अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना

अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना


संयुक्तराज्य अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा ट्रम्प प्रशासनले थप कटौती गर्ने योजना अघि सारेको छ ।

अमेरिकी तल्लो सदन कंग्रेसमा बुधबार (१ अक्टोबर) पठाइएको पत्रमा ट्रम्प प्रशासनले आगामी सन् २०२१ मा बढीमा १५ हजार शरणार्थीलाई मात्र अमेरिकामा प्रवेश दिइने जनाइएको छ । यो चालू वर्ष २०२० को भन्दा झण्डै तीन हजारले कमी हो । यस वर्ष १८ हजारलाई शरणार्थीका रुपमा अमेरिकामा प्रवेश दिइने प्रस्ताव गरिएको थियो ।

तोकिएको संख्याभन्दा यस वर्ष केही कम अर्थात् १० हजार ८०० ले शरणार्थीका रुपमा अमेरिका प्रवेश पाएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

ट्रम्प प्रशासनको पत्रका बारेमा कंग्रेसमा छलफल हुनेछ । कंग्रेसले शरणार्थीको संख्या कटौती गरेकामा आपत्ति जनाएको छ, तर ट्रम्प प्रशासनले गरेका निर्णयविरुद्ध कंग्रेस जान सक्ने सम्भावना कमै छ ।

अमेरिकी राष्ट्रपतिले मिनेसोटाको डुलुथमा आयोजित चुनावी सभामा शरणार्थीको संख्या कटौती गर्ने आफ्नो पूर्वघोषित नीति रहेको बताउँदै विपक्षी डेमोक्रेटिक पार्टीका जो बाइडेन मुलुकमा अधिकाधिक विदेशीहरु भित्र्याउन चाहने व्यक्ति भएको बताए ।

उनले भने, ‘बाइडेनले मिनेसोटा राज्यलाई शरणार्थी शिविर बनाउन चाहनुहुन्छ, र यसबाट सरकारी स्रोतसाधनको बढी खर्च हुने, विद्यालयहरुमा बढी विद्यार्थी हुने तथा अस्पतालमा बिरामीको चाप बढ्ने हुन्छ । यो सबैलाई थाहा भएकै कुरा हो ।’

राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारी शुरु भएपछि गत मार्चदेखि शरणार्थीको प्रवेशलाई रोकेका छन् । उनले कोरोना भाइरसबाट क्षति पुगेको अर्थतन्त्र र रोजगारीलाई शरणार्थी भित्र्याएर थप संकटमा पार्न आफूले नचाहेको स्पष्ट गरे ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले विश्वका संकटग्रस्त क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउन अमेरिका सदैब तत्पर रहेको बताउँदै आगामी दिनमा पनि अमेरिकाले यस्तो सहायतालाई निरन्तरता दिने जानकारी दिएका छन् ।