■ बबिता बस्नेत
कसैलाई मार्ने त के मार्ने कल्पना मात्रै गर्नु पनि खराब सोच हो । हरेक मानिसले सकेसम्म जिन्दगी शान्तिपूर्वक बाँच्नुपर्छ, बाँच्न पाउनुपर्छ । तर, कहिलेकाहीँ जिन्दगीमा यस्ता आपतकालीन क्षणहरू आउँछन् जसबाट जोगिनका लागि मानिसले अरूको हत्या गर्ने अवस्थामा पुग्नु पर्दोरहेछ । धनकुटाको महालक्ष्मी नगरपालिकाकी ३० वर्षीया एक महिला अहिले यस्तै हत्यामा संलग्न हुँदा प्रहरी हिरासतमा छिन् ।
कुनै दिन आफ्नो हातबाट कुनै मान्छेको हत्या गर्नुपर्ला भन्ने उनले सायदै सोचेकी थिइन् । तर, यही २०७७ साल असोज २७ गते आफूमाथि बलात्कारको प्रयास भएपछि आत्मरक्षाका लागि उनले आफ्नै उमेरका एक पुरुषको हत्या गर्नुपऱ्यो । आफ्नो ११ वर्षीय छोरासहित घरमा सुतिरहेकी उनलाई गाउँकै लीलबहादुर नाम गरेका ब्यक्तिले ढोका ढकढक्याई चुकल फुस्काएर भित्र पसी हातपात गर्न शुरु गरेपछि उनले ती ब्यक्तिको हत्या गरेकी थिइन् । आमाले कराएपछि आफू निन्द्राबाट ब्युँझिदा आमालाई हातपात गरिरहेको देखेको उनका नाबालक छोराले मिडियामा बताउँदै गरेको दृष्य मन विक्षिप्त बनाउने खालको थियो । हत्या गरेपछि महिला आफैले प्रहरीमा जानकारी गराएकी थिइन् ।
पति वैदेशिक रोजगारीमा रहेकाले आफ्नो नाबालक छोरो हुर्काएर एक्लै बस्दै आएकी ती महिलामाथि अकस्मात आइपरेको दुर्घटनाको न्यायिक प्रक्रिया कहाँ पुग्यो होला ? घरी–घरी मनमा प्रश्न उठ्न थालेपछि यो पङ्क्तिकारले यही २०७७ साल कार्तिक १७ गते सोमबार धनकुटामा रहेका पत्रकार र अधिवक्ता साथीहरूसँग सोधखोज गऱ्यो । ती महिला अहिले प्रहरी हिरासतमा रहेको जानकारी पाएपछि धनकुटा जिल्ला प्रहरी प्रमुख एस्पी गोविन्द अधिकारीसँग मुद्दा के भइरहेको छ ? भनेर सोधेँ । घटनामा भेटिएका प्रमाणहरू सङ्कलन गरी अदालतमा पेश गर्ने तयारी भइरहेको जानकारी पाएपछि उहाँसँग सोध्ने अरू खासै प्रश्न थिएनन् । तर मनमा भने ती महिलाले कहिले न्याय पाउलिन् भन्ने प्रश्नले ठाउँ लिइरह्यो ।
कतिपय मुद्दामा दुःखी हुनका लागि आफ्नै जीवनमा आँधी आउनु पर्दैन, अरूको जीवनमा आएको विपद्ले मानिसलाई कैयौँ दिनसम्म ‘डिस्टर्ब’ बनाउन सक्छ । धनकुटा-घटना त्यसैमध्येको एउटा हो ।
आफ्नै आँखाअगाडि आमाको बस्त्र उतार्दै गरेको र आत्मरक्षाका लागि आमाले खुकुरी प्रहार गरेको दृष्यले ती नाबालक छोराको मस्तिष्कमा कस्तो असर परेको होला ? आमा प्रहरी हिरासतमा पुगेपछि उनको रेखदेख कसले गरिरहेको होला ? ती महिलाले न्याय पाएर गाउँ फर्किएपछि तिनलाई समाजले हेर्ने दृष्टिकोण र गर्ने ब्यवहार कस्तो होला ? सहायक बनेर यी तमाम प्रश्नहरू अगाडि आए । कतिपय मुद्दामा दुःखी हुनका लागि आफ्नै जीवनमा आँधी आउनु पर्दैन, अरूको जीवनमा आएको विपद्ले मानिसलाई कैयौँ दिनसम्म ‘डिस्टर्ब’ बनाउन सक्छ । धनकुटा–घटना त्यसैमध्येको एउटा हो ।
