अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई


आजको अर्थव्यवस्थामा लिलामी निकै प्रचलित छ । गूगलले विज्ञापन बेच्न, उपभोक्ताले तिर्ने बिद्युत महशुल बुझाउन, र सरकारले टेलिकम कम्पनी र प्रशारकलाई बिक्री गर्ने फ्रिक्वेन्सीमा यही लिलामी विधिको प्रयोग हुने गरेको छ ।

यही लिलामी विधिका बारेमा अनुसन्धान गरेका दुई अमेरिकीलाई अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापकद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरिएको हो । उनीहरूको खोजका कारण बिक्रेता, खरिदकर्ता र करदाताहरु सबै लाभान्वित भएका नोबेल कमिटीले जनाएको छ ।

बताइएअनुसार कुनै समय मिलग्रोमको विद्यावारिधी शोधका सल्लाहकार समेत रहेका ८३ वर्षीय प्राध्यापक विल्सन मिलग्रोमका छिमेकी पनि हुन् ।

यस वर्षको नोबेल पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकी अध्येताहरुकै बर्चश्व कायम भएको छ । शान्तिका लागि नोबेल पुरस्कार राष्ट्रसंघीय खाद्य कार्यक्रमले पाएदेखि बाहेक नोबेल पुरस्कार प्राप्त गर्ने कूल एघार व्यक्तिमध्ये सात जना अमेरिकी छन् ।

नोबेल पुरस्कार विजेता विल्सन र मिलग्रोमले संयुक्त रुपमा ११ लाख अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने एपीले जनाएको छ ।