– डी. आत्रेय
एक दलित प्रौढको भनाइ यस्तो थियो– ‘म पहिलादेखि नै काङ्ग्रेस हुँ । तर मेरो छोरा कम्युनिष्टमा लाग्यो । पहिला एमाले थियो पछि माओवादी भयो । उसले मलाई एमाले हुँदा पनि कम्युनिष्ट बन्नुपर्छ भन्यो र माओवादी हुँदा त धेरै नै कर गरेको हो । अझै हामी दलित भएकोले कम्युनिष्टले मात्र समानता, न्याय र इज्जत दिन्छन् भन्थ्यो । हो कि जस्तो पनि लागेको हो । तर पहिलादेखि नै काङ्ग्रेस साथीहरूको संगत, रुख र चारतारे झण्डा देखेपछि आफ्नै हो जस्तो लाग्ने हुँदा म कम्युनिष्ट विचारतिर लाग्न खोजे पनि आदतले गर्दा काङ्ग्रेस छोड्न मनले मानेन ।’
‘काङ्ग्रेसमा के देखेर लाग्नुभएको थियो त ?’ मैले सोधेँ । उनले भने– ‘पहिला काङ्ग्रेसले पञ्चायतको गल्तीको विरुद्धमा काम गर्दछ भनेर लागेँ । संगतले गर्दा पनि लागियो । अरुसँग काङ्ग्रेसको तर्फबाट झगडा गरियो । अब तिनै झगडा गरेका अरु दलकाहरूसँग कसरी लाग्ने ? मैले काङ्ग्रेस भनेको इमान्दार हुन्छन्, गरिव र दलित निमुखाहरूको हित गर्दछन्, बेइमानी गर्दैनन्, उनीहरूले वा चुनावमा जित्नेले गल्ती गरे भने पनि सजिलैसँग हटाउन पाइन्छ आदि भनेको सुनेर सुरुमा काङ्ग्रेसमा लागेको थिएँ । तर त्यस्तो भएन । जातीय भेदभाव ज्युँकात्युँ रह्यो । केही सुधार भए पनि चाहे जस्तो भएन । भ्रष्टाचार बेइमानी यथावत रह्यो । दलभित्र गुट–उपगुट र राम्राभन्दा नेताहरूका नजिक भएकालाई हेर्ने तथा समाजको विकास भन्दा ब्यक्तिगत फाइदालाई ध्यान दिने बानी देखियो । ठुलाले भ्रष्टाचार गर्ने र पैसाको बलमा जीवनभर नेता बन्ने भावना बढ्यो ।’
‘त्यति धेरै मन नपरेपछि पनि किन काङ्ग्रेस नछोड्नुभएको त ?’ मैले पुनः सवाल गरेँ । उनले भने– ‘हैन, छोरा काङ्ग्रेस खराब भनेर एमालेमा लाग्यो । मलाई पनि एमालेमा नै लागौँ–लागौँ जस्तो त लागेको हो । तर एमाले सरकारमा पुगेपछि काङ्ग्रेसले भन्दा फरक काम त्यसले पनि गरेन । काङ्ग्रेस र एमालेमा भाषण र शब्दभन्दा केही भिन्नता देखिएन । अझै काङ्ग्रेसमा नेताले गल्ती गरेमा वा भ्रष्टाचार गरेमा कार्यकर्ताले खुलेर विरोध गरेको देखियो, एमालेमा त विरोध गर्न डराउने र भित्रभित्रै मिलाउने गरेको देखियो । म पनि राजनीतिमा नजिक भएकोले कुरा बुझेँ, केही जानकारी पनि राख्छु । घर बसेर स्वअध्ययन पनि गरेकोले तुलना गर्न पनि सक्छु । त्यो देखेपछि छोरालाई तेरा एमालेले के गरे ? पहिला त खुबै कम्युनिष्टहरू सरकारमा आएपछि सबै समान हुन्छ, अन्याय हुँदैन, भ्रष्टाचार हुँदैन, विकास हुन्छ, काम पाइन्छ भन्ने गर्थिस् नि । केही भएन, अब आइज काङ्ग्रेसमा भनेर मैले भनेँ ।’
‘ती बेइमान कम्युनिष्ट हुन्, असल कम्युनिष्ट हैनन् । इमान्दार कम्युनिष्ट भनेका महेन्द्र मल्ल राजा जस्तै हुन्छन् । दरबारको माथिल्लो भागबाट जनताको घरमा हेर्ने र सबैको घरबाट धुवाँ आए मात्र सबैले खाना खाए भनेर आफूले खाने । धुवाँ ननिस्केमा त्यहाँ गएर पत्ता लगाउने र चाहिए खानेकुरा दिई खाना खान लगाएर मात्र आफू खाना खाने । सच्चा कम्युनिष्टले जनतालाई जहिले पनि आफूभन्दा माथि राख्दछ । उसले आफ्नो सम्पत्ति पनि जनतालाई दिन्छ । भ्रष्टाचार त गर्दै गर्दैन । आफ््नो र पराई भनेर पक्षपात पनि गर्दैन । उसले भन्दै गयो । त्यसैले अब म वास्तविक कम्युनिष्ट पार्टी माओवादीमा लगिसकेँ बा भन्यो उसले ।’
