‘इटालीबाट फरार उत्तर कोरियाली राजदूत दक्षिण कोरियामा’

‘इटालीबाट फरार उत्तर कोरियाली राजदूत दक्षिण कोरियामा’


एपी

उत्तर कोरियाका एक वरिष्ठ कुटनीतिज्ञ हाल दक्षिण कोरिया सरकारको संरक्षणमा दक्षिण कोरियामा रहेको एक सांसदले बताएका छन् । इटालीका लागि उत्तर कोरियाली ती कुटनीतिज्ञ सन् २०१८ को अन्त्यतिर इटालीबाट फरार भएका थिए ।

दक्षिण कोरियाली सांसदले सार्वजनिक गरेको तथ्य प्रमाणित भएमा उत्तर कोरिया परित्याग गर्ने जो सोङ गिल दोस्रो वरिष्ठ अधिकारी भएका छन् । उनी इटालीका लागि उत्तर कोरियाली राजदूत थिए ।

यसअघि सन् १९९७ मा सत्तारुढ उत्तर कोरियाली वर्कर्स पार्टीका वरिष्ट अधिकारी ह्वाङ जाङ–योप उत्तर कोरिया परित्याग गरेर दक्षिण आइपुगेका थिए । ह्वाङ जाङ–योपले स्वर्गीय नेता किम जोङ–इललाई पढाएका थिए ।

दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाली कुटनीतिज्ञ जो नोभेम्बर २०१८ मा आफ्नी पत्निसहित रोम निवास छाडेका बताइएको थियो । युरोपेली मुलुकभन्दा बाहिरको मुलुकमा उनी रहेको पनि गुप्तचर प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण कोरियाली नेसनल एसेम्ब्लीको गुप्तचर समितिका सदस्य समेत रहनु भएका सांसद हा ताए–केयुङले उत्तर कोरियाली कुटनीतिज्ञ जो सोङ गिल गत वर्ष दक्षिण कोरिया आइपुगेको बताएका छन् ।

दक्षिण कोरियाली संचारमाध्यमहरुले मंगलबार साँझ उत्तर कोरियाली कुटनीतिज्ञ दक्षिण कोरियामा रहेको समाचार प्रशारण गरेका थिए । सांसद हा ले कुटनीतिज्ञ जो को सुरक्षाका लागि थप विवरण दिन अस्वीकार गरे ।

सांसद हा ले समाचारको स्रोतका बारेमा केही बताएका छैनन् । तर दक्षिण कोरियाको राष्ट्रिय अनुसन्धान विभागले नै विवरणहरु सांसदलाई बताएको अनुमान गरिएको छ । विभागले कुटनीतिज्ञको आगमनका बारेमा अध्ययन गरिरहेको बताएको छ ।

दक्षिण कोरियाको विदेश तथा एकीकरण मामिला मन्त्रालयले भने उक्त रिपोर्टको सत्यताका बारेमा केही बताएको छैन ।

कुटनीतिज्ञ जो सोङ गिलभन्दा अघि लन्डनस्थित राजदूतावासमा कार्यरत थाए योङ हो पनि दूतावास परित्याग गरी भागेका थिए । उनी सन् २०१६ मा सियोल पुगेका थिए र यसै वर्ष संसदका लागि निर्वाचित भएका थिए ।

सन् १९९० को दशकयता उत्तर कोरिया परित्याग गरेर दक्षिण कोरिया आइपुगेकाहरुको संख्या करिब ३३ हजार पुगिसकेको छ । दक्षिण कोरिया आइपुगेकाहरुले उत्तर कोरियामा राजनीतिक दमन भएको र गरिबी अति ठूलो समस्या रहेको बताउँदै आएका छन् ।