सन्दर्भ हिन्दु राष्ट्रको
प्रश्न गर्न निरुत्साहित गर्ने र उत्तर दिनभन्दा अन्धविश्वासी बन्न सिकाउने धर्मले ‘धार्मिक माओवाद’ मात्रै जन्माउँछ !
■ केशवप्रसाद भट्टराई
१. सनातन हिन्दुहरूका जन्मदेखि मृत्युसम्मका र बिहान उठेदेखि सुत्न ओछ्यानमा जाँदासम्मका, भोजनदेखि दिसा–पिसाब गर्नेसम्मका नियम छन् ।
निःसन्देह ती विज्ञानसम्मत छन् ।
गहिरिएर विचार गर्दा ती आयु, आरोग्य, सुख, सम्पत्ति, यश, कीर्ति र सफलतासँग सम्बन्धित छन् ।
फलदायी छन् ।
व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्व–समुदाय हितलक्षित छन् ।
२. वेद, पुराण, उपनिषद लगायतका प्राचीन हिन्दु साहित्यबारे खासै नजान्ने म जस्तो अज्ञानी मानिसले पनि तिनमा व्यक्ति र परिवार कल्याणदेखि राजनीति, समाज व्यवस्था, शिक्षा, स्वास्थ्य, वातावरण सुद्धि र संरक्षण, दण्ड प्रशासन, कृषि, उद्योग, व्यापार, कर प्रणालीलगायतका यावत कुरा समेटिएको देख्दछ, पाउँछ !
३. वास्तवमा हिन्दु धर्म भनेको सामान्य अर्थमा धर्म नै होइन !
हिन्दु समाजमा धर्मलाई व्यवस्था, कानुन, समाजका सबैको दायित्व व्यवस्थापन र प्रकृतिको अर्थमा बुझिन्छ ।
ईश्वर माने पनि हिन्दु ईश्वर नमाने पनि हिन्दु !
ईश्वर मान–नमान तिम्रो खुशी,
एक ईश्वर मान्ने पनि हिन्दु, बहु ईश्वर माने पनि हिन्दु !
आफ्नो कर्म गर , कर्तव्य पालन गर, ईश्वरको जतिसुकै विरोध गर फरक पर्दैन,
सर्वशक्तिमान शिव, विष्णु, दुर्गाको जति विरोध गरे पनि ती तिम्रै भक्त बन्दछन्,
तिम्रो सफलताको लागि सहयोगी बन्न आउँछन् ।
कर्म अर्थात् आफ्नो काम नै ईश्वर, आफ्नो कर्तव्य नै ईश्वर !
४. तर यति उदार, यति वृहत र फराकिलो धर्मलाई कर्मकाण्ड मात्रै बुझियो ।
अनि कर्मकाण्डी ब्राह्मणलाई, धर्मको आचरण नगर्ने र धर्मको व्यापार गर्ने केही मठाधीशहरूलाई मात्रै हिन्दु धर्मका ठेकेदार मानियो ।
व्याख्याता र प्रमाण मान्ने गरियो !
कर्महीन, पुरुषार्थहीन, आचरणहीन तर सहज सम्मानित जीवन यापनका लागि नेपालका राजनीतिक नेताले दल चलाए जसरी मठ सञ्चालन गर्ने मठाधीशहरूलाई हिन्दु धर्मको ठेकेदार मानियो ।
५. प्राचीन हिन्दु, बौद्ध धर्म, संस्कृति र सभ्यताअन्तर्गतका भाषा, ज्ञान, विज्ञान, दर्शन, साहित्य, कला र संस्कृतिको अध्ययन, विकाश, प्रवर्द्धन र विस्तार गर्ने उद्देश्यले खोलिएका स्कूल, कलेज र विश्वविद्यालयहरू जय नेपाल र लाल सलामका स्तोत्र पाठ र पारायण स्थल भन्दा माथि उठ्न सकेनन ।
६. देश-विदेश देखेका/बुझेका, विदेशका प्रतिष्ठित विश्व विद्यालयहरूमा अध्ययन गरेका, हरेक कुरालाई तथ्य र प्रमाणको कसीमा घोटेर, प्रायोगिक र आनुभाविक परीक्षण गरेर सत्य ठहरिएका कुरालाई मात्रै स्वीकार गर्ने आधुनिक युवा युवतीहरूलाई काल्पनिक चमत्कार र तिलस्मको कथा–पुराण सुनाएर, रहस्यको पोको देखाएर, विश्वास गर भन्ने अनि अन्ध विश्वासी बनाउने परम्पराबाट हिन्दुत्व माथि उठ्दैन ।
हिन्दु धर्म र संस्कृतिको विकास र विस्तार गर्न सकिन्न !