‘मैले भनेँ सबै कम्युनिष्टहरू सत्ता नपुगेसम्म जनताको कुरा गर्दछन् र सत्तामा पुगेपछि आफ्नो मात्र हित हेर्दछन् । सत्तामा पद नपाएकाहरूले अर्को कम्युनिष्ट पार्टी खोल्दछन् । जनतालाई हामी सच्चा हौँ भन्दछन् । फेरि सत्ता पाएमा उस्तै गर्दछन् र केहीले पुनः जनतालाई भ्रम दिन्छन् । यो क्रम चलिरहन्छ । त्यसैले काङ्ग्रेस र कम्युनिष्टहरू उस्तै हुन् ।’
‘तर’ जोड्दै उसले भन्यो कि माओवादीबाट त्यस्तो हुँदैन । सच्चा कम्युनिष्ट भनेको कस्तो हुन्छ भन्ने अब थाहा पाउनुहुन्छ । उनीहरूले ज्यानको बाजी लगाएर जनयुद्धमा लागेको त्यसै होइन । मारेको र मार्न तयार भएको मानिसले केको लागि जनताको विपक्षमा काम गर्दछन् ? बा, अब माओवादीले बन्दुक चलाएर सत्तामा गएपछि गरिव र धनी नै हुँदैन बरु एउटै हुन्छ । केही समय गरिव र धनी भए पनि गरिवभन्दा पनि माओवादीका नेताहरू र कार्यकर्ताहरू अझै गरिव जस्तो भएर जनताको सेवा गर्दछन् । उनीहरू सम्पत्ति कमाउन र ठुला आलिसान घरमा बस्न, छोराछोरीलाई विदेश पठाउन, राम्रो विद्यालयमा पढाउन, ज्यान फाल्न तयार भएर र हामीलाई भ्रम दिएर सङ्घर्ष गर्न लगाएका होइनन् । हामी सबै समान हुनको लागि र समान बनाउनको लागि हो । उनीहरूको हैसियत र हामीहरूको हैसियत एउटै हुने छ । नेताहरू र हामीहरूको खाना, बास र बच्चा पढ्न उस्तै ब्यवस्था हुने छ । अस्पताल उस्तै हुनेछन् । रोजगारी सबैले पाउने छन् ।
मलाई केही आशा त लाग्यो । उसका साथीहरूलाई खाना खुवाउने आदि त गर्न थाले । डरले पनि त्यस्तो गरे । पछि छोरो माओवादीमा लागेकोले मलाई पनि माओवादी भनेर पुलिस पक्रन आयो । मैले काङ्ग्रेसको सदस्यता देखाएर र कसै गरेर छुटेँ । छोराले फोनमा भन्यो– तपाईं बुर्जुवा, शोषक, सामन्तको पक्षमा काम गर्न पुग्नुभयो, कुनै दिन यस्तो हुने छ कि मैले चाहेँ भने पनि तपाईंलाई बचाउन सक्दिनँ । तपाईंले माओवादीको गोप्य कुरा बताएर हामीलाई अप्ठेरो पार्नुभयो । यसरी छोराले मैले नगरेको कुराको आरोप लगाएबाट अब म काङ्ग्रेस र माओवादी कसैकोे पनि रहिनँ । मलाई ज्यानको बाजी लगाउने, जनताको लागि बन्दुक चलाउने माओवादीले जनताको हित गर्दछन् भन्ने त लाग्यो । तर बालखैदेखि काङ्ग्रेसमा लागेकोले मुखबाट ‘जय नेपाल’ फुत्तै निस्कने । मनले सोचेँ– मलाई कम्युनिष्ट राम्रो लागेको छ तर बानीले ङ्ग्रेस छोड्न सक्दिनँ । कसै गरेर बचेर जीविकाको काम गरेँ ।
पछि त माओवादीले सरकार नै बनायो । छोरा त त्यतिबेला आन्दोलनमा मरिसकेको रहेछ । उसकी पत्नी र छोराछोरी हौँ भनेर तीन जना घरमा आए । खबर सुनाए । नाति–नातिनीको अनुहार काटिकुटी छोरासँग मिल्ने रहेछ । मलाई छोराले अवतार लिए जस्तो लाग्यो । चित्त बुझाउन थालियो । हराएको माहिलो छोरोे पनि माओवादीमा नै लागेको रहेछ । उसले पनि सबै उसको दाइको जस्तै कुरा गर्थ्यो । उ पनि आयो ।
कम्युनिष्टका सरकार, सामान्य बिरामी हुँदा विदेश जाने, ठुला घरमा बस्ने, सम्पत्ति कमाउने देखेपछि मेरो बहकिन चाहेको तर पूरै नबहकिएको मन समालियो र म त काङ्ग्रेसमा सक्रिय भएँ । बुहारीलाई मैले भनेँ– तिमी कम्युनिष्ट भएर के पायौ ? न जागिर न सबैको हित । बुहारीले भन्दा पहिला छोराले भन्यो– बुबा हामीलाई धोका भयो । ठुलो अन्याय भयो ।
मैले भनेँ– काङ्ग्रेस, एमाले र माओवादीमा के फरक भयो ? किन मारामार विकास तहसनहस गर्नेहरूकोमा लागेको ? अब काङ्ग्रेसमा लाग । तर उनीहरूले प्रश्न गरे– काङ्ग्रेस र कम्युनिष्टमा के फरक छ र काङ्ग्रेसमा लाग्ने बा ?
