संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी)बाट सम्बोधन गरेका छन् । राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उनबाट कोरोनाभाइरस संक्रमणको जोखिम नरहेको दाबी पनि गरेका छन् ।
राष्ट्रपति ट्रम्पलाई यहीअक्टोबर २ तारिखमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै अमेरिकी सैनिक अस्पतालमा उपचार गरिएको थियो ।
राष्ट्रपति ट्रम्पका निजी चिकित्सक फिजिसियन डा. सिन कोन्लेले ट्रम्पको शनिबार गरिएको परीक्षणमा कोराना भाइरसका लक्षणहरु नदेखिएको र उहाँ पूर्ण स्वस्थ रहेको बताएका छन् ।
अमेरिकामा हालसम्म ७७ लाखभन्दा बढी मानिस कोरानाभाइरसबाट संक्रमित भइसकेका छन् भने २ लाख १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । राष्ट्रपति ट्रम्पमाथि कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन पर्याप्त काम नगरेको आरोप लाग्दै आएको छ । राष्ट्रपति स्वयंले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने नीतिमाथि ब्यंग्य गर्दै आएका छन् ।
ह्वाइट हाउसको शनिबार (१० अक्टोबर) आयोजित सार्वजनिक समारोहमा पनि राष्ट्रपति ट्रम्पले मास्क लगाएनन् । तर, उनका वरिपरि अरु व्यक्ति थिएनन् । कोरोना उपचारपछि राष्ट्रपति ट्रम्प गत सोमबार ह्वाइट हाउस फर्किएका थिए ।
राष्ट्रिय मत सर्वेक्षणमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनभन्दा पछि देखिएका राष्ट्रपति ट्रम्पले अब विभिन्न राज्यमा चुनावी सभाहरुमा सम्बोधन गर्ने कार्यक्रम रहेको एपीले जनाएको छ । अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ ।
राष्ट्रपति ट्रम्पले सोमबार फ्लोरिडामा सम्बोधन गरी मंगलबार र बुधबार क्रमशः पेन्सिलभेनिया र आयोवा राज्यमा चुनावी सभामा सम्बोधन गर्नु हुनेछ ।
ह्वाइट हाउसको सम्बोधनमा ट्रम्प निकै आत्मबलका साथ बोलेका थिए । उनले विगतमा झैं विपक्षी डेमोक्रेटमाथि ‘समाजवादी’ र ‘वामपन्थी’ एजेन्डा बोकेको आरोप लगाए । आफूले कानुनी शासन र अर्थतन्त्रलाई सही बाटोमा ल्याउन निरन्तर कार्य गरिरहेको दाबी ट्रम्पले गर्दै आएका छन् ।
प्रतिक्रिया