कोभिड-१९ महामारीविरुद्धको लडाइँमा मित्रराष्ट्र भारतले नेपाल सरकारलाई थप सहयोग गरेको छ । सहयोगको क्रममा भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आइतबार २८ वटा आइसीयु भेन्टिलेटर उपहारस्वरुप प्रदान गर्नुभयो ।
यसअघि गत वैशाख १० गते पनि भारतले नेपाललाई प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड-१९ परीक्षण कीट (आरटी-पिसिआर), श्रावण २५ गते आइसीयु भेन्टिलेटर र भाद्र ३० गते रेमडेसिभिर औषधी प्रदान गरेको थियो ।
उपहार सामग्री हस्तान्तरण समारोहमा बोल्दै राजदूत क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाइँमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको दोहोऱ्याउनुभयो । यस किसिमका आवश्यक सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।


प्रतिक्रिया