७. वेद, पुराण र उपनिषदमा दृष्टि लगाउँ त हिन्दु धर्मले त प्रश्न माथि प्रश्न गर्न सिकाउँछ र उत्तर दिनुलाई प्रथम कर्तव्य पो बुझाउँछ ।
त्यसैले युवा पुस्ताका हरेक प्रश्नको उत्तर चित्तबुझ्दो तरिकाले दिने सँस्था, संरचना निर्माण गरिनु पर्दछ ।
हिन्दु धर्म र संस्कृतिका विद्वान र पण्डितहरूलाई एउटा दुइटा केन्द्रमा जोडेर उनीहरूका ज्ञान र अनुभवहरूलाई समाजलाई उपलब्ध गराइनु पर्दछ ।
कम्तीमा एउटा वेवसाइट तत्काल खोलेर कसैका पनि धर्म र संस्कृति तथा धार्मिक आचार–विचारसम्बन्धी जिज्ञासाहरू शान्त गराउन शुरू गरिहाल्नु पर्दछ ।
८. वास्तवमा प्रश्न नै विज्ञान हो र उत्तर ज्ञान–विज्ञान दुवै हो ।
प्रश्न गर्न निरुत्साहित गर्ने र उत्तर दिनभन्दा अन्धविश्वासी बन्न सिकाउने धर्मले धार्मिक माओवाद मात्रै जन्माउँछ ।
त्यसैले प्रश्नलाई प्रोत्साहन गर्ने,
प्रश्नकर्तालाई चित्त बुझाउने संरचनाबेगरको हिन्दुराष्ट्र अभियानले हिन्दुराष्ट्र दिए पनि जोगाउन सक्दैन ।
अनि धार्मिक कट्टरता मात्रै आउने हो मुलुकमा !
९. हो हिन्दु राष्ट्रको अजेन्डाको राजनीतिक र रणनीतिक पक्ष पनि छ ।
यसमा नेपालको एकता, अखण्डता सुरक्षा र समृद्धिको पक्ष पनि जोडिएको छ ।
तर यो राजनीतिक र रणनीतिक पक्षको रक्षण र पोषणका लागि पनि यसको सुष्पष्ट धार्मिक र सांस्कृतिक पक्ष देखिनु पर्दछ, उभिनु र उजिलिनु पर्दछ ।
१०. हिन्दु धर्म, परम्परा र संस्कृतिबारे आमनेपाली नागरिक र खास गरेर युवाहरूका प्रश्न र जिज्ञासा शान्त पारिदिन सक्ने सँस्था र संरचनाको अभावमा मुलुक हिन्दुराष्ट्र घोषित गरिए पनि त्यो नाउँ मात्रको हिन्दुराष्ट्र हुने छ ।
त्यसले धार्मिक, सांस्कृतिक, राजनीतिक र रणनीतिक कुनै उद्देश्य प्राप्त गर्न सक्दैन ।
भविष्यमा कुन आस्थाको बलमा कसले बोक्ने हाम्रो हिन्दु राष्ट्रलाई ?
अनि निष्ठाहीन राजनीतिक आस्था, असभ्य र अशोभनीय सत्तास्वार्थले थिलथिलो पारेको मुलुकलाई त्यस्तै निष्ठाहीन धार्मिक आचार, विचार, अभ्यासको भरमा र
सवल तथा सम्मानित राष्ट्रिय सँस्थाहरूको दर्विलो संरक्षकत्व विहीन हिन्दु राष्ट्रले मुलुकलाई कहाँ पुऱ्याउला ?
प्रतिक्रिया