वीर अस्पतालका कर्मचारीले दिए कडा आन्दोलनको चेतावनी

वीर अस्पतालका कर्मचारीले दिए कडा आन्दोलनको चेतावनी



कोरोनाको उपचारमा खटिएवाापतको भत्तालगायत सुविधा नदिएको, समयमा तलब नदिएको, २४सै घण्टा काममा खटिन बाध्य पारिएको भन्दै यही कात्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका वीर अस्पतालका कर्मचारीहरूले आज पनि आन्दोलन जारी राखेका छन् ।

मागको उचित सम्बोधन गर्नुको साटो राजीनामा दिन धम्क्याइएको भन्दै स्वास्थ्यकर्मीहरूले आज पनि व्यापक नाराबाजीसहित धर्ना दिएका छन् । कालो पट्टि, प्ले कार्ड, कालो ब्यानरसहित धर्ना दिएका कर्मचारीहरूले पदाधिकारविरुद्ध वीर अस्पतालमा पोस्टरसमेत टाँसेका छन् ।

यसअघि माग पूरा गर्न अस्पताल पदाधिकारीलाई शुक्रबार (२१ कात्तिक)सम्मको अल्टिमेटम दिएका दिइएकोमा अझै पनि मागको बेवास्ता भएमा आगामी आइतबारबाट कडा आन्दोलन कार्यक्रम गरिने नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले जानकारी दिए ।

आफूहरूले अहिलेसम्म शान्तिपूर्ण रूपमा अस्पतालमा धर्ना दिएर आन्दोलन गरिरहेका पनि अस्पतालका पदाधिकारीले कुनै पनि सुनुवाइ नगरेको भन्दै अध्यक्ष आचार्यले माग पूरा नगरे कडा रूपमा प्रस्तुत हुनुको विकल्प नभएको बताए ।

गत चैतदेखि हालसम्म कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका भरपर्दो सामग्री नदिएको भन्दै आन्दोलित बनेका वीर अस्पतालका दुई सयभन्दा बढी कर्मचारीहरूले न्याम्सका उपकुलपति, अस्पतालका डिन, निर्देशक, रजिष्ट्रार र रेक्टरको राजीनामासमेत मागेका छन् ।