भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन


भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको बिहीबार निधन भएको छ । उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आएका पासवान केही हप्ता अगाडिदेखि नै अस्पतालमा भर्ना भएका थिए । ६४ वर्षीय पासवानको मुटुसम्बन्धी शल्यक्रिया पनि गरिएको थियो ।

भारतको स्थानीय समय अनुसार बिहीबार (८ अक्टोबर) बेलुका ६ः५० मा उहाँले फोर्टिस इस्कोर्टस हर्ट इन्ष्टीच्युटमा पासवानको निधन भएको पीटीआईले जनाएको छ ।

दलित समुदायका अति प्रभावशाली नेता मानिने पासवान लोक जनशक्ति पार्टीका संस्थापक समेत थिए ।

लगभग पाँच दशक लामो राजनीतिक तथा सामाजिक सेवाका क्रममा आफ्नो समुदायको अधिकार र संरक्षणका लागि उनले आवाज उठाउँदै आएका थिए ।

सन् १९६९ मा पहिलो पटक लोकसभा सांसद चुनएका उनी नौ पटक सांसद निर्वाचित भएका दिए भने पटक पटक मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर उनलाई प्राप्त भएको थियो ।

सन् २००० मा उनले स्थापना गरेको पार्टीको अहिले उनकै ३७ बर्षीय छोरा चिराग पासवानले नेतृत्व गरिरहेका छन् ।

आफ्ना पिताको निधन भएपछि चिरागले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘बाबा तपाई अब हामीबीच रहनु भएन, भौतिक रुपमा नभए पनि तपाई हामीसँगै हुनुहुनेछ ।’

पासवान निधनप्रति देश विदेशबाट दुःख व्यक्त गर्दै धेरैले समवेदना प्रकट गरेका छन् । भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, पार्टीका नेता, विदेशी नियोगका प्रतिनिधिलगायतले श्रद्धान्जलि व्यक्त गरेका छन् ।