चार महिनामा चौध गैँडा गुमाएपछि नयाँ रणनीति अपनाउँदै निकुञ्ज

चार महिनामा चौध गैँडा गुमाएपछि नयाँ रणनीति अपनाउँदै निकुञ्ज



तस्करले गैँडा मार्न क्रममा पुनः तीव्रता

चितवन राष्ट्रिय निकुञ्जमा चार वर्षपछि पुनः तस्करले गैँडा मार्न थालेपछि निकुञ्ज नयाँ रणनीतिका साथ संरक्षणमा जुटेको छ । गत साउनयता मात्र चोरी शिकारीबाट चार गैँडा मारिएका छन् ।

यसै अवधिमा प्राकृतिक कारण १० वटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउन थालिएको हो ।

निकुञ्जले चोरी शिकार नियन्त्रणका लागि तिहारअघि नै तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर निकुञ्ज विभाग हुँदै वन तथा वातावरण मन्त्रालयमा पठाउँदै छ । वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीको निर्देशनमा तत्काल योजना निर्माण गर्न लागिएको हो । योजना बनेपछि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गरिने ओलीले आश्वासन दिएका छन् । बरालले भने, ‘हामी योजना वनाएर संरक्षणमा जुटेका छौँ ।’

बीचको समयमा चोरी शिकार बन्द भएसँगै कतिपय संरचना भत्किएकाले पुनः पूर्ववत अवस्थामा फर्काएर चोरी शिकार नियन्त्रणमा निकुञ्ज जुटेको छ । बरालले निकुञ्ज भित्र कडाइसाथ गस्ती, बाहिर सुराक सञ्जालको व्यापक प्रयोग र नेपाल प्रहरीको अपराध अनुसन्धान व्यूरोसँग सहकार्य गरेर प्रविधिको प्रयोग गरी चोरी शिकारी नियन्त्रण अभियान गरिन लागेको जानकारी दिए ।

निकुञ्जका सम्वेदनशील क्षेत्रमा स्विप अप्रेसन शुरु गरिएको छ भने पुरै निकुञ्जलाई आफ्नो नियन्त्रणमा रहने गरी गस्ती गरिएको छ । पैदल, डुङ्गा, साइकल, मोटरसाइकल, गाडी, हात्तीबाट निगरानी गरिदैँ आइएको छ । हाल निकुञ्जमा ४६ वटा पोष्ट रहेका छन् । सङ्कटकालको समयमा तस्करी बढेका बेला पोष्टको सङ्ख्या ५२ पुर्‍याइएको थियो । निकुञ्जले पोष्ट थप गर्ने योजना बनाएको छ । बरालले मध्यवर्तीका वासिन्दाहरुसँग सहकार्य गरी सुराक सञ्जाललाई चुस्त बनाउन लागिएको जानकारी दिए ।

वि.सं. २०७३ को चैतमा कसरानजिकै सामुदायिक वनमा तस्करले गैँडा मारेयता प्राकृतिक कारणले मात्र मरेका थिए । गत वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए । यस वर्ष तस्करका कारण मरेका चार गैँडा फेला परेसँगै मन्त्रालयको समेत ध्यानाकर्षण भएको हो ।

सन् २०१५ को गणना अनुसार नेपालमा ६ सय ४५ गैँडा रहेका छन् । यस मध्ये गैँडाको मुख्य वासस्थान चितवनमा मात्रै ६ सय ५ गैँडा भेटिएका थिए । निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८/०५९ मा मरेका हुन् । यो वर्ष मरेका ४८ गैँडा मध्ये ३७ वटा चोरी शिकारीले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । यस आर्थिक वर्षमा निकुञ्जमा गैँडा गणना गरिँदै छ । गत वर्ष गणना गर्ने अन्तिम तयारीमा कोरोना सङ्क्रमण बढेपछि रोकिएको थियो ।