बलात्कार गर्न आउँदैमा मान्छेको ज्यानै लिन हुन्थ्यो ? बलात्कारका नाममा मान्छे मार्न मिल्छ ? सजाय पो दिने हो, हत्या नै गर्नु उचित हुन्छ र ? कतिले यस्ता प्रश्न पनि गरेका सुनिन्छन् । हाम्रो कानूनले आत्मरक्षाका लागि कसैको हत्या हुन्छ भने त्यसलाई अपराध मान्दैन । कानूनतः बलात्कारीलाई तत्काल हत्या गर्न मिल्छ, पाइन्छ । मुलुकी अपराध संहिता २०७४ को दफा २४, २५ र २६ मा यसको ब्यवस्था गरिएको छ । यी दफामा निजी रक्षाको लागि गरेको काम कसूर नमानिने अन्य धेरै कुरासहित बलात्कारलाई लिएर ‘जबर्जस्ती करणी गर्ने नियतले आक्रमण गरेको हो भन्ने मनासिव विश्वास भई वा जबर्जस्ती करणी गर्दाका बखत वा गरिसकेपछि पीडितबाट तत्काल कुनै काम भएकोमा कसुर लाग्ने छैन’ भनिएको छ । तत्कालीन मुलुकी ऐनको जबर्जस्ती करणीको महल ८ मा कुनै महिलालाई जबर्जस्ती करणी गरेमा या गर्ने प्रयास गर्दा एक घण्टाभित्र रिस थाम्न नसकी बलात्कारीको हत्या गरेमा अपराध नठहरिने ब्यवस्था थियो ।
हाम्रा शास्त्रहरूमा बलात्कारलाई अपराध मानेर त्यस्ता अपराधीलाई उचित दण्ड दिनुपर्ने उल्लेख छ । महाभारत यस्तो ग्रन्थ हो जहाँ सृष्टि र मानव जीवनमा हुने सबै प्रकारका घटना, दुर्घटना, उतार–चढाव, मानवीय प्रवृत्तिलगायतका कुरा उल्लेख छन् । महाभारतकी प्रमुखमध्ये एक पात्र द्रौपदीमाथि दुई पटक बलात्कारको प्रयास भएको थियो । एकपटक पाण्डवहरू बनबास गएका बेला आफ्नै नन्द दुसला (धृतराष्ट्र र गान्धारीकी छोरी) का पति जयद्रथले जङ्गलमा बलात्कारको प्रयास गर्छ । द्रौपदीले त्यतिबेला तिमी नन्दका पति मेरो ज्वाइँ हौ, के गरेको यस्तो ? भन्दै प्रतिकार गरेकी हुन्छिन् । अहिले हामीकहाँ घटनाक्रम र तथ्याङ्कलाई हेर्दा आफ्नै नातेदारबाट बलात्कृत हुनेहरूको सङ्ख्या धेरै छ । जयद्रथलाई त्यतिबेला चार पाटा मुडेर सजाय दिइएको थियो । जुन तात्कालिन समाजमा एउटा राजकुमारका लागि हत्या सरहको सजाय थियो । दोश्रोपल्ट पाण्डवहरू विराट राजाको दरबारमा अज्ञातबास बसेको बेला सेनापति किचकले सैरन्दरी नामले रानीकी सुसारे बसेकी द्रौपदीलाई बलात्कारको प्रयास गर्छ । त्यतिबेला राजाकै भान्से बसेका भीममार्फत सेनापति किचकको द्रौपदीले हत्या गर्छिन् । काम गर्ने सहयोगी, सुसारेहरूमाथिको यौन शोषण र बलात्कारको श्रृङ्खला त्यतिबेलादेखि नै रहेछ । अहिले पनि शक्तिशालीले निर्धामाथि नै यस प्रकारका कार्य गर्ने हुन् ।
हाम्रो कानूनले आत्मरक्षाका लागि कसैको हत्या हुन्छ भने त्यसलाई अपराध मान्दैन । कानूनतः बलात्कारीलाई तत्काल हत्या गर्न मिल्छ, पाइन्छ । मुलुकी अपराध संहिता २०७४ को दफा २४, २५ र २६ मा यसको ब्यवस्था गरिएको छ ।
मानिसको जीवनमा कहिलेकाहीँ शालिनता, शिक्षा, कुल, खानदान, दर्शन, उपदेश जस्ता कुराले काम नगर्ने समय आउँछ । महिलाको जीवनमा कसैले गर्ने बलात्कारको प्रयास या बलात्कार त्यस्तै समय हो । बलात्कार जुन स्तरको अपराध हो त्यस रूपमा हामीकहाँ हेरिएको छैन । रक्सी खाएको थियो होला…, होसमा थिएन होला…, त्यही महिलालाई किन त्यस्तो गऱ्यो होला त…, महिलाकै गल्ती थियो कि…, बलात्कारीको बाँच्ने अधिकार त खोस्न हुँदैनथ्यो… या बाँच्न त जसले पनि पाउनुपर्छ… ! यसो भन्दाभन्दै सयौँ वर्ष बितिसकेको छ । सकेसम्म मान्छे मार्न हुँदैन, मान्छे त के कुनै पनि प्राणीलाई मार्न हुँदैन तर आफू मर्ने अवस्था आएपछि मानिसले प्रतिरक्षा गर्न मिल्छ । बलात्कार गर्नु कसैको हत्याभन्दा सानो अपराध होइन । तर बलात्कारलाई हामीकहाँ सधैं सामान्य ढङ्गले लिइयो, लिइरहिएको छ । जसको परिणाम ८० वर्षकी हजुरआमादेखि ३ वर्षकी नातिनी पुस्तासम्मले भोगिरहेका छन् ।
