के अर्को झट्का ब्यहोर्दै छन् राष्ट्रपति ट्रम्प ?

के अर्को झट्का ब्यहोर्दै छन् राष्ट्रपति ट्रम्प ?



‘चुनाव हारेर राष्ट्रपति भवनबाट बाहिरनेवित्तिकै ट्रम्पलाई डिभोर्स दिँदैछिन् मेलानिया ?’

अमेरिकी राष्ट्रपतिको चुनावमा जो बाइडेनले डोनाल्ड ट्रम्पलाई मात खुवाएको सन्दर्भ यतिबेला विश्वभर चर्चामा छ । त्यसो त विजयी बनेकोमा बाइडनलाई बधाई दिनुको साटो ट्रम्पले हार नै स्वीकार गरिरहेका छैनन् । बाइडेनले आफ्नो जितको घोषणा गरेको पाँच घण्टापछि ट्वीट गर्दै ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै आफूलाई ७ करोड १० लाख वैध भोट हासिल भएको दाबी गरेका छन् । तर, यसरी दम्भ प्रदर्शन गरिरहेकै बेला डेली मेलले एक सनसनीपूर्ण समाचार प्रकाशमा ल्याएको छ । मेलानिया ट्रम्पकी एक पूर्व–सहयोगीलाई उद्धृत गर्दै सो पत्रिकाले जनाएअनुसार चुनाव हारेलगत्तै पत्नी मेलानियाले डोनाल्ड ट्रम्पसँग पारपाचुके गर्दै छिन् ।

डेली मेलको रिपोर्टअनुसार मेलानियाकी पूर्वसहयोगी स्टेफनी वोल्कोफले दाबी गरेकी छन् कि ट्रम्पसँग बिहेपछि ‘सम्झौता’मा मात्र मेलानियाले उनसँग कुराकानी गर्नेगरेकी हुन् । मेलानियाले छोरो ब्यारेनलाई ट्रम्पको सम्पत्तिको पूरै आधा हिस्सा प्राप्त हुनुपर्ने माग गरेकी छन् । ह्वाइट हाउसमा ट्रम्प र मेलानियाको बेडरुम पनि अलग-अलग रहेको वोल्कोफको दाबी छ । अर्थात्, उनीहरू श्रीमान-श्रीमतीको रूपमा नभई एक चिनजानका मित्रको रूपमा मात्र राष्ट्रपति निवासमा रहँदै आएका छन् । उनले ट्रम्प र मेलानियाको विवाहलाई ‘लेनदेन’मा आधारित सम्बन्ध भनेकी छन् ।

ट्रम्पका एक पूर्व राजनीतिक सहयोगी ओमारोसा मेनीगल्ट न्युमैनले पनि ट्रम्प र मेलानियाको १५ वर्षे वैवाहिक सम्बन्ध अब समाप्त भएको अभिव्यक्ति दिएकी छन् । मेलानियाले ट्रम्पसँग अलग्गिनको लागि मिनेट-मिनेट गन्ती गरेर बसेको उनको दाबी छ । ओमारोसाले मेलानिया डोनाल्ड ट्रम्पसँग बदला लिने भावमा रहेकी र ट्रम्प ह्वाइट हाउसबाट बाहिरिनेवित्तिकै डिभोर्स दिने तयारीमा रहेकी दाबी गरेकी छन् ।

ज्ञातव्य छ, कुनैबेला एक अन्तर्वार्तामा मेलानियाले ट्रम्पसँग आफ्नो ‘महान् सम्बन्ध’ रहेको र कुनै विषयमा पनि ट्रम्पले आफूसँग बहस गर्ने नगरेको अभिव्यक्ति दिएकी थिइन् । डेली मेलले उजागर गरेअनुसार मेलानिया डोनाल्ड ट्रम्पमाथि यतिसम्म हाबी भएकी थिइन् कि ट्रम्पले आफ्नी दोस्री श्रीमती मार्ला मेपल्ससँग वैवाहिक सम्बन्ध तोडेको बेला मार्लाले कुनै मिडियामा अन्तर्वार्ता दिन नपाउने र भविष्यमा आत्मकथामा आधारित कुनै पुस्तक प्रकाशित गर्न नपाउने सम्झौता गराउनसमेत उनले ट्रम्पलाई बाध्य पारेकी थिइन् ।

ट्रम्प र मेलानियाको प्रेम सम्बन्ध २२ वर्षअघि सन् १९९८ मा शुरु भएको थियो । त्यसबेला ट्रम्प ५२ वर्षका थिए भने मेलानिया २८ वर्षकी । त्यसबेला न्युयोर्कमा फेसन वीक चलिरहेको थियो । उक्त ‘फेसन शो’को समाप्तिपछि टाइम्स स्क्वायरको किटक्याट क्लबमा आयोजित पार्टीमा सामेल हुँदा यी दुईबीच चिनजान र कुराकानीको सिलसिला आरम्भ भएको थियो । त्यसपछि सन् २००४ मा ट्रम्पले मेलानियालाई डेढ मिलियन डलर मूल्यको डायमण्डको औंठी पहिराएर विवाहको प्रपोज गरेका थिए । उक्त प्रस्ताव मेलानियाले स्वीकार गरिन् र २२ जनवरी २००५ मा उनीहरूबीच विवाह भएको थियो ।