‘सिड’मा वन्दना राणा पुन: निर्वाचित

‘सिड’मा वन्दना राणा पुन: निर्वाचित



संयुक्त राष्ट्रसंघीय परिषद्‍मा मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति (सिड)को कार्यसमिति सदस्य वन्दना राणा सो समितिको नयाँ कार्यकाल (२०२१–२०२४)का लागि पुनः निर्वाचित हुनुभएको छ । ११ सदस्यीय कार्यसमितिमा नेपालको प्रतिनिधित्व गर्दै राणा १ सय ३७ मत हासिल गरी निर्वाचित हुनुभएको हो ।

नेपालका अलावा घाना, अस्ट्रेलिया, चीन, फ्रान्स, फिलिपिन्स, बहमास, लिथुआनिया, लेबनान, मेक्सिको र नेदरल्याण्ड सो समितिमा निर्वाचित भएका छन् ।

महिला हक/अधिकार प्रवर्द्धनमा नेपालले गरेको योगदानको पहिचानका रुपमा राणाको जितलाई लिन सकिने सम्बद्ध जानिफकारहरुले प्रतिक्रिया दिएका छन् भने वन्दना स्वयमले पनि आफू समितिमा निर्वाचित भएपछि ‘नेपालले अन्तराष्ट्रिय मञ्चमा उठाएको महिला हक/अधिकार संरक्षण-संवर्द्धनको आवाजलाई अन्तर्राष्ट्रिय समुदायले अनुमोदन गरेको’ बताउनुभएको छ ।

ज्ञातव्य छ, सिडको समितिले हरेक ४ वर्षमा मुलुकको महिला हक/अधिकार स्थितिबारेमा रिपोर्टिङ गर्छ भने नेपालका तर्फबाट निर्वाचित भए पनि राणाले राष्ट्रसंघीय समितिमा स्वतन्त्र विज्ञका रुपमा काम गर्नुपर्ने हुन्छ ।