राष्ट्रपति ट्रम्पले अस्पतालबाटै जिम्मेवारी निर्वाह गर्ने

राष्ट्रपति ट्रम्पले अस्पतालबाटै जिम्मेवारी निर्वाह गर्ने


कोरोना टेस्टमा पोजेटिभ नतिजा आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ । राष्ट्रपतिको स्वास्थ्यप्रति सावधानी अपनाउँदै अस्पताल लैजाने निर्णय गरिएको ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पलाई वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टर लगिएको जनाइएको छ । सीबीएस न्युजले जनाएअनुसार ट्रम्पलाई हल्का ज्वरो आएको छ ।

ह्वाइटहाउसले जनाएअनुसार राष्ट्रपतिले थकाइ महसुस गरेका भए पनि उनी आशावान रहेका छन् । चिकित्सको सल्लाहअनुसार केही दिनको लागि मेडिकल सेन्टरमा रहे पनि राष्ट्रपतिले त्यहीँबाट आफ्ना सबै काम गर्नेछन् ।

आफ्नो खास हेलिकप्टर ‘मरीन वन’मा सवार भई मेडिकल सेन्टरतर्फ लाग्नुअघि राष्ट्रपति ट्रम्पले आफू र आफ्नी श्रीमतीको स्वास्थ्यप्रति चिन्ता प्रकट गरेर स्वास्थ्यलाभको निम्ति शुभकामना दिने सबैप्रति धन्यवाद दिएका थिए ।

राष्ट्रपति ट्रम्प कोरोना पोजेटिभ भएका समाचार यस्तो बेला आएको छ जहाँ अमेरिकी राष्ट्रपतिको चुनाव हुन केवल एक महिना मात्र बाँकी छ । राष्ट्रपति ट्रम्पको चुनावी भीडन्त डेमोक्रेटिक पार्टीका जो बिडेनसँग हुँदैछ ।