- मोहन लामा रुम्बा
मैले सबैलाई बारम्बार भन्दै आइरहेको छु कि कृपया मलाई ‘गुरु’ शब्दले सम्बोधन गरेर नसिँगारी दिनुहोस्, मलाई तपाईंले उमेरअनुसारको मोहन दाजु, भाइ, नभए मोहन लामा भनेर नाम किटेर सम्बोधन गर्नुपर्ने भए किटेर सम्बोधन गरे हुन्छ, मेरो जन्म मिति २०२६ साल हो ।
अध्यात्मिक रूपमा वा हाम्रो संस्कारमा गुरुको पवित्र र उच्च महत्त्व हुन्छ, तर सँगसँगै के पनि हुन्छ भने अध्यात्मिक ‘गुरु’हरु एउटा-एउटा पंथमा खुम्चेको पनि हुन्छ र त्यही आफ्नो पंथ नै सर्वश्रेष्ठ भनेर सिद्ध गर्नु उहाँहरुको ‘धर्म’ हुन्छ जुन स्वाभाविकै हो ।
आजको युग पंथ जोगाउने होइन यी हजारौँ पंथहरु अटाउने जम्वुद्वीपको सिङ्गो सभ्यता जोगाउने बेला हो । मलाई बारम्बार ‘गुरु’ शब्द प्रयोग गर्नाले कताकता मानसिक बन्धनले बाँधिएर खुलेर आफ्नो कुरा राख्न पनि सकिरहेको छैन, म कुनै अध्यात्मिक ग्रन्थ अध्ययन गरेको ब्यक्ति पनि परिनँ, तर यति मात्रै हो कसैले दिउँसै रात पारेर बोरामा घुसाउन भने सक्दैन, धेरै-थोरै धान र भुस छुट्याउने ल्याकतचाहिँ राख्छु ।
आज बौद्ध समुदायको लामा गुरुहरु सम्प्रदायबाट साम्प्रदायिक मानसिकतामा रुपान्तरण गराइसकेको छ, यो तितो अनुभव सबैले गर्नुभएको होला । अहिले हिन्दु/बौद्धको हृदयदेखि समन्वय गरेर बोल्ने गुरुहरु खोजेर एक प्रतिशत पाउनु हम्मे-हम्मे (गार्हो) छ ।
अहिले विभिन्न हिन्दु संघ/संस्थाले आयोजना गरेको गर्ने कार्यक्रमहरुमा ‘लामा’हरुको सहभागिता गराएको देखिन्छ, त्यो औपचारिकताको लागि मात्रै हो । त्यहाँ नाटकीय उपस्थिति एकछिनको लागि सबै धर्मको गुरुहरु रहेछ भनेर प्रदर्शनका लागि मात्रै भैरहेको छ । वास्तविकता त्यस्तो छैन, किनभने त्यहाँ उपस्तिथि हुने लामाहरु पर्दापछाडि मदेखि तर्सिन्छ यति भनेपछि कुरा आफैं मिलाएर बुझ्नुहोला कुन हदसम्म साम्प्रदायिक करण भैसकेको छ भनेर ।
अस्ति विश्व हिन्दु युवा संघको अध्यक्ष ऋषिकेश चन्द शाहजी पशुपति मृगस्थलीस्थित गोरखनाथ मन्दिरमा प्रवचनको लागि लामा गुरु खोज्दै आउनुभएको रहेछ मैले सिफारिस गरेँ एकजना प्रशिद्ध लामा गुरुलाई लगेर समन्वयात्मक प्रवचन पनि गराउनुभयो । सम्भवतः आजभोलिमा प्रवचनको भिडियो आउँछ पनि होला । उहाँ बाहिर जे बोल्नुहुन्छ व्यवहारमा पनि उतार्नुहुन्छ, अब लप्पनछप्पन होइन असल लामा गुरुको खोजी गरौँ, प्रवर्द्धन गरौँ संरक्षण पनि दिऔँ, एकछिनको कामचलाउ साम्प्रदायिक मानसिकताले ग्रस्त लामाहरुको नाटकीय उपस्थिति देखाउने काम पनि बन्द गरौँ जे वस्तुगत अवस्था छ त्यसलाई स्विकार्दै अगाडि कसरी बढ्ने भन्नेतर्फ लागौँ ।
अन्तमा, कृपया मलाई ‘गुरु’ शब्दले सम्बोधन गर्दै एउटा पंथको माला जप्दै ढ्याङ्ग्रो बजाउनेमा मात्रै खुम्च्याउने काम नगर्नु होला ।
मैले अहिलेसम्म कहिल्यै आफ्नो ‘पंथ’को शास्त्रीय कुराहरु राख्ने गरिएको छैन, किनकि पंथभन्दा माथि उठेर रणनीतिक रूपमा इस्लामलाई पनि साथ लिएर हिमवत क्षेत्रमा मडारिँदै आइरहेको पश्चिमी कालो बादल फटाउन हिँड्ने एकजना सिपाहीले साझा अभियान बोक्नुपर्छ भन्ने मान्यतामा छु । अतः सिपाहीलाई सिपाहीकै रूपमा रहन दिनुस्, एकजना सिपाहीले परिआउने बेला साम दाम दण्ड भेद सबै प्रयोग गर्छ ।
आफ्नो सभ्यताको रक्षाको लागि सिपाही मर्न तयार हुनेले परी आए… पनि तयार हुन्छ । अतः ‘गुरु गुरु गुरु’ शब्दले यो लडाकुपनलाई कम्जोर नपारिदिन सबैमा आग्रह गर्छु।
जय सनातन धर्मको !
प्रतिक्रिया