२०४६ सालको प्रजातन्त्रपछि २०४७ साल वैशाखमा बनेको अन्तरिम सरकारमा योगप्रसाद उपाध्याय गृहमन्त्री हुनुहुन्थ्यो । सोही वर्ष राजधानीमा भएको बालिका बलात्कारको घटनालाई लिएर महिलाहरू गृहमन्त्रीकहाँ ‘डिलिगेशन’ गए । उहाँले बलात्कारबाट जोगिनका लागि महिलाले लामो नङ पाल्नुपर्ने र खुर्सानीको धुलो ब्यागमा बोक्नुपर्ने ‘सुझाव’ दिनुभयो । मन्त्रीको सुझावले आक्रोशित महिलाहरूले महिला सुरक्षा दबाब समूहको नामबाट आन्दोलन गरे । यो समूह अहिले पनि सञ्जालका रूपमा जीवित छ । यो ३० वर्षको बीचमा राज्य सञ्चालकहरूमा बलात्कारलाई लिएर हेर्ने दृष्टिकोण र निर्माण गर्ने नीति र दिने अभिब्यक्तिमा खासै फरक आएको छैन । २०४७ सालमा गृहमन्त्री योगप्रसाद उपाध्यायले सुरक्षाका लागि नङ र खुर्सानीको कुरा गर्नुभएको थियो, २०७७ सालमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अन्य मुलुक हेरी बलात्कारको सवालमा हाम्रो देश त्यति नराम्रो अवस्थामा नरहेको अभिब्यक्ति दिनुभयो । त्यसअघि उहाँले बलात्कार हिजो पनि थियो, आज छ र भोली पनि रहन्छ भन्नुभएको थियो ।
धनकुटाकी महिलामाथि भएको घटनामा मुद्दा अगाडि बढाउन २४ दिन म्याद छँदैछ भनेर पर्खिनै नपर्ने हो । उनको मुद्दाको संवेदनशीलता हेर्दा ‘फास्ट ट्रयाक’बाट न्यायिक प्रक्रिया अगाडि बढ्नुपर्ने हो, तर त्यस्तो हुन सकेको छैन ।
बलात्कारलगायत सबै मुद्दामा कानूनको कार्यान्वयन गराउनमा नेपाल प्रहरी र सरकारी वकिलको सबैभन्दा ठूलो भूमिका हुन्छ । उनीहरूले कसरी मुद्दा अगाडि बढाउँछन् पीडितले पाउने न्याय त्यसमा भर पर्छ । प्रहरीले एफआइआर (पहिलो जानकारी रिपोर्ट) नै दर्ता नगर्ने अनौठो चलन हामीकहाँ छ । कसैले जसलाई किटानी जहेरी दिए पनि दर्ता गर्नुपर्छ । को सही, को गलत भन्ने छानविन गर्दा थाहा हुने कुरा हो, थाहा भइहाल्छ । तर, कतिपय मुद्दामा फलानाको नाम हटाएर ल्याउ अनि मात्रै दर्ता हुन्छ भनेर किटानी जाहेरी नै दर्ता गरिँदैन । त्यसपछिका प्रक्रियाहरूमा पनि संवेदनशीलता अपनाएको पाइँदैन ।
धनकुटाकी महिलामाथि भएको घटनामा मुद्दा अगाडि बढाउन २४ दिन म्याद छँदैछ भनेर पर्खिनै नपर्ने हो । उनको मुद्दाको संवेदनशीलता हेर्दा ‘फास्ट ट्रयाक’बाट न्यायिक प्रक्रिया अगाडि बढ्नुपर्ने हो, तर त्यस्तो हुन सकेको छैन । हाम्रो कानूनले गरेको परिभाषाअनुरूप उनी अपराधी नभई पीडित हुन् । उनले पाउने न्यायले महिलालाई कुनै पनि बेला जे पनि गर्न सकिन्छ भन्ने मानसिकता बोकेका मानिसलाई झस्काउनेछ । बलात्कारमा पर्ने सबै महिलाले अपराधीलाई मार्न सक्ने अवस्था हुँदैन । हत्या गर्न नसक्नेहरूले आत्महत्या गर्नुपर्ने अवस्था पनि विद्यमान छ । समाजमा बलात्कारले डरलाग्दो रूप लिइरहेका बेला फास्ट ट्रयाकबाट थप सजायसहितको कानून ल्याउन जति जरुरी छ, भइरहेको कानूनको तीव्र कार्यान्वयन पनि त्यत्तिकै आवश्यक छ ।
प्रतिक्रिया