भक्तपुरमा कोभिड सङक्रमण र मृत्युदर बढ्दो

भक्तपुरमा कोभिड सङक्रमण र मृत्युदर बढ्दो



भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज (१४ कात्तिक) बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार ४२१ महिला गरी कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५९६ जना पुगेको छ । त्यसैगरी जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ ।

बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण पाँच जनाको ज्यान गएको छ । छाला र मिर्गौला रोगको बिरामी कैलाली गौरीगङ्गा नगरपालिका-४ की २८ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण बिहीबार साँझ भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेण्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण पुष्टिपछि कात्तिक ३ गते भक्तपुर अस्पताल भर्ना भई उपचार गराइरहेकी महिला र भक्तपुर नगरपालिका–१ का ७९ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणका कारण बिहीबार साँझ मृत्यु भएको हो । स्वास्थ्य समस्याका कारण असोज २३ मा भर्ना भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भई उपचारकै क्रममा मृत्यु भएको डा. गौतमले बताउनुभयो ।

त्यस्तै, कात्तिक ४ गते कोरोना सङ्क्रमण पुष्टि भई करुणा अस्पताल बूढानीलकण्ठमा उपचाररत मधुमेहका बिरामी भक्तपुर नगरपालिका-३ बाराहीस्थानका ५६ वर्षीय पुरुषको पनि बिहीबार नै मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

भक्तपुरमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने दर समग्र नेपालको दोब्बर भन्दा बढी रहेको उहाँको भनाई छ । कोरोना सङ्क्रमणबाट नेपालको समग्र मृत्युदर ०.६ प्रतिशत रहेको अवस्थामा भक्तपुरमा भने बिहीबारसम्म सङ्क्रमणबाट मृत्यु हुने दर १.२३ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी, भक्तपुरमा कोरोना भाइरस सङ्क्रमितको निको हुने दर भने ६७.३३ प्रतिशत छ । राससका अनुसार बिहीबारसम्म दुई हजार ८१ पुरुष र एक हजार ६१८ महिला गरी तीन हजार ६९९ सङ्क्रमित निको भएर घर गएका छन् । भक्तपुरमा हाल एकहजार ४७ पुरुष र ७८१ महिला गरी एक हजार ८२८ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये २२२ पुरुष १३१ महिला गरी ३५३ अस्पताललगायतको आइसोलेसनमा तथा ९७५ पुरुष र ७७२ महिला गरी एक हजार ७४७ अर्थात ८३.१९ प्रतिशत होम आइसोलेसनमा रहेको कार्यालय प्रमुख मिजारले जानकारी दिनुभयो ।