पर्वत जिल्ला अस्पतालमा अक्सिजन उत्पादन शुरु

पर्वत जिल्ला अस्पतालमा अक्सिजन उत्पादन शुरु



जटिल प्रकारका बिरामीको शल्यक्रिया गर्न सहज हुने


पर्वत जिल्ला अस्पतालमा उपकरणको सहायताबाट अक्सिजन प्लान्ट बनाइ अक्सिजन उत्पादन गर्न थालिएको छ । बुधबार (५ कात्तिक) देखि अक्सिजन उत्पादन गर्न थालिएकाले अक्सिजनको अभावमा अस्पतालबाट बिरामीलाई अन्यत्र सिफारिस गरेर पठाउनुपर्ने समस्या अन्त्य भएको छ ।

गण्डकी प्रदेश सरकारबाट प्राप्त रू. ६० लाखको लागतमा सो प्लान्ट जडान गरिएको हो । ‘अब जिल्ला अस्पतालले अक्सिजनको अभावमा पोखरा वा काठमाडौं बिरामी पठाउनुपर्ने अवस्था आउँदैन ।’ उक्त अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीले भने, ‘१५ शैयाको यस अस्पताललाई आवश्यक पर्नेजति र माग भएर आएमा थप अक्सिजन उत्पादन गर्न सक्ने क्षमता प्लान्टको छ ।’

अक्सिजन नहुँदा अस्पतालले शल्यक्रियासमेत रोक्नु परेको थियो भन्दै पहाडीले अक्सिजन ढुवानी गर्न समस्या पर्दा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता आइपरेको स्मरण गरे । प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सिधै शैयासम्म पुऱ्याउने व्यवस्था अस्पताले मिलाएको छ ।

आवश्यक परे अस्पतालले अक्सिजन उत्पादन गरेर वितरणसमेत गर्न सक्ने भए पनि सिलिण्डरमा भरेर राख्न मिल्ने व्यवस्था अहिले नभएकाले अक्सिजन कम्प्रेसर उपकरणका लागि पनि पहल भईसकेको अध्यक्ष पहाडीले बताउनुभयो । अहिले उक्त अस्पतालमा दैनिक ६ सिलिण्डरसम्म अक्सिजन खपत हुँदै आएको छ ।

एक सिलिण्डरमा १०० लिटर अक्सिजन हुनेमा उक्त प्लान्टको उत्पादन क्षमता १६ सिलिण्डरसम्म रहेको अस्पतालका प्रमुख चिकित्सक डा. शिशिर देवकोटाले जानकारी दिए । उनका अनुसार चिसो याममा अस्पतालमा अक्सिजनको अत्यधिक खपत हुने गरेको र अक्सिजनको व्यवस्थाले जटिल प्रकारका बिरामीको शल्यक्रिया गर्न सहज हुने भएको छ ।