कोभिड कहरबीच सत्तारुढ दलको बैठक अन्योलमा

कोभिड कहरबीच सत्तारुढ दलको बैठक अन्योलमा



यही कात्तिक १५-१७ गते काठमाडौंमा बोलाइएको छ नेकपा केन्द्रीय कमिटीको बैठक


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नेकपाले बैठक तय गर्दाको अवस्थामा यतिबेला कोरोना भाइरसबाट दैनिक सरदर दुई हजार मानिस काठमाडौं उपत्यकामा सङ्क्रमित भइरहेका छन् । यस्तो स्थितिमा नेकपाको केन्द्रीय कमिटी बैठक सम्भव होला भन्ने सवाल स्वतः खडा हुन पुगेको छ ।

सो पार्टीको गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले दलभित्रको (आन्तरिक) विवादलाई समाधान गर्दै मन्त्रिमण्डल पुनर्गठन, केन्द्रीय कमिटी बैठक र एकताको महाधिवेशन गर्ने निर्णय पारित गरेको थियो । त्यही निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिरहेको नेकपा अहिले तेस्रो केन्द्रीय कमिटीको तयारीमा पनि जुट्नुपर्ने अवस्था छ ।

तय गरिएको मितिअनुसार केन्द्रीय कमिटी बैठक हुन अब १२ दिन मात्र बाँकी छ । उक्त बैठक हुने, नहुने अझै निश्चित छैन । नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाल बैठकको तयारी गरिए पनि यही अवस्थामा बैठक गर्न गाह्रो हुने बताउँछन् । उनी भन्छन्, ‘नेताहरु स्थायी कमिटीको बैठकको म्याण्डेटअनुसार अघि बढिरहनुभएको छ, त्यसैअनुसार केन्द्रीय कमिटी बैठकको मिति तोकिएको छ, तर अहिले उपत्यकासहित देशभरि नै सङ्क्रमण बढिरहेकाले बैठक राख्न गाहो हुन्छ कि ?’

बैठक सरेको निर्णय नभएकाले आफूहरुले आवश्यक तयारी गरिरहेको उनको कथन छ ।

बताइएअनुसार केन्द्रीय कमिटी सदस्य ४४७ जनासहित सुरक्षाफौज र बैठक व्यवस्थापन गर्न कम्तीमा तीन हजार जनशक्ति आवश्यक पर्न जान्छ । मुलुकभरि एक लाख ३२ हजार २४६ र काठमाडौंमा मात्र ५५ हजार ३८७ जनामा सङ्क्रमण देखिएको छ । रिजाललाई उद्धृत गर्दै राससले जनाएअनुसार बैठक सरेको छैन, शीर्ष नेताहरु भर्चुअल बैठक गर्ने कि भन्ने सोचमा छन्, स्थिति हेरेर बैठक बस्ने, नबस्ने टुङ्गो लाग्नेछ ।

बैठक बस्ने निश्चित नभएको र स्थलको पनि यकिन गरिएको छैन । अघिल्लो वर्ष नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक गत माघमामा राष्ट्रियसभागृहमा बसेको थियो ।

नेकपा स्थायी कमिटी सदस्य मणि थापाले बैठकबारे औपचारिक जानकारी अझै आइनसकेको जानकारी दिँदै कोभिडका कारणले बैठक के हुन्छ भन्न नसकिने र देखिने गरी बैठकको तयारीसमेत नभएको बताए । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले सरेको जानकारी अझै आइनसकेकाले बैठक हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए ।

फाइल तस्बिर