरहेका हुन्छन् । ग्रहण गर्न नसक्नु मानिसको आफ्नै कमजोरी हो । यस सन्दर्भमा नेपाली दार्शनिक रूपचन्द्र विष्टलाई स्मरण गर्नु उचित देखिन्छ । काठमाडौं नामक शहरको कालिमाटीस्थित मुख्य सडकमा विष्टको भव्य घर थियो । उक्त भवनको अगाडिपट्टि ड्रमका पाताहरूले छाएको एउटा झुपडी उहाँले खडा गर्नुभएको थियो र उहाँ त्यसमै खाने, बस्ने र सुत्ने गर्नुहुन्थ्यो । त्यसरी महललाई साक्षी राखेर झोपडीमा बस्नुको कारणबारे जिज्ञासा राख्दा उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘सबै मानिसहरू खुसी खोज्छन्, सन्तुष्टि खोज्छन्, सबैले खोजेको भएर होला त्यो सुख र खुसीचाहिँ गमक्क परेको छ र मानिसको वरिपरि नै पर्न चाहँदैन । त्यसैले यो गमक्क परेर बसेको खुसी र सुखलाई मैले बेवास्ता गरेँ, खोज्दै खोजिनँ । अब मेरो नजिक खुसी आफै आइरहेको छ । हामी सबैले दुःख खोज्यौँ भने बाध्य भएर हाम्रोछेउ सुख आइहाल्थ्यो । सबैले खोजेको भएर मात्र सुख टाढा भएको हो ।’

‘त्यस्तै यहाँ अर्को एउटा कहावत उल्लेख गर्नु पनि सान्दर्भिक देख्छु म । कुरा हाम्रै समाजको हो । एउटा समृद्ध गाउँमा एक जना बाबु र छोरा बस्ने गर्दथे । उनीहरू एकअर्काका लागि संसारमा सबभन्दा महत्वपूर्ण एकअर्का नै थिए । र, दुवैमा खुव प्रेम थियो । उनीहरूले एकअर्काबिना बाँच्न सक्ने कल्पना पनि गरेका थिएनन् । दिनहरू प्रेममय वातावरणमा बितिरहेका थिए । त्यस्तैमा एक दिन बाबुचाहिँको देहान्त भयो । संसारको सबभन्दा ठूलो, महत्त्वपूर्ण र मायालु मान्छेको निधन हुँदा त्यो छोरालाई कति चोट पर्यो होला, कति दुःख भयो होला, अनुमान गर्न सकिन्छ ।’

‘जतिसुकै मायालु र महत्त्वपूर्ण भए पनि आखिर दाहसंस्कार त गर्नैपर्थ्यो । अन्त्येस्टिका लागि बाबुको लास बोकेर मलामीहरू छोराका साथ घाटतर्फ लागे ।’

‘छोराचाहिँ डाँको छोडेर रोएको रोयै छ । कसैले सम्झाउँदा पनि मानिरहेको छैन । आखिर संसारको सबभन्दा ठूलो कुरा गुम्दा नरूनु कसरी ? दुःखी नहुनु किन ? लासलाई घाटमा पुऱ्याइयो । अब छोराले परम्पराअनुसार दागबत्ती दिनुपर्ने भयो । उसले रूँदै लाइटर हातमा लियो र आगो पार्न खोज्यो । लाइटर बलेन । यसरी उसले बीसौँ प्रयास गर्दा पनि लाइटर बलेन । अब उसले आफ्नो पिताको निधनका कारण भएको दुःख बिर्सियो, लाइटर नबलेका कारण धेरै दुःखी भयो । अर्थात् उसको दुःखको कारण बदलियो । २१औँ पटक उसले पुनः प्रयास गऱ्यो, यसपटक लाइटर ह्वार्र बल्यो । लाइटरको ज्वालासँगै ऊभित्र पनि खुसी तरङ्गित भयो । उसको मुहारमा समेत खुसीको झलक देखियो । बलिरहेको लाइटर उसले अर्को एउटा बत्तीमा सल्कायो र उक्त बत्तीलाई मृतपिताको मुखतर्फ बढायो । बाबुतर्फ ध्यान मोडिनेबित्तिकै ऊ पुनः दुःखी भयो र रून थाल्यो । लाइटर बल्दा प्राप्त खुसीलाई उसले समेटेर राख्न सकेन ।’

‘खुसी आइसकेको हुन्छ तर मानिसमा त्यसको हेक्का नै हुँदैन या हेक्का भएछ भने पनि त्यस्तो क्षणलाई स्थायी बनाउने सामर्थ्य राख्नचाहिँ मानिस असफल छन् । कथाको पात्र छोराको सवालमा पनि यही भएको हो । मानिस खुसी समेट्न सक्दैनन् भने तिनले सन्तुष्टि प्राप्त गर्न सदा असम्भव छ । असन्तुष्टिले गति र प्रगतितर्फ प्रेरित गर्छ भने जीवनमा दुःखको कारण पनि असन्तुष्टि नै बनिरहेको हुन्छ । असन्तुष्टिले गति पैदा गर्छ भने सन्तुष्टिले शान्ति र स्थिरताको अवस्था सिर्जना गर्छ भन्नेतर्फ मानिसको ध्यान जान सकेन । ज्ञान, धन र मान नहुनेहरू दुःखी या असन्तुष्ट हुनु अस्वाभाविक होइन, हुनेहरू पनि असाध्यै दुःखी थिए । त्यसैले एउटा सन्तुष्ट मानिस, मानिसहरूबीच सधैं खोजीकै विषय बनिरहेको थियो ।’

आमा–छोराबीच यस्तै प्रश्नोत्तर चल्दाचल्दै रात पऱ्यो, अर्को उज्यालोको प्रतीक्षा गर्दै उनीहरू आफ्नो गुँडभित्र प्रवेश गरे । (क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस्–
मानव सृष्टिको जग बसाउन आमा-छोराबीच विचार-मन्थन