मैले भनेँ– धेरै फरक छ । काङ्ग्रेस र कम्युनिष्टहरू सत्तामा जाँदा केही फरक गरेनन् । उस्तै हो । उस्तै देखियो । तर कम्युनिष्टहरूले गर्दा जातीय घृणा बढ््यो । सत्तामा जानको लागि जनतालाई भ्रम दिएर कम्युनिष्ट भनेका भिन्नै धातुले बनेका इमान्दार, गरिवका साथी हुन् भन्दै कम्युनिष्टहरूले मानिस मारेका र तहसनहस पारेका कार्य के हुन् ? सत्तामा गएर काङ्ग्रेसले भन्दा केही फरक नगरेपछि काङ्ग्रेस कसरी खराब ? बुहारीले भनी– सबै उस्तै हुन् भने तपाई काङ्ग्रेस हामी कम्युनिष्ट बनेर के फरक भयो त ?
धेरै फरक छ । काङ्ग्रेसले म मात्र राम्रो हुँ भनेर अरुलाई मार्दै हिँडेन । नराम्रो र अमानविय कामको लागि तथा आफ्नो मात्र विचारको लागि मानिस मार्ने समेतका काम गरेन । गरिवलाई भ्रमहरू दिएर पछि लगाउने र अझै दुःख पाउने कार्य गरेन । के म मेरो मरेको छोरो फिर्ता पाउँछु ? यो काम न काजको जनयुद्ध भन्ने नगरेको भए मेरो छोरो मर्थ्यो ? मरेर मैले के पाए मात्र बिधवा बुहारी र लामो समयसम्म पीडा अनि त्रास ? समस्याहरू उस्तै ।
काङ्ग्रेसले गल्ती गरेको छ र कम्युनिष्टले पनि गल्ती गरेका छन् । तर काङ्ग्रेसले गल्ती गर्दा गल्ती देखाउँदा मारिन परेको छैन । काङ्ग्रेसले म मात्र राम्रो अरु खराब भनेर अरुलाई कुनै पनि बेला निषेध गरेन र मारेन । बरु गल्ती गरेमा उसलाई हटाउन र अरुलाई छान्न सजिलो भयो ।
जसलाई बढि विश्वास गरिन्छ र विश्वासमा परेर ज्यान दिइन्छ वा दिन तयार भइन्छ, त्यसैबाट बढि धोका हुन्छ भने त्यो भन्दा ठुलो पीडा के होला ? कम्युनिष्टहरूले केहीलाई काङ्ग्रेसमा भन्दा बढि विश्वास आफूलाई गर्ने बनाए तर बढि बेइमानी गरे । कमसेकम अब यसरी ठगिन मारिन नपरोस् भनेर पनि काङ्ग्रेस बन्नुपर्ने हुन्छ । यस्ता नाटक दोहोरिन नदिन पनि काङ्ग्रेस बन्नु पर्दछ ।
उनीहरूले मेरो अन्तिम भनाई स्वीकार गरेर भने– काङ्ग्रेसले मानवीय कमजोरीलाई आत्मसात गरेको छ । मानिसलाई कम विश्वास गर भनेको छ । यसै कारणले तपाईं काङ्ग्रेस भएको ठिकै रहेछ ।
‘सर, त्यसैले म आज पनि काङ्ग्रेस भएकोमा झनै गर्व गर्दछु । काङ्ग्रेसले गल्ती गरेको छ तर म मात्र राम्रो गर्छु भनेर अरुले जस्तो भ्रम बाँडेर दुःख दिएको छैन ।’– मसँग भेट गर्ने एक दलित साथीले भन्नुभयो ।
मैले भनेँ– जातीयताको कुरा नि ? उनले भने– जातीयताको कुरा पनि सम्झाएर समाधान गर्न सकिन्छ, दबाबले हैन । परिवर्तन भइरहेको छ । मानिसहरूमा जातीय उचनिचको कुरा गर्न लाज मान्ने पनि छन् । मानिस एक भन्ने भावना पनि त लोकतन्त्रले नै जगाउँछ । कम्युनिष्टहरूमा धनाढ्यहरू र ठुला नेताहरूले गरिवलाई गर्ने ब्यवहार जातीय उचनिच भन्दा कम छ र ?
प्रतिक्रिया