विशेष प्रतिनिधि, कपिलवस्तु
कोभिड संक्रमण रोकथाम गर्न सरकारले गत वर्षको चैत महिनादेखि नै अन्तर्राष्ट्रिय सीमाना सिल गरेको छ । अत्यावश्यक खाद्यान्न, इन्धन र तोकिएको स्थानबाहेक व्यक्तिहरु समेत आउजाउ गर्न नमिल्ने सीमा क्षेत्रबाट यतिखेर धमाधम तस्करी बढेको छ । कपिलवस्तु सदरमुकामसँग जोडिएको मर्यादपुर सीमा क्षेत्रबाट धमाधम तस्करी भइरहेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल तथा नेपाल प्रहरी सीमा प्रहरी चौकीसँगको सेटिङमा तस्करीबाट सामान आयात मात्र होइन निर्यातसमेत भइरहेको छ ।
प्रहरी श्रोतका अनुसार अहिले सबै भन्दा बढि कपडा, सुर्ती र माछा विभिन्न बाटो हुँदै नेपाल भित्रिरहेको छ भने नेपालबाट मटर, छुवारा, इलाइची आदि भारत निकासी भइरहेका छन् । श्रोतका अनुसार विगत ४ महिनादेखि रोकिएको मटर तस्करी सुरक्षाकर्मीहरुकै सेटिङमा चल्न थालेको छ । मर्यादपुरको ननवा नाका, मर्यादपुर नाका, बन्धा नाका, र कचरीहवाबाट मटर भारत निकासी हुँदै आएको छ । स्थानीय व्यापारी बजरंगी मिश्रा, मुबारक मुसलमान, कादिर मुसलमानले पिकअप भ्यानमै हालेर सीमापार गराउने गरेको स्थानीयवासीहरु बताउछन् । यिनीहरु बाहेक मोटरसाइकल र साइकलमा मटर ओर्साने पोके तस्करहरु समेत रातभरी सोही नाकाबाट क्यारिङ गरि पारी पुऱ्याउने गर्दछन् । यससँगै मरिच, छोकरा र इलाइची समेत भारतमा तस्करी हुँदै आएको छ । भारतीय एसएसबीले केही दिनअघि मात्रै एक ट्याक्टर मटर नियन्त्रणमा लिएको थियो ।

यसैगरी, चाडबाडको मुखमा कपडाको अत्याधिक माग बढेपछि भारतबाट अवैध बाटो अत्याधिक मात्रामा कपडा आयात भएको छ । सदरमुकाम तौलिहवा, बाणगंगा मात्र नभई अर्घाखाँची तथा बुटवलसम्म तस्करीको कपडा पुगेको छ । तिहारसम्म कपडाको माग अत्याधिक भएको र तस्करी अझ बढ्ने श्रोतको दाबी छ । विशेषगरी तौलिहवाका व्यापारीहरुले तस्करी गरी कपडा मगाउने र यहाँबाट आफ्नो बिल काटेर बुटवल र बाहिर पठाउने गरेका छन् । मर्यादपुरकै स्थानीय सुनिल जैसवाल, महेन्द्र पाल तौलिहवाकै संदिप जैसवाल, लक्ष्मण गुप्ताले भारतबाट कपडा ल्याएर तौलिहवाका ठूला कपडा व्यापारीलाई दिने गरेका छन् । विगत २ महिनाको दौरानमा एक पिस कपडा पनि पक्राउ नपर्नु, मर्यादपुर भन्सारमा एउटा कपडाको समेत भन्सार नहुनु र जिल्लामा भारतीय कपडा प्रशस्त पाउनु र अन्य जिल्ला पठाउनुले पनि यसको तस्करीमा सरोकारवालाकै हात भएको प्रष्ट हुन्छ ।
तस्करीकै भाषमा लाइन (सेटिङ)मा सीमा प्रहरी चौकी मर्यादपुर प्रहरी नायब निरीक्षक जेद बहादुर काउचा र डंगरी बर्डर आउट पोष्टका शस्त्र प्रहरी निरीक्षक शंकर सिंहले महिनावारी लिँदै आँखा चिम्लिएर बसेका बुझिन्छ । खाद्यान्न र कपडा तस्करहरुले मासिक लाइन बुझाउने गर्दछन् भने साइकल र मोटरसाइकलका पोके तस्करहरुले हप्ता (साप्ताहिक खर्च) बुझाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयदेखि १२ किमीको दुरीमा रहेको सीमा क्षेत्रबाट तस्करी मौलाउँदा समेत कुनै चासो नदिइनु आफैमा आश्चर्यको विषय बनेको छ ।
प्रतिक्रिया