कसले काट्यो इन्दिराको तक्मा ?

कसले काट्यो इन्दिराको तक्मा ?


जेलमा जन्मिएका बालबालिकालाई वर्षौंदेखि लालनपालन गर्दै आएकी समाजसेवी इन्दिरा रानामगर मुलुकमा लकडाउन भएयता टुँडिखेललगायतका स्थानमा गरिव–दुःखीलाई खाना खुवाउन तल्लिन छन् । लकडाउनअघि असहाय बालबालिकाको सेवामा ब्यस्त उनलाई कोभिड–१९ ले थप जिम्मेवारी ल्याइदियो खान नपाएकालाई खाना खुवाउने । जिम्मेवारी महसुस गर्ने कुरा रहेछ । इन्दिरालाई लाग्छ, अप्ठ्यारो स्थितिमा यति पनि गरिनँ भने म जिवित हुनुको के अर्थ रह्यो ?

इन्दिरा आफैमा सम्पन्न मान्छे होइनन् । तर आफूजस्तै मन भएकाहरूबाट जुटाएर उनले दिनको ३० देखि ३५ हजारको खाना खुवाउँदै आएकी छिन् । खाना उनी आफै पकाउँछिन् । सेल्टरमा रहेका बालबालिकालाई पनि उनी आफै पकाएर खुवाउँछिन् । सबै बच्चाहरूले उनलाई आमा भन्छन् । यात्रा गर्दा पनि प्रायः बच्चाहरू बोकेरै हिँड्छिन् । भन्छिन्, सबैभन्दा सानोलाई म साथ छोड्दिनँ ।

इन्दिराको समाजसेवाप्रतिको प्रतिबद्धता र लगातारको सेवाभावको मूल्याङ्कन राज्यबाट हुनुपर्छ भन्ने मान्यताले झापा जिल्लाबाट प्रमुख जिल्ला अधिकारीले यो वर्ष तक्माका लागि गृहमन्त्रालयमा सिफारिश गरेका थिए । झापामा पनि उनले विभिन्न स्वयम्सेवी कामहरू गर्दै आएकी छिन् ।

जेलमा जन्मिएका र परिस्थितिवश आमासँग जेलमा बस्न बाध्य भएका बच्चाहरूको लालनपालन गरेको प्रत्यक्ष देखेका मात्र होइन उनले गरेको कामले राज्यलाई सहयोग गरिरहेको महसूस गरेका केन्द्रीय कारागारका जेलरले पनि उनलाई तक्माका लागि सिफारिश गरेका थिए । तर गृहमन्त्रालयले काट्यो या पदक वितरण गर्ने समितिले, पदक पाउने सूचीमा उनको नाम आएन ।

समाजसेवीका नाममा वर्षैपिच्छे विभिन्न मानिसहरूको नाममा पदक वितरण गर्ने गरिए पनि आफ्नो सम्पूर्ण समय सेवामा खर्चिएकी इन्दिराले नपाउँदा सिफारिश गर्नेहरू मात्र होइन उनको काम देख्नेहरू छक्क परेका छन् । यसपटक पदक पाउने समाजसेवीको लहरको सुरुवातमै उनको नाम आउने अपेक्षा गरिएको थियो ।

घटना र विचारसँग कुरा गर्दै उनले भनिन्, ‘पदकका लागि काम गरेको त होइन तर नाम सिफारिश भएको थाहा पाएपछि मैले पाउँछु भन्नेचाहिँ लागेको थियो । नपाए पनि मैले गर्ने काममा फरक पर्ने होइन, त्यसले गर्दा खासै नरमाइलो पनि लागेको छैन ।’