उत्तर कोरियाका नेता किमद्वारा ट्रम्प दम्पत्तिको स्वास्थ्यलाभको कामना

उत्तर कोरियाका नेता किमद्वारा ट्रम्प दम्पत्तिको स्वास्थ्यलाभको कामना


कोरोना भाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका प्रतिष्पर्धी जोए बाइडेनले सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बाइडेनले ट्रम्पपत्नी मेलानिया ट्रम्पसमेत सङ्क्रमित भएकोमा दुवै जनाको सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “ट्रम्प दम्पत्तिको सिघ्र स्वास्थ्य लाभका लागि हामीले निरन्तर प्रार्थना गरिरहने छौँ ।”

हाल ७४ वर्ष उमेर पुगेका राष्ट्रपति ट्रम्प र ५० वर्षीया मेलानिया शुक्रबार कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

ट्रम्प दम्पतिको स्वास्थ्यलाभको कामना गर्नेहरुमा पूर्वराष्ट्रपति बाराक ओबामालगायत थुप्रै नेताहरु छन् । ओबामाले ट्रम्प दम्पत्तिसँगै कोरोना भाइरसबाट सङ्क्रमित सबैको स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्यसैगरी पूर्वराष्ट्रपति विल क्लिन्टन, ट्रम्पसँगै राष्ट्रपतिमा यसअघि प्रतिश्पर्धा गर्नुभएकी हिलारी क्लिन्टन, अहिले डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहनु भएकी कमला हारिसलगायतले पनि ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।

अमेरिकामा अहिले ७३ लाख ३२ हजार १९ जना सङ्क्रमित भएका छन् भने दुई लाख आठ हजार ६९३ जनाको मृत्यु भएको छ । यो दुवै तथ्यांक देशअनुसार हेर्दा विश्वभरीकै सबैभन्दा धेरै हो ।

स्वदेशी नेताबाहेक अन्य देशका पनि दर्जनौँ नेताहरुले ट्रम्पलाई सीघ्र स्वास्थ्यलाभको सन्देश पठाएका छन् । उनीहरुमध्ये उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले शनिबार पढाएको सन्देशलाई महत्वका साथ हेरिएको छ ।

किमले सम्प्रेषण गरेको सन्देशमा भनिएको छ, ‘उहाँहरुलाई जतिसक्दो चाँडो स्वास्थ्यलाभ हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

लामो समयदेखि एकअर्कालाई मुख्य दुश्मन मान्दै आएका अमेरिका र उत्तर कोरियाका शीर्ष नेताद्वय ट्रम्प र किमबीच पटक-पटक शिखर वार्ता भएका थिए । त्यसैले पनि दुवैले एकअर्काप्रति विषेश निकटता प्रदर्शन गर्ने गरेका छन् ।

यसअघि किम अस्वस्थ भएको खवर सार्वजनिक भएको बेला पनि ट्रम्पले तत्कालै उनको स्वास्थ्यलाभको कामना गगरेका थिए ।

राष्ट्रपति ट्रम्प दम्पत्तिलाई शुक्रबार कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि अस्पताल भर्ना गरिएको हो ।