अस्पतालमा शैय्याका अभाव हुन थालेपछि सरकारद्वारा पाँच सय आईसियु र तीन सय अक्सिजन थेरापी वार्ड विस्तारको तयारी
सनत आचार्य, बेल्जियम
कोरोना भाइरसको सङ्क्रमण, अस्पताल भर्ना र मृत्यु हुनेको सङ्ख्या दिनानुदिन बढेसँगै बेल्जियममा कार्तिक १८ (नोभेम्बर ३) देखि दोश्रो चरणको बन्दाबन्दी (लकडाउन)को घोषणा गरिएको छ ।
बन्दाबन्दीपूर्व प्रधानमन्त्री अलेक्सजान्दर डे क्रोले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भनेका छन्– ‘हामीलाई थाहा छ कोरोना भाइरस आर्थिक रूपले महँगो सावित हुँदै गएको छ । संक्रमणका कारण अधिकांश नागरिकले पुनः आफ्ना क्रियाकलाप रोक्ने अवस्था श्रृजना भएको छ । यो विषम परिस्थितिमा यहाँहरूले सरकारलाई सहयोग गर्नुभयो भने सरकारले पनि यहाँहरूलाई सहयोग गर्ने छ ।’
‘यो क्षण ऐक्यवद्धताको हो र जसले संघर्ष गरिरहेका छन् उनीहरूको रेखदेख गर्ने समय पनि हो । यदि हामीले आगामी चारदेखि ६ हप्तासम्म एकआपसमा सहयोगको भावना राख्यौँ भने हामी पुनः पुरानै अवस्थामा फर्कन सक्छौँ’– प्रधानमन्त्री डे क्रोले भने ।
गत शुक्रबार बन्दाबन्दीको घोषणा गरेपश्चात यतिबेला बेल्जियमका मुख्य-मुख्य शहरहरू प्रायः सुनसान देखिएका छन् । पठनपाठन हुन नसक्ने अवस्था देखिएपछि अधिकांश विद्यार्थीहरू आ-आफ्नो घरतर्फ लागेका छन् । आवश्यक कामबाहेक अन्य कामका लागि बाहिर ननिस्कन सबैलाई आग्रह गरिएको छ ।
सेना र प्रहरीलाई उच्च सतर्कतामा राखिएको छ । बिरामीहरुलाई अस्पताल पुऱ्यायाउन धेरै समय लाग्ने अवस्था देखिएमा सेना र प्रहरीको हेलिकप्टरबाट बिरामीलाई अस्पतालसम्म पुऱ्याउने काम गरिएको छ । राजधानी ब्रसेल्सका आइसियुका सम्पूर्ण शैय्याहरू भरिभराउ भएको हुँदा त्यहाँ आउने बिरामीलाई बेल्जियमका अन्य अस्पतालमा सार्ने गरिएको छ । ती शैय्याहरुमा ठाउँ नभए देशबाहिर लग्ने प्रवाधान पनि सरकारले मिलाएको छ । यसका लागि छिमेकी मुलुक जर्मनसँग सरकारको सम्झौता भएको छ ।
काममा हिँडेकाहरुले मास्क लगाएको वा नलगाएको निगरानी गरिएको छ । त्यस्तै अत्यावश्यक सेवा लिने स्थानमा भौतिक दूरी कायम गरिएको छ वा छैन भन्ने विभिन्न माध्यमबाट निगरानी गरिएको छ ।
पछिल्लो केही हप्तायता दैनिक १५ हजार ५ सय मानिसमा कोरोना संक्रणम पुष्टि हुँदै जाँदा अस्पताल समेत भरिभराउ भएका छन् ।
कोरोना भाइरसका कारण बेल्जियमबाट जर्मनी र फ्रान्स चल्ने फ्लिक्सबसको सेवालाई समेत बन्द गरेको कम्पनीले जनाएको छ ।

बन्दाबन्दीमा बेल्जियम सरकारद्वारा जारी गरिएको नयाँ नियम –
एक परिवारले एक जना नजिकका आफन्तलाई मात्र कुनै पनि समयमा बोलाउन पाउने छन् । पाहुनालाई लामो समयसम्म बस्न निषेध गरिएको छ । अन्य कुनै पनि आगन्तुक घरमा आउन पाउने छैनन् ।
घरबाहिर ४ जना मानिसलाई मात्र भेट्ने पाइने छ तर ती सबैले अनिवार्य मास्क लगाउन र भौतिक दूरीको कायम राख्नुपर्ने छ ।
अत्यावश्यक बाहेकका पसलहरू बन्द गरिएका छन् तर बाटोबाटै सामान लग्न सक्ने र घरमै सामान दिने (होम डेलेभरी) व्यवस्था गरिएको छ ।
रेष्टुरेण्टहरूलाई राति १० बजे सम्मका लागि मात्र ‘टेक अवे’को अनुमति दिइएको छ ।
