भारतीय सेनाप्रमुखद्वारा फिल्ड अस्पतालका लागि उपकरण तथा भेन्टिलेटर उपहार प्रदान

भारतीय सेनाप्रमुखद्वारा फिल्ड अस्पतालका लागि उपकरण तथा भेन्टिलेटर उपहार प्रदान



नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुग्नुभएका भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आज बिहान आयोजित एक विशेष समारोहमा टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा (शहीद स्मारक) माल्यार्पण गरी मृत शहीदहरूप्रति श्रद्घान्जली अर्पण गर्नुभयो । त्यसपछि प्रधानसेनापतिसँग भेटवार्ताका लागि उहाँ जंगी अड्डा पुग्नुभएको थियो ।

जंगी अड्डामा नेपाली सेनाको एक टुकुडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । त्यसलगत्तै जनरल नरवणेले नेपाली समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नुभयो । सो भेटमा दुवै पक्षबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भएको बताइएको छ । नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेना प्रमुख नरवणेसमक्ष ब्रिफिङसमेत गरेका थिए ।

जनरल नरवणेले भारत सरकारको तर्फबाट नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स-रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुभयो । कोभिड–१९ महामारीविरुद्धको लडाइमा अझ सघाउ पुऱ्याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरुप प्रदान गरिएको छ ।

ज्ञातव्य छ, यसअघि गत जुलाईमा भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको थियो ।