राष्ट्रियता र विकाश

राष्ट्रियता र विकाश



■ डा. ध्रुवलाल पाण्डे


नेपालमा राष्ट्रियतालाई आ-आफ्ना किसिमले आफूलार्ई फाइदा हुने गरी विभिन्न राजनैतिक दल र व्यक्तिले ब्याख्या गरेको पाइन्छ । त्यसैले यहाँ राष्ट्रियताको परिभाषा उल्लेख गर्नु वान्छनीय देखिन्छ ।

स्टानफोर्ड इन्साइक्लोपेडियाका अनुसार चार मुख्य कुरालार्ई राष्ट्रियताको परिचायकको रुपमा ब्याख्या गरेको पाइञ्छ । जसमा राष्ट्रको आधारमा पहिचान, देशप्रति लगाव, देशको विकाशमा विशेष चासो राख्नु र देशको हितका लागि कुनै पनि कुरा त्याग्न तयार हुनुलार्ई राष्ट्रियताका आधारहरू मानिएको छ । मेरियम वेब्स्टर शब्दकोशले देशलार्ई माया गर्नु र देशप्रति समर्पित हुनुलार्ई राष्ट्रियताका रूपमा चित्रित गरेको छ । त्यसैगरी बालचन्द्र शर्माद्वारा २०५७ सालमा तयार पारिएको नेपाली शब्दकोशमा पनि राष्ट्रियतालाई आफ्नो राष्ट्रप्रतिको भक्तिभावनाका रूपमा चित्रित गरिएको छ । त्यसैले समग्रमा भन्ने हो भने देशलार्ई माया गर्नु र देशको हितमा हुने गरी कार्य गर्नुलार्ई नै राष्ट्रियताको रूपमा बुझ्नु पर्दछ ।

नेपालमा राष्ट्रियतालाई राजनीतिक हतियारका रूपमा नेपालका शासकहरूले पञ्चायतकालदेखि नै प्रयोग गर्दै आएको पाइन्छ । पञ्चायतका प्रादुर्भावकर्ता स्वर्गीय राजा महेन्द्रले भारतीय र चाइनिज कार्डहरू आफूलार्ई आवश्यक परेको बेलामा प्रयोग गर्दै आएको कुरा सर्वविदितै छ र विभिन्न समयका घटनाक्रमहरूले समेत त्यसको पुष्टि गर्दछन् ।

त्यसैगरी बहुदलिय ब्यवस्था आइसकेपछि पनि राष्ट्रियतालाई राष्ट्रिय हितभन्दा पनि राजनैतिक व्यक्तिका आकाङ्क्षा पूरा गर्न प्रयोग (सदुपयोग वा दुरुपयोग) गर्ने गरेको पाइन्छ । हालको समयमा आएर भारतलाई गाली गर्नु नै राष्ट्रियताको ठूलो परिचायकको रूपमा ब्याख्या गर्ने गरेको पाइन्छ । नेपालले संविधान जारी गरिसकेपछि भारतले लगाएको नाकाबन्दीको समयमा नेपाली जनता भारतविरुद्ध भएकाले केही राजनीतिक नेताहरूले त्यही जनताको मनोभावनालाई बुझेर भारतको विरोध गर्न थाले र त्यसैलार्ई नै राष्ट्रियताको रूपमा परिभाषित गरे । त्यसै मन्त्रलार्ई प्रयोग गरी नेकपाले आम निर्वाचनमा बहुमत ल्यायो भनेर बुझ्ने जनता पनि नेपालमा धेरै रहेका छन् । यसरी भारतलार्ई गाली गरेर बहुमत आइसकेपछि गाली गर्नु नै ठूलो राष्ट्रवादी हुनु हो भन्ने मानसिकता विकसित हुँदै गएको पाइन्छ । आजभोलि आफूलार्ई अप्ठ्यारो पर्दा भारतीय कार्डको प्रयोग गरी राष्ट्रवादी बन्ने होड नै नेपालमा चल्न थालेको हो कि भन्ने भान नेताहरूका क्रियाकलापबाट पर्न थालेको छ ।

