कोरोना भाइरसबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु

कोरोना भाइरसबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु


विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबार (४ अक्टोबर) सम्म १० लाख ३८ हजार पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५१ लाख ४० हजार भन्दा बढी पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ६१ लाख ३० हजार निको भएका छन् भने करिव ७९ लाख ६ हजार भन्दा बढी मानिस सक्रिय सङ्क्रमित छन् ।

विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख नाघिसकेको छ । कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार को मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ । आजसम्म प्राप्त समाचारअनुसार भारतमा ६५ लाख ४९ हजार भन्दा बढीलाई कोरोना भाइरस सङ्क्रमण भएको र यस सङ्क्रमणबाट एक लाख १ हजार ९६० जनाको मृत्यु भईसकेको छ ।

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४९ लाख भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४६ हजारको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ४ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २१ हजार २५१ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोना भाइरसको प्रकोप बढ्दो रुपमा रहेको केही दिनअगाडि एकै दिनमा २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३ हजार ३५२ जनाको मृत्यु भएको थियो ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।