सङ्क्रमणबाट झापामा तीनको मृत्यु, सुर्खेतमा ३२ वर्षीय पुरुषको पनि निधन

सङ्क्रमणबाट झापामा तीनको मृत्यु, सुर्खेतमा ३२ वर्षीय पुरुषको पनि निधन



कोरोना भाइरसको सङ्क्रमणबाट आज बिहान झापामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक–एकजना पुरुष रहेका छन् ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । शनिवार मात्रै उपचारका लागि नोबेल पुऱ्याइएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै पोजेटिभ आएको थियो ।

योसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

यस्तै, कमल गाउँपालिका–५ मङ्गलबारेका ७२ वर्षीय खरेल थरका एक वृद्धको घरमै आज बिहान मृत्यु भएको छ । मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा सङ्क्रमण पुष्टि भएको थियो । केही दिनयता उनी होम आइसोलेसनमा बसेका थिए । योसँगै कमलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिएकी छन् ।

त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गए राति घरैमा मृत्यु भएको छ । कात्तिक १३ गते सङ्क्रमण पुष्टि भएको उनी घरैमा उपचाररत थिए । योसँगै गौरादहमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए । शनिबार पनि झापामा तीन जनाको मृत्यु भएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ ।

सुर्खेतमा ३२ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

उता, प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका– १२ का ३२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीका अनुसार, कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि शनिबार राति १० बजे अस्पताल भर्ना गरिएका ती बिरामीको ११ बजे मृत्यु भएको हो । दशैँको सप्तमीको दिनमा उच्च ज्वरो आएपछि छिन्चुमा उहाँको प्रारम्भिक उपचार भएको थियो । ज्वरो कम नभएपछि त्यहाँबाट कोहलपुर रेफर गरिएको बताइएको छ ।

ती युवकको तीन दिनअघि कोरोना परीक्षण गरिँदा रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । प्रदेशभर सङ्क्रमितको सङ्ख्या पाँच हजार ८५३ रहेको छ भने चार हजार ९५८ जना कोरोनामुक्त भइसकेका छन् ।