राष्ट्रियतालार्ई राष्ट्रको विकाशसँग जोड्न सकियो भने मात्र राष्ट्रियता टिकाउ र दीर्घकालीन हुन्छ । यस्तो भड्काउपूर्ण नाराको राष्ट्रियता अल्पकालीन र प्रत्युत्पादक हुन सक्दछ । त्यसैले मूख्य राजनैतिक नेताहरूले आफूलार्ई राष्ट्रवादी देखाउन देशको द्रुततर विकाश हुने गरी कुटनैतिक सम्बन्धमा जोड दिनु बुद्धिमानी हुन्छ । राष्ट्रियता बलियो बनाउन आफ्नो भन्दा राष्ट्रको हितलार्ई र जनतामा विश्वास सिर्जना हुने वातावरण बनाउनु जरुरी हुन्छ ।

नेपालको विकास विशेषगरी विद्युत उत्पादन र पर्यटन क्षेत्रको विकाशमा भर पर्दछ । नेपालले यी क्षेत्रको विकाशका लागि भारतसँगको साझेदारी आवश्यक छ, किनभने विद्युत बिक्रीका लागि समेत नेपाल भारतमा निर्भर हुनुपर्दछ । नेपालमा बढी भएको बिजुली भारतले किनिदिएन वा अन्य देशलाई विद्युत बिक्री गर्न प्रशारण लाइन दिएन भने बिक्री गर्न सकिँदैन । आफ्नो लगानी नभएको सामान नकिन्ने नीति भारतले पहिले पनि अपनाइसकेको छ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा फिल्मको रिल उत्पादन गर्ने विश्वप्रसिद्ध अमेरिकन कम्पनी नेपालमा आयो, तर तत्कालीन भारतीय सरकारले आफ्नो लगानी नभएको कम्पनीले उत्पादन गरेको रिल आयात नगर्ने नीति लियो जसले गर्दा उक्त कम्पनी फिर्ता गएको कुरा हामीले बिर्सिनु हुँदैन । गिरिजाप्रसाद जस्तो नेताले त उक्त कम्पनी जोगाउन सकेनन् भने अहिलेका नेताहरूबाट सजिलै काम हुन्छ भन्ने कुरा विश्वास गर्न सकिँदैन । अर्कोतर्फ भारतमा ठूलो जनसङ्ख्या र धेरै आम्दानी भएको जनता पनि धेरै छ । नेपालको भारतसँगको दूरी कम छ जसले गर्दा उनीहरूलार्ई नेपाल घुम्न सस्तो पर्छ भने धार्मिक पर्यटनको सम्भावना पनि धेरै छ । त्यसैले नेपाल र भारतको बहुआयामिक सम्बन्धलार्ई पारस्परिक आर्थिक हितमा प्रयोग गर्न सकिएमा मात्र राष्ट्रियता बलियो हुने कुरामा अन्यथा विचार राख्न सकिँदैन ।