मृत्यु संस्कारमा बढिमा १५ जना मानिस मात्र उपस्थित हुन पाउने छन् तर भोजभतेर गर्न पाइने छैन ।
प्रार्थना गर्ने घरहरू खुल्ला रहनेछन् तर प्रार्थना गर्न पाउने छैनन् ।
प्लान्दर्स क्षेत्रमा राति १२ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ भने बालोनिया क्षेत्रमा राति १० बजेदेखि बिहान ६ सम्म ।
बिदा मनाउने पार्कहरू आजका मितिदेखि पुनः बन्द गरिएको छ । होटल र फास्टफुड खोलिएका छन्, तर बार र रेष्टुरेण्टहरु बन्द गरिएको छ । सबै प्रकारका खाना कोठामा मात्र खान पाइने छ ।
सैलुन, ब्युटिपार्लर, क्लबहरू बन्द गरिएको छ । कम्पनी र कृषि व्यवसायहरुलाई खुल्ला गरिएको छ । घरेलु काम खुल्ला गरिएको छ । चिडियाखाना बन्द गरिएको छ ।
एक्लै बस्ने व्यक्तिले २ जनासम्म घरमा बोलाउन र अंकमाल गर्न पाउने छन् तर अन्य व्यक्तिहरूमा भने निषेध गरिएको छ ।
सुपरमार्केट र मार्केट २०० जनाभन्दा कम मानिस हुने गरी अत्यावश्यक सामानका लागि खुल्ला गरिएको छ । ग्यारेज र साइकल पसलहरू मर्मतका लागि मात्र खुल्ला गरिएको छ ।
राजधानी ब्रसेल्सका ड्राइभिङ कक्षाहरू बन्द गरिएका छन् ।
प्राथमिक तहसम्मका विद्यालयहरू नोभेम्बर १५ सम्मका लागि बन्द गरिएका छन् । माध्यामिक तहसम्मका प्रथम श्रेणीको कक्षा पनि सोही मितिपश्चात खुल्ने छन् । तर द्वित्तीय र तृत्तीय श्रेणीका कक्षाहरू भने ५० प्रतिशत मात्र विद्यार्थी रहने छन् । अन्य ५० प्रतिशत विद्यार्थीहरूले अनलाइन कक्षाद्वारा पठनपाठनलाई निरन्तरता दिनुपर्ने छ ।
उच्च शिक्षाका सम्पूर्ण नियमित कक्षाहरू यो वर्षको अन्त्यसम्मका लागि बन्द गरिएका छन् । तथापि विद्यार्थीहरूलाई दूर शिक्षा वा अनलाइन शिक्षाका कक्षाहरुबाट पठनपाठन गराइने छ । प्रथम वर्षका केही कक्षाहरू डिसेम्बर १ बाट नियमित गर्न सकिने जनाइएको छ ।
युरोपियन गाइडलाइनअनुसार सिमाहरु बन्द गरिएका छैनन् । तर बाह्य आगमनलाई निरुत्साहन गरिएको छ ।
बाबुआमा, साक्षी र सिभिल रजिष्टर्सको उपस्थितिमा विवाह गर्न पाइने छ ।
सम्भव भएसम्म घरबाटै कामलाई प्रोत्साहन गरिएको छ । यदि घरबाट काम गर्न सम्भव नभएमा मास्कको प्रयोग अनिवार्य गरिएको छ । कार्यालयका क्यान्टिन बन्द गरिएको छ ।
बेल्जियममा दोश्रो चरणको लकडाउन डिसेम्बर १३ सम्मको हुने छ । अधिकारीहरुले डिसेम्बर १ तारिखका दिन यसको समीक्षा गरेर लकडाउन थप्ने वा नथप्ने निधो गर्ने छन् ।
अधिकारीहरुले दोश्रो चरणमा देखापरेको कोरोना भाइरस पहिलेको भन्दा झन् नराम्रो भएको बताएका छन् । कोरोना संक्रमण ह्वात्तै बढेसँगै सरकारले ५ सय नयाँ आइसीयु र ३ सय सैय्याको अक्सिजन थेरापी अस्पतालको निर्माण चाँडै गर्ने जनाएको छ ।
एक करोड दश लाख जनसंख्या रहेको बेल्जियम दोश्रो चरणको कोरोना भाइरसको संक्रमणले आक्रान्त बनेको छ । पछिल्लो चरणमा युवाहरुलाई संक्रमण देखिनुमा युवा समुदायको रात्री जीवन र सम्पर्कलाई नै मानिएको छ ।
त्यस्तै दोश्रो यो चरणमा उत्पादनमूलक कामलाई निरन्तरता दिने नीति सरकारले लिएको देखिन्छ । यो पटक भने बेल्जियम सरकारले गत बन्दाबन्दीमा दिएका सेवा सुविधामा भारी कटौती गर्ने देखिएको छ ।

प्रतिक्रिया