अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका १४ वर्षीय छोरा ब्यारन पनि कोरोना भाइरसबाट संक्रमित भएको खुलासा गरिएको छ ।
राष्ट्रपति ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले आफ्ना पुत्र ब्यारनलाई पनि सङ्क्रमण भएको र पछि उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएकी हुन् ।
मेलानियाका अनुसार किशोर उमेरका ब्यारनको रिपोर्ट पोजेटिभ आउँदा शुरुमा निकै डर लागे पनि सौभाग्यवश उनले भाइरसको सङ्क्रमणलाई सहजै जित्न सके, अब उनलाई सङ्क्रमणको कुनै सङ्केत छैन ।
राष्ट्रपति ट्रम्पले पनि बुधबार (१४ अक्टोबर) निर्वाचन अभियानमा निस्कनुअघि आयोवामा सञ्चारकर्मीहरूसँग आफ्ना कान्छो छोरा भारइरस सङ्क्रमित भई अहिले ठिक भइसकेको बताएका थिए ।
चुनावीसभामा ट्रम्पले आफ्ना छोरालाई सङ्क्रमण भएको सम्बन्धमा भनाइ राख्दै भने- ‘उनी केही समय कोरोनाबाट सङ्क्रमित थिए, तर ब्यारनलाई आफू सङ्क्रमित भएको जानकारी पनि भएन, किनकि उनी निकै ‘योङ्ग’ छन् र उनमा रोगप्रतिरोधात्मक क्षमता पनि उच्च छ ।’
यही अक्टोबर २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र आफ्नी श्रीमती मेलानिया ट्रम्पलाई कोरोना सङ्क्रमण भएको खुलासा आफ्नो एक ट्वीटमार्फत दिएका थिए ।
राष्ट्रपति ट्रम्प र उनकी श्रीमतीका अलावा ह्वाइट हाउसका अन्य कर्मचारीहरू पनि कोरोनाबाट सङ्क्रमित भएका र पछि सबै जना सङ्क्रमणमुक्त भएको बीबीसीले जनाएको छ ।
इमेज स्रोत रोयटर्स
प्रतिक्रिया