प्राधिकरणको गाडीसँग बगेका एकको मृत्यु, दुई जना बेपत्ता (अपडेट)

प्राधिकरणको गाडीसँग बगेका एकको मृत्यु, दुई जना बेपत्ता (अपडेट)


विशेष प्रतिनिधि, कपिलवस्तु

वाणगंगा नगरपालिकाको कोइलीखोलामा आएको बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । गाडीमा ६ जना सवार थिए, तीमध्ये तीनजनाले बाढीमा पल्टिएको गाडीबाट निस्केर ज्यान जोगाए ।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार खोलाले बगाएको जीप फेला परेको छ । वाणगंगा वडा नं. ७ र ९ को सीमामा पर्ने कोइलीखोलामा बाढी आएको हो ।

बिहीबार (८ असोज) बिहानैबाट सुरक्षाकर्मीको टोली परिचालित भएको छ । हिजो दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म खोजी भए पनि बेपत्ता भएका दुई जनाको शव नभेटिएपछि आज बिहान ५ बजेबाट खोजी कार्य सुरु भएको हो ।

खोजी कार्य सुरु भए पनि खोलामा पानीको सतह हिजोको भन्दा उच्च भएकाले थप समस्या भएको घटनास्थलबाट सशस्त्र प्रहरी बल पिपराका इन्स्पेक्टर चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

६ जना सवार जिपमा तीन जना भने हाम फालेर बाँच्न सफल भएका छन् । हाम फालेर बाँच्न सफलमध्ये विजय पौडेल र पर्शुराम थारु विद्युतका कर्मचारीहरु हुन् भने कोपिला अधिकारी शिक्षका हुन् ।

विद्यूत फ्यूज शाखाप्रमुख कृष्णप्रसाद पौडेल र केशव भाट क्षेत्री अझै बेपत्ता छन् ।

यो पनि हेर्नुहोस्–
विद्युत प्राधिकरणको जिप बाढीले बगाउँदा दुई जनाको मृत्यु