होम आइसोलेशनमा रहेका मन्त्री शाहलाई काठमाडौं ल्याउने तयारी
कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको बिहान मृत्यु भएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिइन् ।
बिरामी भएपछि कात्तिक यही कात्तिक १७ गते नमूना जाँच गराउँदा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
यसैबीच कोरोनाको सङ्क्रमण भई धनगढीमा उपचाररत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं ल्याइने तयारी भइरहेको छ ।

उनका स्वकीय सचिव जङ्गबहादुर विकले दिएको जानकारीअनुसार मन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहे पनि सुधार आउन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । धनगढीमा होम आइसोलेशनमा रहेका मन्त्री शाहलाई नाकबाट रगत बगेपछि बुधबार सेती प्रादेशिक अस्पतालमा उपचार व्यवस्थापन गरिएको थियो ।
मन्त्री शाहसहित उनकी श्रीमती र गाडीचालकमा यही कात्तिक १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा. गुणराज अवस्थी चिसो मौसममा कोरोना सङ्क्रमण दर गर्मी मौसमको भन्दा बढ्न सक्ने जोखिम रहेको बताए ।
प्रतिक्रिया