फ्रान्समा एकै दिन ३० हजारभन्दा धेरैमा सङ्क्रमण भएपछि रात्रीकालीन कर्फ्यू

फ्रान्समा एकै दिन ३० हजारभन्दा धेरैमा सङ्क्रमण भएपछि रात्रीकालीन कर्फ्यू



फ्रान्समा बिहीबार (१५ अक्टोबर) एकै दिन ३०,६२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बुधबार पनि एकै दिन थप २२,५९१ जनामा सङ्क्रमण पाइएको थियो ।

यसरी पछिल्लो चरणमा एकाएक सङ्क्रमण बढेपछि फ्रान्स सरकारले राजधानी पेरिससहित देशभरका विभिन्न नौ वटा शहरमा रात्रीकालीन कर्फ्यू लगाउने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणबाट मानिसहरूको ज्यान जोगाउनका लागि कडा कदम चाल्नु आवश्यक रहेको बताउँदै आएको छ । कोरोनाको ‘दोस्रो लहर’माथि मध्यनजर गर्दै युरोपमा नयाँ गाइडलान्स अवलम्बन गर्न नागरिकहरूसँग अपिल गरिएको छ । यसैअन्तर्गत फ्रान्समा कर्फ्यू शुरु गरिएको बीबीसीले जनाएको छ ।

लण्डनको आसपास इलाकामा कोभिड अलर्ट जारी गरिएपछि शनिबारदेखि लण्डनमा पनि ‘इनडोर सोसिअल प्रोग्राम’हरूमा प्रतिबन्ध लगाइएको छ ।

फ्रान्स, इटली, पोल्याण्ड, जर्मनी जस्ता देशमा बिहीबार ठूलो मात्रामा परीक्षण शुरु गरिएपछि एकै दिनमा सबभन्दा धेरै सङ्क्रमणको मामला देखिएको बताइएको छ ।

बताइएअनुसार रूसमा पनि बिहीबार २८६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोना महामारी फैलिएपछि रुसमा एकै दिन यतिका सङ्ख्यामा मानिसको मृत्यु भएको यो पहिलो घटना हो । डब्लुएचओका अनुसार यतिबेला युरोपमा दिनहुँ सरदर एक हजारभन्दा धेरै मानिसको मृत्युभइरहेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले कडा प्रतिबन्धको घोषणा गर्दै शनिबारदेखि पेरिसलगायतका नौ वटा शहरमा राति नौ बजेदेखि बिहान ६ बजेसम्म मानिसलाई घरबाट निस्कन प्रतिबन्ध लगाएका छन् । रात्रीकालीन यो कर्फ्यू कम्तीमा एक महिना कायम रहने बताइएको छ ।

राष्ट्रपति म्याक्रोनले कोरोना पोजेटिभको दैनिक सङ्ख्या लगभग तीन हजारमा नझरेसम्म कर्फ्यू जारी रहन सक्ने सङ्केत गरेका छन् ।