भारतीय स्थल सेनाध्यक्षको भ्रमण सम्बन्ध सुधारमा फलदायी भएको नेपाली सेनाको विश्वास

भारतीय स्थल सेनाध्यक्षको भ्रमण सम्बन्ध सुधारमा फलदायी भएको नेपाली सेनाको विश्वास



भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले बिदाइ गर्नुभयो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न बुधबार उहाँ काठमाडौं आउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार नै आयोजित विशेष समारोहमा सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभयो ।

भारतीय सेनाध्यक्षले दुई वटा घुम्ती अस्पताल सञ्चालन गर्न आवश्यक चार एम्बुलेन्स, चार भेन्टिेलरसहितका स्वास्थ्य सामग्री एवं उपकरण नेपाली सेनालाई बिहीबार हस्तान्तरण गर्नुभएको थियो । उहाँले बुधबार वसन्तपुर क्षेत्र र पशुपतिनाथको पनि दर्शन गर्नुभएको थियो ।

नेपाल र भारतीय सेनाबीच एकार्का देशका सेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुनुहुन्छ ।

सम्बन्ध सुदृढ गर्न भ्रमण फलदायी

समकक्षी थापा र सेनाध्यक्ष नरवणेबीच आपसी सुरक्षा चासोका विषयमा भएको खुला छलफलमा दुवै सेनाबीच उच्चस्तरीय भ्रमण र तालीमलगायत अन्य सहयोगका क्षेत्र थप विस्तार गर्दै जाने विषयमा गहन विचारविमर्श भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँले आजै शिष्टाचार भेट गर्नुभएको थियो । यसअघि सेनाध्यक्ष नरवणेले आजै शिवपुरीस्थित सैनिक कमाण्ड कलेजमा शिक्षार्थीसँग आफ्नो सैनिक जीवनको अनुभव सुनाउँदै अन्तरक्रिया गर्नाका साथै हवाइजहाजबाट हिमालय क्षेत्रको दृश्यावलोकन गर्नुभएको थियो ।

नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत सम्बन्ध सुदृढ गर्न यो भ्रमण फलदायी भएको दुवै सेनापतिले विश्वास व्यक्त गर्नुभएको छ ।

तस्बिर : नेपाली सेना