आर्थिक राष्ट्रवाद र राजनैतिक राष्ट्रवाद फरक कुरा भएकाले छुट्याएर हेर्नु पर्दछ । देशको हितमा हुने गरी राष्ट्रियताको प्रयोग गर्नुपर्छ र राष्ट्रियताको परिभाषाअनुसार पनि राष्ट्रियता भनेको राष्ट्रहित नै हो । राष्ट्रियतालाई भुटानले गरेको प्रयोग नेपालका लागि पनि उदाहरण हुन सक्दछ । भुटान पनि विद्युत उत्पादनमा प्रचुर सम्भावना भएको देश हो । भुटानले २०२० को अन्त्यसम्ममा १० हजार मेघावाट बिजुली उत्पादन गर्ने उदेश्य लिएको छ र सो उत्पादनमा भारतको ठुलो योगदान रहेको छ । भुटान उक्त बिजुली भारतलार्ई बेचेर प्रत्यक वर्ष ठुलो धनराशि भित्र्याउने गर्दछ र हाल भुटानका जनता संसारका खुशी जनताहरूमध्ये ५ देशका जनताभित्र पर्दछन् । उक्त कार्यबाट भुटानले आफ्ना जनताको कुल ग्राहस्त उत्पादन प्रतिव्यक्ति आयमा समेत ब्यापक सुधार गर्दै आएको छ । उदाहरणका रूपमा हेर्दा भुटानको सन् १९८० मा कुल ग्राहस्त उत्पादन प्रतिव्यक्ति आय ३३३ अमेरिकी डलर थियो भने सन् १९९० मा आउँदा ५६५ अमेरिकी डलर पुऱ्यायो । सन् २०१९ मा आफ्नो आयमा व्यापक सुधार गरी ३४२३ अमेरिकी डलर र सन् २०२० मा ३०५० अमेरिकी डलर हुने अनुमान गरेको छ । तर सोही अवधिको तथ्यांकलाई हेर्ने हो भने नेपालको वृ४ि अत्यन्तै कम छ । नेपालको सन् १९८० मा कुल ग्राहस्त उत्पादन प्रतिव्यक्ति आय १३० अमेरिकी डलर थियो भने सन् १९९० मा सो रकम बढेर १९२ अमेरिकी डलर पुगेको थियो जुन वृद्धि अत्यन्तै न्युन हो । सन् २०१९ मा नेपालको कुल ग्राहस्त उत्पादन प्रतिव्यक्ति आय १०७१ अमेरिकी डलर रहेको थियो भने सन् २०२० मा उक्त आय ८३० अमेरिकी डलर हुने अनुमान गरिएको छ ।

त्येसैले एउटा सानो छिमेकी मुलुकले गरेको प्रगति र कायम गरेको समानताबाट सिकेर आफ्नो राष्ट्र र जनताको हितमा हुने गरी दुईपक्षीय वा बहुपक्षीय छलफल गरि देशमा लगानी भित्र्याउन सकेमा र देश हितमा हुने गरी राष्ट्रिय प्राकृतिक स्रोत र साधनहरूको दुईपक्षीय र बहुपक्षीय प्रयोग गर्न सकेमा देशको द्रुत विकाश गर्ने जनताको चाहना पूरा भई राष्ट्रियताको सम्बद्र्धन हुने कुरामा दुई मत रहन सक्दैन । छिमेकी (भारत र चीन दुवै) लार्ई फेर्न नसकिने हुनाले र दुवै राष्ट्र शक्तिराष्ट्र समेत रहेकाले कुनै पनि छिमेकीसँग कटुतापूर्ण सम्बन्ध राखेर हाम्रो जस्तो सानो र दुई ठुला शक्तिसम्पन्न राष्ट्रका बीचमा रहेको राज्यको सम्प्रभुता बचाउन र देशको विकाश गर्न कठिन हुन्छ ।

त्यसैले कुनै पनि छिमेकीसँग कटु ब्यबहार गर्नुभन्दा कुटनैतिक मर्यादा पालन गरी चलाखीपूर्ण तथा सावधानीपूर्ण तरिकाले अगाडि बढ्न सकेमा गौरवपूर्ण इतिहास रहेको नेपालको राष्ट्रियतामा कसैले छड्के आँखासमेत लगाउन सक्दैन । त्यसैले निहुँ खोज्नु भन्दा संयमित भएर कुटनैतिक प्रयास गर्दा आर्थिक विकाश, रोजगारी सिर्जना र राष्ट्रियता सम्वद्र्धन हुने कुरामा शङ्का छैन ।

अन्त्यमा सम्पूर्ण नेपाली जनता, राजनैतिक नेताहरू र उच्चपदस्त सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले बेलैमा सचेत भई छिमेकीहरूप्रतिको नकारात्मक धारणामा परिवर्तन गरी पाइला चालेमा राष्ट्रियताको सम्वद्र्धन र आर्थिक विकाश हुने र राष्ट्रियता पनि बलियो हुन्छ ।


(लेखक ब्यवस्थापन केन्द्रीय विभाग, त्रिविका सह–प्राध्यापक हुन् ।)