नेकपा नफुट्ने, झनै स्पातिलो बन्ने मन्त्री योगेशको दाबी

नेकपा नफुट्ने, झनै स्पातिलो बन्ने मन्त्री योगेशको दाबी



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने दाबी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले हाल सञ्चारमाध्यममा आएजस्तो अवस्था पार्टीभित्र नरहेको र शीर्ष नेतृत्वबीच केही मतभेद मात्र भएको बताएका हुन् ।

गृहजिल्ला ताप्लेजुङको विभिन्न स्थानीय तहको भ्रमणमा रहेका मन्त्री भट्टराईले आज मिक्वाखोला गाउँपालिकामा स्थानीय पार्टीका कार्यकर्ता तथा समर्थकसँग भेटघाट गर्दै शीर्ष नेतृत्वबीच केही मतभेद र टकराव रहे पनि दुवै अध्यक्ष पार्टी एकताकै पक्षमा रहे जिकिर गरे । पार्टी अध्यक्षद्वयसहित नेपालको प्रधानमन्त्री बनिसकेका चार जना नेता नेकपामा रहकाले उहाँहरु नेकपालाई कसरी शक्तिशाली र बलियो बनाउन सकिन्छ भन्ने चिन्तनमा रहेको भट्टराईको कथन थियो ।

पार्टी कार्यकर्ता तथा समर्थकले राखेका जिज्ञासाको जवाफमा उनले देशकै ठूलो र धेरै नेता भएको पार्टीमा कुनै बेला सामान्य अन्तर्विरोध र मतभेद आउनु स्वाभाविक भएको तर्क गरे । पार्टी एकतालाई थप मजबुत बनाउन शीर्षसहित पार्टीका दोस्रो, तेस्रो र चौथो तहका नेतृत्वसमेत प्रयत्नरत रहेकाले कसैले पनि विचलित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । पार्टी एकताकै विषयलाई लिएर अन्तर्संङ्घर्षहरु चलिरहेकाले यसबाट पार्टी अझ एक ढिक्का र स्पातिलो बनेर जाने भन्दै कार्यकर्ताहरुलाई उनले सान्त्वना दिने प्रयत्न गरे ।