सुरेश धामी, बझाङ
तीन दिन देखि वेपत्ता भएकी जयपृथ्वी नगरपालिकानिवासी एक महिलाको सेती नदी किनारमा कपडा र चप्पल भेटिएको छ ।
गत बुधबारदेखि बेपत्ता भएकी जयपृथ्वी नगरपालिका ७ खगेडाकी ५० वर्षीया खन्टि रोकायाको चप्पल र लुगा सेती नदी किनारमा फेला परेको स्थानीयले बताएका छन् । वेपत्ता रोकायाको चप्पल र लुगा सेती नदी किनारमा फेला परेपछि नदीमा हाम फालेको हुनसक्ने अनुमान गरिएको छ । बेपत्ता रोकायाको खोजी कार्य भइरहेको छ ।
यस्तै, ८ दिनदेखि बालिकासहित वेपत्ता अर्की महिला पनि अझै फेला परेकी छैनन् । वित्थडचिर गाउँपालिका ७ सुवाकोट घर भएकी मुन्नी बिक कात्तिक ६ गतेदेखि बेपत्ता भएकी थिइन् । सुवाकोट कर्म घर भएकी उनी ६ गते देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य चेकजाँच गरेर माइती घर जान्छु भनी हिँडेकी थिइन् । अन्दाजी ८ वर्षीया बालिकासहित उनी सोही दिनदेखि बेपत्ता भएकी हुन् ।
घरबाट निस्केपछि उनले देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा लिएको देखिएको छ । पातलो चेहरा भएकी उनी ४ महिनाको गर्भवतीसमेत रहेको पारिवारिक स्रोतले प्रहरीलाई पेश गरेको निवेदनमा उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालयले बझाङले जिल्ला भरका प्रहरी इकाईलाई हुलिया खुलाइ खोजी कार्यमा लाग्न निर्देशन दिएको छ ।
(फाइल फोटो : सेती नदी किनार)
प्रतिक्रिया