यस्तो छ जनरल नरावणेको नेपाल भ्रमण कार्यतालिका

यस्तो छ जनरल नरावणेको नेपाल भ्रमण कार्यतालिका



भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता भएको नेपाली सेनाको प्रष्टोक्ति


आगामी बुधबारदेखि नेपाल भ्रमण गर्न लागेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको स्पष्टोक्ति नेपाली सेनाले दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा जनरल नरावणे पालको तीन दिवसीय भ्रमणमा आउन लागेका छन्, जुन विषय यतिबेला विशेष चर्चा र टीकाटिप्पणीको सन्दर्भ बन्न पुगेको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले यसबारे अभिव्यक्ति दिँदै ‘भारतीय स्थलसेनाध्यक्ष नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको’ बताएका छन् । भ्रमणको मुख्य उद्देश्य दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढीकरण गर्ने रहेको उनको भनाइ छ ।

सेनाले जनाएअनुसार नेपाल भ्रमणको पहिलो दिन कुनै औपचारिक कार्यक्रम नभए पनि दोस्रो दिन जनरल नरावणेले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसलगतै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।

सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्ने, सेनाका पिएसओज र रथीवृन्दसँग भेटघाट र छलफलको कार्यक्रम पनि सोही दिन गर्ने तय भएको बताइएको छ । सो अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौँ दुई बैठकको सहमतिअनुरुप एम्बुलेन्सलगायत स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम रहेको जनाइएको छ ।

यस्तै, भ्रमणको दोस्रो दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने छ । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणेले १८औँ सेनापति हुनेछन् । ज्ञातव्य छ, सन् १९५० मा भारतीय सेनाअध्यक्ष केएम परिअप्पालाई पहिलोपटक मानार्थ महारथीको दर्जा प्रदान गरिएको जङ्गी अड्डाको अभिलेखले प्रष्ट्याएको छ ।

नेपालका तर्फबाट प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले विसं २०२६ मा भारतीय सेनाको मानार्थ महारथी प्राप्त गर्नुभएको उक्त अभिलेखमा उल्लेख छ । भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी प्राप्त गर्ने वर्तमान प्रधानसेनापति थापा १४औँ सेनापति हुन् ।

जनरल नरावणेको भ्रमणको कार्यतालिकाअनुसार राष्ट्रपतिसँग उनको भेटवार्ता हुने छ । सोही दिन भारतीय सेनाध्यक्षको सम्मानमा जङ्गी अड्डामा रात्री भोज आयोजना हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणको तेस्रो दिन उनी शिवपुरीस्थित आर्मी कमाण्ड एन्ड स्टाफ कलेजमा आयोजना हुने शिक्षार्थीसँगको अन्तरक्रियामा सहभागी हुने छन् ।

बताइएअनुसार रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरावणेले सोही दिन औपचारिक भेटवार्ता गर्नेछन् ।

नेपालको तीन दिवसीय भ्रमण पूरा गरी जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कनेछ ।