आफ्नै सत्ता स्वार्थको लडाई, आफ्नै दलको इतिहास त्यसमा पनि आफ्ना गूटको नेतालाई देवत्वकरण गरेर, उनको जीवनीलाई नै राष्ट्रको इतिहास मान्नेहरूसँग यो मुलुकको पाँच हजार वर्षको इतिहासको उत्तराधिकारमा दाबी गर्ने के अधिकार ?
■ केशवप्रसाद भट्टराई
१. मूल कुरो राज्य व्यवस्थाले कुनै न कुनै किसिमले निर्वाचनको मर्मलाई आत्मसात गरेको हुनुपर्दछ ।
सरकार आवधिक हुनुपर्दछ र सरकारलाई जनताप्रति उत्तरदायी बनाउने बलियो संस्थागत र वैधानिक व्यवस्था हुनु पर्दछ ।
२. सङ्घीय कि एकात्मक, राजतन्त्र कि गणतन्त्र, संसदीय कि राष्ट्रपति प्रणाली ?
त्यसका अलग–अलग निर्वाचन प्रणाली सबै तपसीलका कुरा हुन् ।
३. शासन व्यवस्थाको स्वरूप आफ्नो मुलुकको इतिहास, परम्परा, संस्कृति अनुसार निर्धारण गरिन्छ ।
बेलायतले आफ्नो आवश्यकता र राजनीतिक संस्कृतिअनुसार शासनको स्वरूप विकास गऱ्यो,
अमेरिकाले आफ्नो र फ्रान्सले आफ्नो ।
४. जसले आफ्नो आवश्यकता, परम्परा र संस्कृतिअनुरूप शासन व्यवस्था विकास गरे ती अमेरिका, बेलायत, फ्रान्स, जर्मनी आदि बने ।
जसले शासन व्यवस्था आयात गरे ती नेपाल, अफगानिस्तान, कङ्गो आदि बन्न पुगे ।
५. मुलुकको इतिहास पाँच हजार वर्षको हो कि पाँच सय वा पचास वर्षको हो त्यसले फरक पार्दैन ।
पाँच हजार वर्षको इतिहास हो भने त्यो पाँच हजार वर्षको इतिहासको शिक्षा ग्रहण गरियो कि गरिएन ?
त्यो महत्वपूर्ण कुरा हो ।
त्यो पाँच हजार वर्षमध्ये राष्ट्रिय उद्यम, पुरुषार्थ र उपलब्धिको वर्षचाहिँ कति रह्यो त्यो हो महत्वपूर्ण ।
कुनै मुलुक प्रत्यक्ष वा परोक्ष कसैको उपनिवेश रह्यो रहेन ? त्यो पनि कुनै सवाल बन्दैन, त्यसको शिक्षा मुलुकले ग्रहण गऱ्यो गरेन, महत्व त्यसको हो ।
६. वर्तमानलाई हेर्दा नेपालको पाँच हजार वर्षको इतिहासको कुनै अर्थ देखिन्न ।
यो कसैको प्रत्यक्ष वा परोक्ष उपनिवेश रह्यो रहेन ?
त्यसले पनि खासै माने राख्दैन, इतिहासका विद्यार्थीहरूलाई सन्दर्भ सामग्री प्रदान गर्नुबाहेक ।
७. धेरै वर्षदेखि हामीले दलको इतिहास लेख्यौँ,
नेताहरूको जीवनी लेख्यौँ, आत्मकथा लेख्यौँ,
मुलुकको इतिहास लेखेनौँ ।
विश्वविद्यालयहरू धेरै खुले तर मुलुकको इतिहास अध्ययन गर्ने,
मुलुकको इतिहासमा अध्ययन र अनुसन्धान गर्ने विश्वविद्यालय खुलेनन् ।
८. प्रज्ञा प्रतिष्ठानहरू राष्ट्रले खोल्यो तर ती राष्ट्रको इतिहास खोज्न र लेख्न कसैलाई जागिर खुवाउन खुलेका जस्ता देखिए ।
बाबुराम आचार्य, नयराज पन्त र योगी नरहरिनाथ, डिल्लीरमण रेग्मीहरूले आफ्नै स्वैच्छिक लगानीमा, आफ्नै अन्तरात्माको पुकार सुनेर,
आफ्नै विवेकको बलमा स्वप्रेरित भएर राष्ट्रलाई इतिहास भन्न मिल्ने केही सामग्री दिए ।
तर सरकारहरूले ?
लाग्दछ कुनै नेताका नाउमा खुलेका प्रतिष्ठानले नेपालमा कुनै विश्वविद्यालय वा प्रज्ञा प्रतिष्ठानले भन्दा बढी बजेट पाउँछन् ।
त्यसैले आज आएर हामीसँग त दलको इतिहास छ, समग्र राष्ट्रको इतिहास नै छैन ।
९. एकाध विद्वानहरूले आफ्नो वौद्धिक क्षुधा मेट्न वा अन्य कुनै विचारबाट प्रेरित भएर इतिहासका केही सामग्री मुलुकलाई दिए होलान् ।
तर राज्यले लगानी गरेका संरचनाहरूबाट दशकौँदेखि मुलुकको इतिहासमा कुनै अध्ययन, अनुसन्धान भएको लाग्दैन ।
पाँच हजार वर्षको इतिहास भएको मुलुक भनेर दाबी गर्ने तर गएको पाँच सय वर्ष, पचास-साठी वर्षको प्रामाणिक र मान्य इतिहास पनि मुलुकसँग नहुने !
१०. काङ्ग्रेसले आफ्नो इतिहासलाई राष्ट्रको इतिहास मान्ने,
कम्युनिस्टले पनि आफ्नै सही गलत कर्मलाई राष्ट्रिय इतिहास दाबी गर्ने,
राजावादीले त्यही गर्ने !
आफ्नै महत्वाकांक्षा र सत्ता स्वार्थको लडाइँ,
आफ्नै दलको इतिहास त्यसमा पनि आफ्ना गूटको नेतालाई देवत्वकरण गरेर उनको जीवनीलाई नै
राष्ट्रको इतिहास मान्नेहरूसँग यो मुलुकको पाँच हजार वर्षको इतिहासको उत्तराधिकारमा दाबी गर्ने के अधिकार ?
११. अनि दलको इतिहास, दलमा आफ्ना गूटका नेताको नेताको जीवनीलाई, उनको वा आफ्नो आत्मकथालाई राष्ट्रको इतिहासलाई भन्दा बढी महत्व दिनेहरूले मुलुकको हजारौँ वर्षको इतिहासको शिक्षा ग्रहण गरेर आफ्नो मुलुककोलागि स्वस्थ्य, समुन्नत, प्रभावकारी र उत्तरदायी राज्य व्यवस्था विकास गर्लान् भनेर हामी भर पर्ने ?
‘ञी !’
‘ञी !’
‘ञी !’
प्रतिक्रिया